शिक्षा अनुत्पादक र क्षेत्र साँघुरिदै गएको तर्फ इङ्गित


काठमाडौं - दशैँका कारण गत साताका चार दिन दैनिक पत्रिकाहरू प्रकाशित भएनन् । त्यसैले अघिल्ला साताहरूको तुलनामा शिक्षाका विषयबस्तु थोरै प्रकाशन भए । तर अनलाईनहरुमा देश विदेशका केही विषयहरु भने प्रकाशन भएका छन् ।

दक्षिण एशियाको पश्चिमी भागमा शिक्षासँग सम्बन्धित एक दुखद खबर प्रकाशित भयो । अनलाईन सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानको उत्तर पश्चिम पेसावर शहरमा भएको एक बम विष्फोटमा सात जना बालबालिकाको मृत्यु र अन्य १ सय १२ जना घाइते भएको तथा अफगानिस्तानको काबुलमा एक शैक्षिक केन्द्रमा किशोर उमेरका विद्यार्थी सहित २४ जनाको मृत्यु र दर्जनौ घाइते भएका विषय प्रकाशन भए । यी अन्तर्राष्ट्रिय समाचार प्रकाशन हुँदा घटनामा विद्यार्थी पनि परेका भन्ने बाहेक शिक्षाको दृष्टिकोणबाट नभई अन्य हिंसाको रुपमा प्रकाशित भयो । 

त्यसो त अन्य समयमा पनि नेपाली सञ्चार माध्यममा शैक्षिक विषयहरु कमै प्रकाशित हुने गर्छन् । यसले शिक्षा अनुत्पादक भएको  र यसको क्षेत्र साँघुरिदै गएको तर्फ इङ्गित गर्छ । नेपाली सञ्चार माध्यमहरुले भारतको नयाँ शिक्षा नीति सम्बन्धी विषयलाई पनि ज्यादै कम मात्र ध्यान दिन सके । त्रिभुवन विश्वविद्यालयमा पूर्व उपकूलपति तथा कुटनितिज्ञ केदारभक्त माथेमाले विश्लेषणकर्तासँग यदि छिमेकीले घरमा रङरोगन गरे भने हामीले पनि बुझ्नुपर्छ कि दशैँ नजिकै आइरहेको छ । (हुन त त्यो काम यत्तिकै पनि भएको हुन सक्छ ।) भनेका छन् । 

देशैभरी चाडपर्व मनाईरहँदा सिराहाको नरहा गाउँपालिकाका शिक्षक र कर्मचारीले विगत चार महिना देखि तलब नपाएको समाचार प्रकाशन भएको छ । गाउँपालिका प्रमुखका अनुसार आन्तरिक विवादका कारण २०७७।७८ को गाउँ परिषद् हुन नसकेकाले तलब निकासा हुन नसकेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर नौ देखि १६ गते सम्म गर्ने गरि परीक्षा तालिका सार्वजनिक गरेको छ । समाचार अनुसार परीक्षा केन्द्रमा स्वास्थ्य उपचार कक्षको व्यवस्थालाई अनिवार्य गर्दै विद्यार्थीका बीच दुई मिटर दुरी कायम गर्ने र एउटा कोठामा २० जना भन्दा बढी परीक्षार्थी नराख्ने गरी परीक्षा सञ्चालन हुने भएको छ ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा एकिकृत प्रणाली अनुसारको नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ । केही निजी विद्यालयहरुले पुरानै संकायगत ढाँचामा विद्यार्थी भर्ना गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिदैँ पालिकाहरुलाई यसको अनुगमन गर्न समेत आग्रह गरेको छ । 

केही निजी विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गर्न खोजे पछि विद्यार्थी र अभिभावकहरु द्विविधामा परेको भन्दै मन्त्रालयले निजी विद्यालयलाई सचेत गराएको छ । नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुने विषय यसअघि नै सूचित भइसकेको थियो । समाचारमा जनाईए अनुसार निजी विद्यालय सञ्चालकहरुको संस्था हिसानकै आग्रहमा केही निजी विद्यालयले वैकल्पिक विधिबाट पुरानै पाठ्यक्रम अनुसार पठनपाठन शुरु गरेका थिए । हिसानले विद्यार्थीमा अनावश्यक वोझ बढ्ने भन्दै नयाँ पाठ्यक्रम कार्यान्वयन हुन नदिनका लागि प्रयास गरिरहेको थियो ।

परीक्षाका सम्बन्धमा भएका अलमल र मिति तोक्न नसकिरहेको अवस्था तथा निजी विद्यालयहरुलाई अनुगमन र नियन्त्रण गर्न नसकिरहेको अवस्थामा लागू गर्न खोजिएको नयाँ पाठ्यक्रमले जनतामा सरकार प्रति थप अविश्वास बढाएको छ । सरकारले शिक्षा प्रणालीका आन्तरिक समस्याहरु समाधान गरी शिक्षाको विश्वव्यापी प्रवृत्तिलाई पछ्याउन नसक्दा नेपालको शिक्षा कमजोर हुदैँ गएको देखिन्छ । 

एक विचारमूलक आलेखमा भाषा माध्यम मात्र नभएर राष्ट्र निर्माणको सवाल पनि भएको उल्लेख गरिएको छ । आलेखमा अङ्ग्रेजी जान्नुले मात्र हाम्रो वौद्धिकता मापन गर्न सक्दैन भन्नेमा जोड दिइएको छ । 

एक सम्पादकीयमा उल्लेख भए अनुसार विद्यालय प्रणालीले संरक्षण गर्न असफल हुँदा नेपालका थुप्रै भाषाहरु लोप हुने अवस्थामा पुगेका छन् । विद्यालयमा शिक्षणको माध्यमका रुपमा नेपाली र अङ्ग्रेजी प्रयोग बढ्दै जाँदा घर परिवारमा समेत नेपाली मात्र बोल्ने प्रचलन बढेको छ । एउटै कक्षामा विभिन्न मातृभाषाका विद्यार्थीले पढ्ने हुँदा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा प्रदान गर्ने कार्य चुनौतीपूर्ण बनेको उल्लेख गरिएको छ । 
हाम्रो देशमा धेरै भाषा हुनुलाई शिक्षाको अवरोधको रुपमा बुझ्ने गलत धारणा रहेको छ । यो सँग शिक्षण सिकाइ र राजनीतिक दुवै आयामहरु रहेका छन् । उदाहरणको लागि अङ्ग्रेजीलाई ठूलो मान्ने र गैर अङ्ग्रेजी मातृभाषा कहिल्यै ठूलो नहुने रुपमा लिइन्छ । यसले सिंगो पुस्तालाई नै बिगार्दै गएको छ । नेपालीलाई शिक्षणको माध्यम बनाइएको विगतको समयमा अन्य भाषिक पृष्ठभूमी भएका विद्यार्थी असफल हुन्थे । यस्तै नेपाली मातृभाषा भएका विद्यार्थी पनि अङ्ग्रेजीमा असफल नै हुन्छन् । ऐतिहासिक रुपमै कुनै खास भाषा प्रभुत्वमा हुँदा उक्त भाषामा धेरै सूचना जानकारी भए पनि अन्य भाषा पनि उत्तिकै महत्वपूर्ण छन् । भाषाको विषय पहिचान, आत्मसम्मान र मानिसहरुको आत्मविश्वाससँग जोडिएको हुन्छ  । साथै यसको शैक्षणिक प्रतिफल समेत उच्च हुन्छ । प्रभुत्ववादी नेपाली सोच र प्रवृति तथा नेपाली भाषा बोल्नेहरुको गलत बुझाइ तथा शिक्षण सिकाइमा भाषाको भूमिका सम्बन्धमा योजनाकारमा भएको कमजोर बुझाईले गर्दा मातृभाषा शिक्षणमा संभव हुने र गर्न सकिने प्रयासहरु पनि भएका छैनन् । जब हामी भाषाको कारण पुर्खौली ज्ञान सिपहरु लिन नसकिने अवस्थामा पुग्छौ र मातृभाषा जान्ने र बोल्नेहरुले अन्य भाषाहरुको  मात्र प्रयोग गर्न थाल्नेछन् त्यति बेला मात्र हामीलाई यो गल्ती गरेको महशुस हुनेछ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो सम्बन्ध प्राप्त क्याम्पस बुटवलमा सञ्चालनमा आएको समाचारमा उल्लेख छ । विश्वविद्यालय रजिष्ट्रारका अनुसार यसमा शुरुको चरणमा मानविकी विषयहरुको पठनपाठन हुनेछ । यस्तै विश्वविद्यालय सभाले बौद्ध दर्शन बाहेक पनि मानविकीमा विद्यावारीधि उपाधि दिने निर्णय गरेको छ । यस पहिले बौद्ध दर्शनमा मात्र विद्यावारीधि प्रदान गरिन्थ्यो भनेर समाचारमा उल्लेख छ । 

मानव स्रोत आवश्यकता र माग अनुसार विभिन्न विषयको पठनपाठन हुन नसकिरहेको अवस्थामा विश्वविद्यालयहरुले सम्बन्धन दिने र त्यसैलाई आम्दानीको स्रोत बनाउने विषय नयाँ होइन । विश्वविद्यालयहरु चर्चा कमाउने र आम्दानी बढाउने डिग्री मात्र बाँड्ने विक्रिकर्ता जस्ता भएका छन् । 

सरकारले स्नातकोत्तर तहमा पाँच वटा कोटा स्वीकृत गरेसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वर्षको शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । रेक्टरका अनुसार विश्वविद्यालयकै मान्यता हुने गरी अर्को वर्षबाट एमबिबिएसको पठनपाठन गर्ने तयारी भएको छ । यस्तै समाचारमा उल्लेख भए अनुसार सामान्य तथा आपतकालीन चिकित्सामा ३ सिट, एनेस्थेसियामा १ सिट, अर्थोपेडिक ट्रमा सर्जरीमा १ सिटमा एमडि सहित नर्सिङ र क्लिनिकल पोषणमा स्नातक तहका कार्यक्रम सञ्चालन हुने भएका छन् ।  

समाचारमा जनाए अनुसार ग्लोबल इकम्पिटिसन अन एस्ट्रोनोमी र एस्ट्रोफिजिक्समा दुई नेपाली विद्यार्थीले अनरेवल मेन्सन अर्वाड जितेका छन् । यस्तै गैडाँको सिङ्ग विक्रिको प्रयास गर्दै गरेका कलेजका एक शिक्षक काठमाडौंमा पक्राउ परेका छन् । चाइना सरकारको अनुदानमा पुर्ननिर्माण भएको दरबार हाइस्कुल हस्तान्तरण तथा उद्घाट्न समारोहमा पत्रकारलाई प्रवेश रोक लगाएको समाचारमा उल्लेख छ । 

नेपालका लागि अष्ट्रेलियन राजदुतले अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई सफल बनाउन चाहन्छ तर त्यसका लागि विद्यार्थी आर्थिक रुपमा सक्षम हुन जरुरी छ भनेका छन् । 

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । ई कान्तिपुर, नयाँ पत्रिका, माई रिपव्लिका र सेतोपाटीमा कात्तिक देखि ११ गते सम्म  प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Education Being Narrow and Sterile