Edukhabar
आइतबार, ०९ बैशाख २०८१
शिक्षामा यो साता

राजनीतिक संकट, मारमा शैक्षिक क्षेत्र !

आइतबार, २५ माघ २०७७

काठमाडौं - गत साताभरी प्रकाशित शिक्षाका समाचारहरूमा कक्षा १२ को नतिजा प्रकाशनमा भएको ढिलाई, रौतहटको दुर्गा भवानी गाउँ पालिकामा विद्यार्थीको प्रर्दशन, कक्षा ११ र १२ मा विद्यार्थीले गणित र सामाजिक तथा जीवन उपयोगी सिपमध्ये कुनै एक विषय रोज्न पाउने, फर्निचरको अभावमा चिसो भुइँमा बस्न बाध्य विद्यार्थीका विषय लगायत अन्य थुप्रै विषय थिए । सम्पादकीय र पाठकपत्रहरु शैक्षिक सत्रको द्वविधा लगायतका विषयमा केन्द्रित थिए । 

समाचार अनुसार विद्यालय तथा शिक्षकहरुले अस्वभाविक र नमिल्दो अङ्क पठाए पछि कक्षा १२ को नतिजा प्रकाशन ढिला भयो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वास्तविक सिम्बोल नम्बर र विद्यालयले पठाएको सिम्बोल नम्बरमा फरक भएका विद्यार्थीको नतिजा सार्वजनिक भएको छैन । अर्को एक समाचार अनुसार कक्षा १२ को नतिजा गत वर्षको तुलनामा सुधार भएको छ । परीक्षा बोर्डले विद्यालयहरुले आन्तरिक परीक्षाहरुमा धेरै अङ्क दिएकाले नतिजा राम्रो देखिएको जनाएको छ । 

विद्यालय तहको पाठ्यक्रम ढाँचामा सुधार गरी कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी सिपको सट्टामा गणित विषय पढन पाइने भएको समाचारमा उल्लेख गरिएको छ । पाठ्यक्रम प्रारुप २०७६ मा आवश्यक संशोधन गरी अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी सिपको  सट्टा गणित पढन पाइने भएको हो । यस अगाडि नेपाली र अंग्रेजीसँगै सामाजिक अध्ययन तथा जीवनोपयोगी सिप पनि अनिवार्य विषयको रुपमा रहेको थियो । 

अर्को एक समाचारमा उल्लेख भए अनुसार दुर्गा भगवती गाउँ पालिका वार्ड नम्बर ४ स्थित शिवशंकर प्राथमिक विद्यालयका विद्यार्थीले जनप्रतिनिधिका विरुद्ध नाराबाजी गर्दै पालिकाको कार्यालयमा ३ घण्टा धर्ना दिएका छन् । उनीहरुले निःशुल्क झोला, पोशाक तथा अन्य शैक्षिक सामग्री नदिएको विरोधमा प्रदर्शन गरेका हुन् । यो आन्दोलन अभिभावकले आफ्ना लागि छुट्टाइएको सामग्री नपाएको विरोधमा गरेको भने पनि पालिका अध्यक्षले राजनीतिक रुपमा प्रेरीत भएको जनाएका छन् । 

सिराहाको मिर्चैया नगरपालिकाका आधारभूत विद्यालयमा आवश्यक फर्निचर तथा पूर्वाधार नहुँदा विद्यार्थी चिसो भुईँमा बस्न बाध्य भएको समाचारमा उल्लेख गरिएको छ । 

सम्पादकीयमा विद्यालयहरूले बालबालिकाका लागि न्यूनतम पूर्वाधार उपलब्ध गराउनु पर्छ भनिएको छ । न्यूनतम पूर्वाधारको अभावमा शिक्षण सिकाइमा पर्ने प्रभावले समाजमा २ प्रकारका विद्यालय रहिरहने र त्यसले २ खाले नागरिक उत्पादन गर्छ भनिएको छ । सम्पादकीयमा अगाडि लेखिएको छ, शिक्षामा नेपालले अझ धेरै लगानी र स्रोत विनियोजन गर्नुपर्ने छ र स्थानीय तहहरुले बजेट विनियोजन तथा स्रोत विनियोजन प्रभावकारी ढंगले गर्न सक्छन् । यस्तै पूर्व विद्यार्थी तथा स्थानीय सरोकारवालाहरुले फर्निचर खरिदका लागि कोष जम्मा गर्न पनि सक्छन् । 

तस्वीर : हिमालय टाइम्समा प्रकाशित बाजुरको बौदी गाउँपालिकाका बालबालिका जो विद्यालय छोडेर भेडा चराउने तथा हेरचाह गर्छन् । 

बाजुराको हिमाली क्षेत्रका गाउँपालिकाका बालबालिकाहरु विद्यालय छोडेर गाइवस्तुको हेरचाह गरी अभिभावकलाई सघाउने गर्छन् भन्ने विषयमा समाचार प्रकाशन भएको छ । समाचारमा उल्लेख भए अनुसार अभिभावकहरु आफ्ना गाइवस्तुसँगै बसाँइसराइ गरे पछि बालबालिकाहरु पनि विद्यालय छोड्ने गर्छन् । बाजुराका छ सय ४० भन्दा धेरै परिवार जाडो छल्न तलतिर बसाइसराइ गरेसँगै भोटे समुदायका बालबालिका मुस्किलले ६ महिना मात्र विद्यालय जाने गर्छन् । 

यस्तै समाचारमा उल्लेख भए अनुसार तनहुँको महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा मुस्लिम विद्यार्थीले संस्कृत पढ्न शुरु गरेका छन् । संस्कृत पढ्ने विद्यार्थीको संख्या ब्राह्मणको भन्दा अन्य जातीको धेरै रहेको र मुस्लिम विद्यार्थी पनि बढेको समाचारमा उल्लेख गरिएको छ । 

एक विचारमूलक आलेख थुप्रै विद्यार्थी भाषिक समस्यासँग जुधिरहेका छन् भन्नेमा केन्द्रित छ । आलेख अनुसार नेपालजस्ता विकासशिल देशहरुले शिक्षाको माध्यम मातृभाषालाई बनाउने गरी सफल अभ्यासहरु अबलम्बन गर्नु जरुरी छ । आलेखमा तीनै तहका सरकारले वर्तमान शिक्षा उत्पादनशील हुन नसक्नुको कारण भाषा पनि हो भनेर बुझ्नु आवश्यक छ भनि उल्लेख गरिएको छ । 

यस्तै समाचारमा पूर्वी क्षेत्रमा विभिन्न नगरपालिकामा बढ्दो बालविवाह सम्बन्धी विद्यार्थीका अनुभवहरु समावेश गरिएका छन् । 

शिक्षामा कोभिडको प्रभावसँग सम्बन्धित विषयहरु सञ्चारमाध्यममा थुप्रै प्रकाशित भए । शिक्षा र कोभिडमा केन्द्रित आलेखमा दक्षिण एसियाको सन्दर्भसहित बालबालिकाको सिकाइ अझ कमजोर हुदैँ गएको र शैक्षिक प्रणालीबाट बालबालिकाहरुको विद्यालय छोड्ने दर बढेको उल्लेख गरिएको छ ।  

समाचारमा शैक्षिक सत्र संकटमा भएपनि नयाँ शिक्षा मन्त्री दलीय राजनीतिमा व्यस्त भएको उल्लेख गरिएको छ । शैक्षिक सत्र सकिन २ महिना मात्र बाँकी छ, तर पनि शिक्षण सिकाइ प्रभावकारी रुपमा शुरु भइसकेको छैन । यो शैक्षिक सत्र लम्बाउने निर्णय पनि अझै भइसकेको छैन । एसइइको परीक्षा संघले, स्थानीय तहले वा विद्यालय आफैले कसले गर्ने निर्णय हुन सकेको छैन । मन्त्रालयले समयमै निर्णय नगर्दा लाखौँ विद्यार्थी, अभिभावक र शैक्षिक संस्था अलमलमा रहेका छन् । 

अनिश्चित भएको शैक्षिक सत्रसँग सम्बन्धित थुप्रै पाठकपत्रहरु प्रकाशित भएका छन् । पाठकपत्रमा विद्यार्थीको वास्तविक सिकाइमा भन्दा किन शैक्षिक सत्रको अवधिमा बढि ध्यान दिइएको भन्ने प्रश्न उठाइएको छ । यसलाई वास्तविक सिकाइ भन्दा पनि पाठ्यपुस्तकको ज्ञानलाई मात्र महत्व दिने हाम्रो मानसिकताको उपज हो पनि भनिएको छ । पाठक पत्रमा यो शैक्षिक सत्रको क्षति पूरा गर्न तीनवटा शैक्षिक सत्रलाई मिलान गर्नुपर्ने उल्लेख गरिएको छ । 

यस्तै अन्य समाचारहरुमा अत्यधिक चिसो बढेको हुँदा सिराहा नगरपालिकाले ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको तथा पूर्व शिक्षा मन्त्रीले गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिएको लगायतका रहेका छन् ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा माघ १४ देखि २० गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Political turmoil over academic crisis !

प्रतिक्रिया