Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

एसईई साविककै शैलीमा गर्ने सरकारको निर्णय

मंगलबार, २७ माघ २०७७

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने परीक्षा साविककै शैलीमा गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार मन्त्री पार्वत गुरुङ्ले सार्वजनिक गरेका हुन् । शैक्षिक सत्रका बारेमा शिक्षा नियमावली संशोधन गरेर आवश्यक कार्य गर्ने उनले बताए ।  

'विद्यालय शिक्षाको शैक्षिक सत्र तथा बार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा माध्यमिक शिक्षा कक्षा १० को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्टिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन व्यवस्थापन नतिजा प्रकाशन र प्रमाणिकरण गर्ने प्रवन्ध मिलाउने' निर्णय सार्वजनिक गर्दै उनले भने 'शैक्षिक सत्र र विद्यालय तहका सबै तह र कक्षाका विद्यार्थीहरुलाई स्थानान्तरण सम्बन्धमा शिक्षा नियमावली २०५९ मा तत् सम्बन्धि आवश्यक व्यवस्था गर्ने निर्णय गरिएको छ ।' 

संविधानले नै माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेको छ । तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिएको छ । यो परीक्षालाई प्रदेश मातहत गर्न निकै लामो समय देखि सुझाव दिईदैं आए पनि सरकारले वेवास्ता गर्दै आएको छ । यस पटक कोरोनाका कारण अहिले सम्मको अपजस मेटाउने मौका आए पनि सरकारले फेरी पुरानै शैलीमा जाने गरी निर्णय गरेको हो । 

पढ्नुहोस् : शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका

 

प्रतिक्रिया