Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षकलाई राजनीतिबाट अलग राख्नु हुँदैन

सोमबार, २६ माघ २०७७

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकलाई विचार र राजनीतिबाट अलग राख्न नहुने बताएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले उक्त धारणा सार्वजनिक गरेका हुन् । पठनपाठनमा नकारात्मक प्रभाव पर्ने भएकाले शिक्षकलाई दलगत राजनीतिबाट टाढा राख्न जरुरी रहेको तर्क जबरजस्त रुपमा उठिरहेका बेला दाहालको उक्त धारणा सार्वजनिक भएको हो । 

'शिक्षकलाई विचार र राजनीतिबाट अलग राख्न हुँदैन' उनले भने 'केही सीमा पालना गर्नु पर्छ भने तयार छौं तर देश निर्माणको भूमिकाबाट शिक्षक अलग बस्नु पर्छ भन्ने हैन ।'  

दल भित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेसँगै दाहाल नेपाल समूह प्रधानमन्त्रीको कदम विरुद्ध आन्दोलित छ । आफू निकट रहेका शिक्षकहरुको उक्त भेलामा पनि दाहालले अधिकाँश समय प्रधानमन्त्री ओलीकै आलोचनामा खर्च गरे । शिक्षक भनेको सचेत वर्ग भएकाले आफूलाई समर्थन गर्दैनन् भन्ने लागेर ओलीले शिक्षकलाई विचार र राजनीतिबाट अलग राख्ने प्रयास गरेको उनको आरोप थियो । 'साँच्चै शिक्षकलाई राजनीतिबाट अलग राख्नु पर्छ भनिएको थियो भने आफ्नो केन्द्रिय समितिमा शिक्षकलाई किन राखेको ?' भन्दै दाहालले प्रश्न गरे । 

संसद विघटन सँगै दुई कित्तामा विभाजित सत्ताधारी दलको ओली गुटले शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायतलाई केन्द्रिय समितिमा मनोनयन गरेको थियो  । कसैको पनि नाम उल्लेख नगरिकनै दाहालले उक्त प्रश्न उठाएका थिए । 

आफ्ना तर्फबाट शिक्षा मन्त्री बनेका गिरिराजमणि पोखरेलको नामै लिएर दाहालले शिक्षकको पक्षमा मन्त्रालयले गर्न खोजेका राम्रा काम प्रधानमन्त्रीले रोकेको आरोप पनि लगाए । 

'शिक्षकको समस्याका बारेमा म अवगत छु, तर ति समस्या समाधान गर्नका लागि शिक्षा मन्त्रालयले गरेका कतिपय राम्रा काम अर्थ मन्त्रालय, मन्त्रीपरिषद्बाट रोकिएको थियो' उनले भने ।  

ओलीले चालेको प्रतिगामी कदम सच्चिए पछि बन्ने सरकारले ति रोकिएका राम्रा कामलाई निरन्तरता दिएर शिक्षकका समस्या समाधान गर्ने उनले प्रतिवद्धता पनि जनाए । 

विचारकै कारण रोकिएको शिक्षक संगठनको एकता प्रकृयालाई निरन्तरता दिन अर्का अध्यक्ष माधव नेपाल र आफूले शिक्षकहरुसँग सामूहिक छलफल जारी राखेको पनि उनले बताए । 

भेलामा अर्का अध्यक्ष नेपालले ओलीमा आफूहरुले भनेको कुरा मान्ने मान्छेहरु मात्रै चाहिने प्रवृत्ति रहेको बताउँदै कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूह तिर धकेल्ने काम गर्नुलाई ओली प्रवृत्तिका रुपमा व्याख्या गरेका थिए । 

अनौपचारिक रुपमा पाटि विभाजन सँगै जनवर्गीय सँगठनका नेता कार्यकर्तालाई समेट्न दुबै गुटले छुट्टा छुट्टै भेला गर्दै आएका छन् । यही अभियान अन्र्तगत शिक्षकहरुको यो भेला गरिएको हो । संगठनको परिषद् बैठक मंगलबार सकिने छ ।

प्रतिक्रिया