Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

पाँच वर्षे छात्रवृत्ति अभियान, पहिलो चरण प्रारम्भ

मंगलबार, ०६ माघ २०७७

काठमाडौं - मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था मानव अधिकार तथा शान्ति समाजले पाँच वर्षे छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ ।  अभियान अन्र्तगत पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजार रुपैंयाको छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ । दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकाहरु प्रत्येकलाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वान सहित शुरु छात्रवृत्ति अभियान ५ वर्षसम्म अर्थात ती छात्राहरु कक्षा १० मा पुगुञ्जेलसम्म निरन्तर रहने जनाईएको छ । यस वर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहा स्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरिया स्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । उनीहरुलाई आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने छ । 

मानव अधिकार तथा शान्ति समाजद्वारा पहिलो चरणमा प्रक्षेपित पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्ष भित्र २२ लाख २० हजार आवश्यक पर्ने जनाईएको छ । यसका लागि सहयोगको प्रतिवद्धता व्यक्त भईसकेको समाजले जनाएको छ । सहयोगीहरु थपिदै गएमा छात्रवृत्ति संख्या पनि वृद्धि गर्दै अन्य जिल्लाहरुमा समेत कार्यक्रम विस्तार गरिने जनाईएको छ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा संस्था स्थापना गरिएको हो ।  २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दातृ संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन । समाजले विगत एक दशक देखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यस बाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ । २०७२ सालदेखि भने समाजले राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।

 

प्रतिक्रिया