Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षक आयोग अध्यक्षमा ४ जनाको दरखास्त, २ सदस्यका लागि वहालवाला सहसचिव सहित २५ जना

सोमबार, ०८ मंसिर २०७७

काठमाडौं - खाली भएको शिक्षक सेवा आयोगको अध्यक्षका लागि ४ जनाको दरखास्त परेको छ । नेपाल सरकारको विशिष्ठ श्रेणीको अनुभव प्राप्त अर्थात् सचिवबाट अवकास भएको व्यक्ति आयोग अध्यक्ष हुन सक्ने व्यवस्था छ । सोही योग्यताका आधारमा शिक्षा सेवाबाट सचिव भएका लक्ष्मीराम पौडेल, पूर्व शिक्षा सचिव समेत रहेका कानून सेवाका मधु रेग्मी, कानून सेवाकै खगराज पौडेल र प्रशासन सेवाबाट अवकास भएका विनोद केसीले अध्यक्ष पदका लागि दरखास्त हालेका शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

अन्तिम दिन आईतबार सम्ममा एक महिला सहित २ सदस्य पदका लागि ४ महिला सहित २५ जनाले दरखास्त हालेको उक्त श्रोतले जनाएको छ । अहिले शिक्षा तथा मानव श्रोतविकास कन्दमा निर्देशकका रुपमा कार्यरत शिक्षा मन्त्रालयका सहसचिव विष्णु अधिकारीले पनि सदस्यका लागि दरखास्त हालेका छन् । उनी आगामी पुष २७ गते अवकास हुँदै छन् । शिक्षाका पूर्व सहसचिवहरु देविना प्रधानाङ्ग, डिल्लीराम रिमाल, लालजँग चौहान, भक्त ढकाल र बाबुराम पौडेलले सदस्यका लागि दरखास्त हालेका छन् । यस्तै पूर्व शिक्षक गीता खरेल सिवाकोटी, नन्दकुमारी महर्जनले पनि दरखास्त हालेको मन्त्रालय श्रोतले जनाएको छ । यसैगरी गोपाल लम्साल, तिलक सुवेदी, गणेश गिरी, जय श्रीवास्तव, देवराज गुरुङ्, कृष्ण पौडेल, वीरबंश बैठा* र झमक शर्मा लगायत अन्य ९ जनाले पनि दरखास्त हालेका छन् । 

पदाधिकारी हुन ईच्छुकहरुले आफू पदाधिकारी भए पछि चाल्ने नेतृत्वदायी भूमिका सहितको अवधारणा पत्र तथा पाँच बर्षको व्यवसायिक कार्ययोजना समेत बुझाएका छन् । यस अघि पदाधिकारीका लागि निर्धारित योग्यताका कारण प्रतिस्पर्धामा सहभागी उम्मेद्वारको संख्या नै कम हुन्थ्यो । त्यसैले अवधारणा तथा कार्ययोजना भन्दा पनि उनीहरुको त्यस पूर्वको कार्य सम्पादनलाई नै छनौट समितिले मूल्याँकनको आधार बनाउँथ्यो । तर पछिल्लो पटक आयोगको अध्यक्ष हुन ५ बर्षे योग्यता भन्दा पनि नेपाल सरकारको विशिष्ठ श्रेणीको अनुभव प्राप्त मात्रै भए हुने राखिए पछि धेरै जनाले प्रतिस्पर्धामा भाग लिने आँकलन गरेर नयाँ शैली अपनाईएको हो । 
उम्मेद्वारहरुको प्राप्त दरखास्तलाई लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको सर्च कमिटिलाई बुझाई सकिएको शिक्षा सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।  आवेदकले बुझाएको योग्यता र अवधारणाका आधारमा विज्ञ समूहले मूल्याँकन गर्ने र उनीहरुको प्रस्तुती पछि सर्च कमिटिले मन्त्रालयलाई सिफारिस गर्ने उनले  बताए । 

'सकेसम्म छिटो गर्ने गरी काम गर्ने योजना छ तर हामीले मात्रै भन्नु भन्दा पनि लोकसेवा आयोगको समय महत्वपूर्ण हुने भएकाले त्यसका आधारमा मात्रै कहिले सम्म सिफारिस हुन्छ भन्ने यकिन हुन्छ' उनले भने 'तर हामीलाई एक महिना भित्र सबै काम सक्न पाए हुन्थ्यो भन्ने छ ।'

आयोगका पदाधिकारी सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सहितको सर्च कमिटी गठन गर्ने शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले कमिटि गठन गरेको थियो । 

आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनु भन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्छ । अध्यक्षका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ । 

गत असोज १४ गते आयोगका तत्कालिन अध्यक्ष ताना गौतमको अवधि सकिए पछि आयोगको अध्यक्ष खाली छ । गौतम अघि नै गत असारमा सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको अवधि २०७५ मंसिरमै सकिएका कारण अहिले आयोग पदाधिकारी विहिन छ ।  

सामुदायिक विद्यालयमा आवश्यक शिक्षक छनौट तथा नियुक्त शिक्षकको बढुवाको लागि सिफारिस गर्ने आयोगको जिम्मेवारी हो । 

* सच्याईएको - सं.

प्रतिक्रिया