Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को कापी परीक्षणमा अलमल, शिक्षकहरुले पाएनन् उत्तर कुञ्जिका

बुधबार, १७ मंसिर २०७७

काठमाडौं - परीक्षण गरेर आउँदो ५ दिन भित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्ने भए पनि उत्तर कुञ्जिका नै प्राप्त नहुँदा कक्षा १२ को कापी परीक्षणमा अलमल भएको छ । परीक्षणमा एकरुपता कायम गर्न परीक्षकलाई उत्तर कुञ्जिका दिईन्छ । जसका आधारमा उत्तर परीक्षणमा समानता हुन्छ । तर, अहिले सम्म सबै विषयका उत्तर कुञ्जिका प्राप्त नगर्दा परीक्षणमा अलमल भएको शिक्षकहरुले गुनासो गरेका छन् ।  

यस अघि देशै भरीका परीक्षा केन्द्रका कापी संकलन गरेर बोर्डका सम्बन्धित कार्यालयमा पठाईने र त्यहीँबाट परीक्षणको व्यवस्था मिलाईन्थ्यो । यस पटक कोभिड १९ संक्रमण जोखिमका कारण परीक्षामा अपनाईएको नयाँ शैली अनुसार परीक्षण पनि प्रत्येक विद्यालयका सम्बन्धित शिक्षकबाटै हुने भए पछि उनीहरुलाई उत्तर कुञ्जिका पठाउनु पर्ने थियो । तर समयमा प्राप्त गर्न नसक्दा आफूहरु अन्योलमा परेको शिक्षकहरुको गुनासो छ । 

गएको मंसिर ९ गते देखि १६ गते मंगलबार सम्म सञ्चालन गरिएको परीक्षाको कापी परीक्षण सम्बन्धित विद्यालयकै शिक्षकले गर्ने छन् । तर बोर्डको लापरवाहीका कारण समयमा परीक्षण गर्न नसकिने भएको तनहुँका एक जना शिक्षकले बताए । यस अघि परीक्षाका लागि उपलब्ध हुनु पर्ने प्रश्नपत्र प्राप्त गर्न समेत धेरै तनाव भएको ति शिक्षकको गुनासो छ । बोर्डले वेवसाईटमा विकास गरेको एक सफ्टवेयर मार्फत् प्रश्न पत्र पठाउने भनिए पनि कहिले ईमेलमा त कहिले कता गरेरै हैरान पारेको उनको गुनासो छ । त्यतिका धेरै कर्मचारी, संयन्त्र र श्रोत साधनको उचित प्रयोग नगर्ने र अन्तिममा शिक्षक विद्यार्थीलाई आपत दिने बोर्डको शैली ठिक नभएको भन्दै उनले आपत्ति जनाए ।  

'परीक्षाका लागि आवश्यक प्रश्नपत्र पठाउँदा पनि धेरै झमेला गरियो, जसो तसो परीक्षा सकियो अब परीक्षण गर्ने बेलामा फेरी अर्को झण्झट दिदैं छन्' आक्रोशित हुँदै ती शिक्षकले प्रश्न गरे 'त्यो सफ्टवेयर बनाउन कति पैसा सकियो होला ? त्यसको उपयोग नगर्ने, वेवसाईटमा नराखिदिने हो भने त्यो किन बनाएको ? बनाए पछि प्रभावकारी प्रयोग किन नगरेको ?'

परीक्षण गरेको कापी बोर्डमा पठाउने म्याद तोक्ने बोर्डले आफूले समयमा गर्नु पर्ने काम भने नगरेको भन्दै मकवानपुरका शिक्षक रामप्रसाद सापकोटाले पनि गुनासो गरे । २२ गते भित्र परीक्षण गरेको कापी बोर्डमा पठाउनु पर्ने छ । तर, त्यसका लागि आवश्यक कुराको व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा बोर्डका कर्मचारीले नबुझेको देख्दा आफूहरु छक्क परेको शिक्षक बताउँछन् ।

'एकातिर पुस १५ भित्रै नतिजा सार्वजनिक गर्छु भन्दै मिडियावाजी गर्ने बोर्डका हाकिमहरुलाई शिक्षकले भोगेको हैरानीको हेक्का हुनु पर्दैन ?' सापकोटा प्रश्न गर्छन्  'उत्तर कुञ्जिका नै नआए पछि हामीले कसरी कापी परीक्षण गर्ने ? कसरी २२ गते सम्म बोर्डमा पठाउने ?' 

तर बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल उत्तर कुञ्जिका प्रत्येक विद्यालयका प्रधानाध्यापक वा जिम्मेवार व्यक्तिको मेलमा पठाईसकिएको दावी गर्छन् । वेवसाईटमा राख्दा अनावश्यक मान्छेले पनि लिन सक्ने भएकोले सम्बन्धित प्रधानाध्यापकलाई सिधै ईमेल गरिएको उनको तर्क छ । 

बुधबार मात्रै एडुखबर कार्यालयमा विभिन्न जिल्लबाट करिब दुई दर्जन शिक्षक प्रधानाध्यापकले आफूहरुले उत्तर कुञ्जिका नपाएको र त्यसका लागि बोर्डलाई सम्झाईदिन आग्रह गर्दै टेलिफोन गरेका छन् ।   

'हामीले सम्बन्धित सबै विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित व्यक्तिलाई पठाई सकेका छौं यदी कतै बाँकी रहेछ भने तत्काल पठाउँछौं' अर्यालले भने, 'यसका कारण नतिजा प्रकाशनमा ढिलाई हुन्न, सबै कुरा यथावत रहेर तोकिएको समयमा काम सकियो भने हामी पुष भित्र नतिजा सार्वजनिक गर्न सक्छौं ।'

शिक्षकहरुले पठाएका अंक प्राप्त भए पछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिक गरिने छ । गत बैशाखमा हुनु पर्ने परीक्षा कोभिडका कारण रोकिएको थियो । रोकिएको उक्त परीक्षा सञ्चालनका लागि सरकारले कार्यविधि जारी गरे पछि बोर्डले ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । 

देशभर चार हजार एक सय पाँच वटा केन्द्रमा परीक्षा भएको थियो । ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ । 

प्रतिक्रिया