Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विद्यालय जानेहरुमा कोरोना संक्रमण बढ्दो, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

बुधबार, २५ चैत्र २०७७

काठमाडौं - ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्टको संक्रमण बढ्दो रहेको भन्दै सरकारले शैक्षिक संस्थाहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोनाको बेलायत भेरियण्टको बढ्दो संक्रमण दरका बारेमा सचेत हुन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै शैक्षिक संस्थाहरलाई सचेत गराएको छ । 

'हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहेको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुमा संक्रमणको उच्च सर्तकता अपनाउन सरोकारवाला सबैमा अनुरोध छ' उक्त १० बुँदे सूचनाको पहिलो बुँदामै यो विषय उल्लेख गरिएको छ । 

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा बुधबार जारी सूचनामा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ । ठूला शहरहरुमा पाँच सय भन्दा बढी र साना शहरहरुमा एक सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा त्यहाँ आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिर लगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरु राति ९ बजे पछि बन्द गर्न आग्रह गर्दै सरकारले कोरोना संक्रमितको पहिचान गर्नका लागि एण्टिजेन तथा आवश्यकता अनुसार पीसीआर परीक्षण बढाउन पनि सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।

हेर्नुहोस् उक्त सूचना : 

प्रतिक्रिया