Edukhabar
विहीबार, २० बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको अडान : नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न ताकेता

सोमबार, ०३ कार्तिक २०७७

काठमाडौं - कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले ताकेता गर्दै सोही अनुसार पठनपाठन भए नभएको यकिन गरेर मात्रै विद्यार्थी भर्ना गर्न अभिभावकलाई आग्रह गरेको छ । गत बर्ष नै पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्बाट कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको निर्णय उल्ट्याउन निजी विद्यालय सञ्चालकहरुले लविङ् गर्दै आएका थिए । सोमबार मन्त्रालयले आफ्नो पूर्व  निर्णयमा अडिग रहेको शन्देश दिदैं सोही अनुसार गर्न विद्यालयहरुलाई सूचना जारी गरेको छ ।  

निजी विद्यालय सञ्चालकहरुले मन्त्रीमण्डल परिवर्तन भएमा आफ्नो लविङ् पुरा हुने आँकलन गर्दै पर्ख र हेरको रणनीति अपनाउँदै आएका थिए । कतिपयले भने पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भन्दै भर्ना लिईरहेका थिए । तर, प्रधानमन्त्री केपी ओलीले खाली भएका मन्त्रालयमा मात्रै मन्त्री चयन गरी पोखरेललाई नै निरन्तरता दिए पछि मन्त्री पोखरेलले आफ्नो निर्णय प्रति अडान दर्शाउन सूचना जारी गर्न लगाएका मन्त्रालय श्रोतले जनाएको छ । 

'निजी वालाहरुले मन्त्री फेरिए भने पुरानै अनुसार गर्न सकिने आँकलन गरेर अटेरी गर्दै आएका थिए, तर मन्त्री परिवर्तन नभए पछि उनीहरुलाई शन्देश दिन पनि यो सूचना जारी गरिएको हो' मन्त्रालय श्रोतले भन्यो, 'आफ्नो निर्णयमा पछि हट्ने भन्ने त कुरै थिएन, तर पनि मन्त्रीमण्डल के हुन्छ भन्ने विषयले अलिकति अलमल बनाएको थियो ।'

शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ जारी गरे पनि कक्षा ११ र १२ सञ्चालन गर्दै आएका निजी विद्यालय सञ्चालकहरुले नयाँ पाठ्यक्रम लागू नगर्ने लविङ् गर्दै आएका थिए । मन्त्रालयले नयाँ पाठ्यक्रम लागू भएको जनाउने तर विद्यालय सञ्चालकहरुले नगर्ने भन्दा विद्यार्थी अभिभावक अभिभावक अन्योलमा पर्दै आएका थिए । 

नयाँ लागू गरिएको विषय पठाउन शिक्षक नभएको, पाठ्यपुस्तक नभएको जस्ता वहाना बनाउँदै विद्यालय सञ्चालकहरुले पुरानै पाठ्यक्रम पढाउने लविङ् गर्दै आएका थिए । तर, नयाँ पाठ्यक्रम लागू भए नभएको अनुगमन र निर्देशनका लागि मन्त्रालयले स्थानीय सरकारलाई अनुरोध गर्दै सोही अनुसार पठन पाठन गराउन विद्यालयहरुलाई जानकारी समेत गराएको छ । 

गत बर्ष नै नयाँ पाठ्यक्रम स्विकृत गरेर लागू गरिसकिएको स्मरण गराउँदै मन्त्रालयले केही विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गरेको जनगुनासो अएकोले यस अघि नै पाठ्यक्रम विकास केन्द्रबाट जारी भएको पाठ्यक्रमका आधारमै पठनपाठन गराउन भनेको हो । 

'केही विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनी विद्यार्थी भर्ना गराइरहेको भन्ने जनगुनासो आएकोले कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरुले कक्षा ११ को स्विकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोही अनुसार विद्यार्थीको मूल्याँकन गर्ने व्यवस्था हुन समेत सम्बन्धित विद्यालयहरुलाई जानकारी गराईन्छ' उक्त सूचनामा भनिएको छ, 'आगामी शैक्षिक बर्ष देखि कक्षा १२ मा नयाँ पाठ्यक्रम अनुसार नै पठनपाठन तथा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन हुने भएकोले सबै विद्यार्थी तथा अभिभावकलाई नयाँ पाठ्यक्रम अनुसार पठन पाठन भए नभएको यकिन जानकारी लिएर मात्र विद्यालयमा भर्ना गर्न गराउन समेत सूचित गरिन्छ ।'

प्रतिक्रिया