Edukhabar
बुधबार, ०५ बैशाख २०८१
गतिविधि

शिक्षकको हिउँदे विदा रद्द, परीक्षाहरु बन्द गरी अनलाईन कक्षा सञ्चालनको निर्णय

सोमबार, ०६ पुस २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को संक्रमण जारी रहेको निष्कर्ष सहित त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु बन्द गरी अनलाईन कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय गरेको छ । महामारीका विरुद्ध सचेतता आवश्यक रहेको भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले सम्पूर्ण आँगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन तथा परीक्षाहरु मंगलबारबाट बन्द गर्ने निर्णय गरेको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

अनलाईन कक्षा सञ्चालनको व्यवस्था गरिएको र विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन बाँकी पढाई अर्को बर्ष सम्पन्न गरी परीक्षा सञ्चालन गर्ने कार्यालयले जनाएको छ । यो अवस्थामा कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी विश्वविद्यालयका शिक्षकहरुलाई दिईदैं आएको हिउँदे विदाको व्यवस्था रद्द गरिएको कार्यालयले जनाएको छ । 

हाल बन्द अवस्थामा रहेको क्याम्पस, विभाग, स्कुलहरुले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी एवं सर्तकता अवलम्बन गर्न कार्यालयले यस अघि नै भनिसकेको थियो । सम्भव भएसम्म भौतिक उपस्थिती गराई कक्षा सञ्चालन गर्न र यसो गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी कक्षा सञ्चालनको व्यवस्था गर्न यस अघि नै सूचित गरिएको पनि कार्यालयले स्मरण गराएको छ । 

प्रतिक्रिया