Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

यो बर्ष नयाँ शैक्षिक सत्र असारबाट, विद्यार्थी स्थानान्तरणको बाटो खुला

बुधबार, ०५ फागुन २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) का कारण आईपरेको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले यो बर्ष असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको छ । यस अघि बसेको मन्त्रीपरिषद् बैठकले दिएको म्याण्डेड अनुसार शिक्षा मन्त्रालयले शैक्षिक सत्र र विद्यार्थी स्थानान्तरणको बाटो खुला गर्ने निर्णय गरेको हो । 

जेठ भित्र सबै परीक्षा सक्ने र कोभिडका कारण साविकको विद्यालय छाडेर पायक पने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । यसका लागि विद्यालयले स्थानान्तरण गरेर जिल्ला स्थित समन्वय इकाइलाई जानकारी गराउनु पर्ने छ । 

परीक्षाका विषयमा उल्लेख प्रावधानलाई संशोधन गर्ने गरी शिक्षा नियमावली संशोधन गर्न मन्त्रीपरिषद्ले शिक्षा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय गत ३ गते राजपत्रमा प्रकाशति भएपछि मन्त्रालयले यो निर्णय गरेको हो । 

'यो बर्षको पठनपाठन र अन्तिम परीक्षा जेठ भित्र सक्ने र असार १ गते देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ' शर्माले भने, 'अवस्था सामान्य नै भयो भने २०७८ सालको शैक्षिक सत्र भने साविककै जस्तो चैतमै सकिने अपेक्षा गरिएको छ ।'

कक्षा १० का अन्तिममा लिईने एसईई लगायत अन्य कक्षाका विद्यार्थीलाई पनि स्थानान्तरणको मौका प्रदान गरिएको उनले बताए । उक्त परीक्षाका लागि फारम भर्ने म्याद बिहीबार अन्तिम हो । 

'गत असोजमा सार्वजनिक गरिएको आकस्मिक कार्ययोजना अनुसार महामारीका कारण विद्यालय परिवर्तन भएका सबै विद्यार्थीलाई मध्यनजर गर्दै स्थानान्तरणको निर्णय गरिएको हो' उनले भने 'हैन म परिवर्तन गरिएको विद्यालयबाटै परीक्षामा सहभागी हुन्छु भने पनि विद्यार्थी त्यो निर्णय गर्न स्वतन्त्र छ, यो सबै कक्षाका सवालमा भएको निर्णय हो ।'

प्रतिक्रिया