Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

राजनीतिक दवावमा अधिकार दुरुपयोग

सोमबार, ०२ चैत्र २०७७

काठमाडौं - गत साताभरी सञ्चार माध्यममा शिक्षाका विषय थोरै मात्र  प्रकाशित भए । शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियामा राजनीतिक रुपमा जर्बजस्ति गर्न खोजिएको, निजी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन दवाव दिएको र नाइजेरियाको उत्तर पश्चिम क्षेत्र तथा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विद्यार्थीमा भएको त्रासपूर्ण वातावरण लगायतका रहेका छन् । 

शिक्षा मन्त्रीले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा जर्बजस्ति गर्न खोजेको विषय समाचारको रुपमा प्रकाशित भएको छ । समाचारमा उल्लेख भए अनुसार शिक्षा मन्त्रीको निर्देशनमा शिक्षा सचिवले लोक सेवा आयोगलाई आफ्नो सिफारिस र मूल्याङ्कनमा पुर्नविचार गर्न पत्र लेखेका थिए । समाचार अनुसार आयोगमा अध्यक्ष लगायतका पदाधिकारी नहुँदा सामुदायिक विद्यालयमा १२ हजार शिक्षक नियुक्ति लगायतका कामहरु रोकिएका छन् । 

अर्को एक समाचार अनुसार काठमाडौं विश्वविद्यालयले गरेको बी एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय सच्चाउन १० जना पूर्व उपकुलपतिहरुले माग गरेका छन् । केयुले शिक्षा मन्त्री र प्रधानमन्त्रीको ठाडो निर्देशनमा झापा स्थित बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले पनि वैठकमा उक्त विषयमा छलफल नभएको भन्दै उक्त कार्यप्रति असहमति जनाएको छ । संघले जारी गरेको विज्ञप्तीमा मेडिकल शिक्षाको सुधारका लागि गरिएका प्रयासहरुको विपरित यस्तो निर्णय गरिएको जनाइएको छ । साथै संघले चिकित्सा शिक्षा आयोगको अधिकार क्षेत्रमा विश्वविद्यालय प्रवेश गर्नु हुँदैन भन्ने निष्कर्श समेत प्रस्तुत गरेको छ । 

सत्तारुढ राजनीतिक दलको दवावमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिने विषय अघिल्लो साता पनि निरन्तर प्रकाशित भएको थियो । 

तनहुँको व्यास नगरपालिकाले पालिका क्षेत्रका एह हजार पाँच सय सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई खोप लगाउने भएको समाचारमा उल्लेख छ ।  

कान्तिपुर दैनिकमा प्रकाशित तस्वीर : कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीय छात्रा कलेज जाँदै गर्दा जिपले ठक्कर दिएर मृत्यु भएको विरोधमा जावलाखेल सडकमा विरोध गरेर बसेका विद्यार्थी । विद्यार्थीले जीप चालकलाई कडा कारवाही गरी पिडित परिवारलाई क्षति पूर्तिको माग गरेका छन् । 

विद्यालयमा सिर्जित भययुक्त वातावरण

नाइजेरीयाको उत्तर पश्चिमी क्षेत्रको आवासीय विद्यालयबाट बन्दुकधारीको अपहरणमा परेका दुई सय ७९ छात्राहरू अपहरणमुक्त भएका छन् । अपहरण परेका पिडितहरुले उनीहरुलाई मानसिक यातना दिने, कुटपिट गर्ने र मार्ने धम्की दिएको समाचारमा उल्लेख छ । 

बेनीघाट रोराङ गाउँपालिकाका स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अनुशासनको नाममा एक सय ५० जना विद्यार्थीको जबर्जस्ती कपाल काटिएको छ । विद्यार्थीले विद्यालयको अनुशासन पालन गरिरहेकै भए पनि कपाल काटिएको जनाएका छन् । केही विद्यार्थीले कपाल काट्न नमाने पछी विद्यालयले दुव्र्यवहार समेत गरेको र केही विद्यार्थीको टाउकामा चोटपटक समेत लागेको समाचारमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई पटक पटक भन्दा पनि नमानेको र यो विषय अनावश्यक रुपमा सञ्चार माध्यममा ल्याइएको उल्लेख गरेका छन् । 

अनुशासनको नाममा विद्यार्थीको इच्छा विपरित विद्यालयमा गरिने विभिन्न क्रियाकलापले विद्यालयमा त्रासपूर्ण वातावरण सिर्जना गरेको छ । शिक्षक र विद्यालयले यस्ता व्यवहार हिंसा मात्र नभई बालबालिकाको मानसिक स्वास्थ्यका लागि समेत हानिकारक हुन्छ भन्ने बुझ्नु जरुरी छ । निजी विद्यालय र कलेजले अनुशासन संयोजक समेत राख्ने व्यवस्था गरेका हुन्छन् । विद्यार्थीको मानसिक स्वास्थ्यलाई ध्यान दिदैँ शिक्षकको परामर्श सेवा समेत प्रभावकारी बनाउन विद्यार्थीमा साच्चिकै कस्तो अनुशासन चाहिन्छ भन्ने विषयमा पनि ध्यान दिनु आवश्यक छ ।

विद्यालय पूर्वाधार निर्माणमा भारतीय सहयोग 

रुपन्देहीको बुटवल स्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण र काठमाडौंको चन्द्रागिरी नगरपालिकाको विष्णुदेवि माध्यमिक विद्यालयको पुनर्निमाणका लागि भारतीय राजदुतावासले अनुदान दिने भएको समाचारमा उल्लेख गरिएको छ । 

एक विचार मूलक आलेखमा ऐच्छिक रुपमा सञ्चालन भइरहेको अतिरिक्त क्रियाकलाप वास्तवमै “गेम चेञ्जर“ को रुपमा विद्यार्थीको सोच्ने क्षमतामै उल्लेखनीय प्रभाव पर्ने उल्लेख गरिएको छ । लेखकले संघीय, प्रदेश तथा स्थानीय सरकारहरु सार्वजनिक शिक्षाको सुधारका लागि जिम्मेवार हुने हो भने यसमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थी कक्षा कोठा भन्दा बाहिर धेरै नै सक्रिय हुन्छन् र विद्यार्थीको सामुदायिक कार्यहरूमा अभिभावक समेत गौरवान्वित हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा फागुन १९ देखि २५ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Political matters : Misuse of authority under political pressure !

प्रतिक्रिया