Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

विद्यालय बन्द नगर्न सुझाव, स्थानीय सरकारलाई पत्याउन आग्रह

सोमबार, ३० चैत्र २०७७

काठमाडौं - सिंहदरबारबाट जारी हुने एउटै निर्णयका भरमा देशैभरी एकै पटक विद्यालय बन्द नगर्न सरोकारवालाले सुझाव दिएका छन् । कोरोना भाईरस (कोभिड – १९) को नयाँ भेरियण्टका कारण बढ्दै गएको संक्रमण जोखिमलाई ध्यान दिदैं स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने सिफारिस गरेसँगै शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सरोकारवालाले ठाउँ र घटना विशेषका आधारमा निर्णय गर्न सुझाव दिएका हुन् ।  

'जहाँ संक्रमणको जोखिम छ, त्यहाँ ध्यान दिनु जरुरी' भए पनि जोखिमै नभएको ठाउँमा पनि शैक्षिक गतिविधि ठप्प पार्ने अघिल्लो पटकको जस्तो गल्ती नदोहोर्याउन सरोकारवालाको आग्रह छ । महामारीका बेला विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषय समेटेर पाँच महिना अघि कार्यढाँचा जारी गरिएको छ ।  उक्त कार्यढाँचामा स्थानीय अवस्थाको विश्लेषण गर्दै स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था छ । 

जोखिम विश्लेषण गर्दै शैक्षिक गतिविधि सञ्चालन गर्न स्थानीय सरकार सक्षम भएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले बताए । अघिल्लो पटक पनि यस विषयलाई स्थानीय सरकारले गम्भिरता पूर्वक कार्यान्वयन गरेको स्मरण गराउँदै उनले आफूहरुलाई पत्याउन आग्रह गरेका छन् । 

'अचानक आएको संकट समाधान गर्न कार्यढाँचा बनाईयो, त्यसमा म आफू पनि सहभागी भएकै हो' उनले भने 'तर त्यतिखेर कार्यढाँचा बनाएर स्थानीय सरकारको भूमिका देखाउने कार्य सैद्धान्तिक रुपम गलत थियो, संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरे पछि त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारकै हो, सिंहदरबारबाट अरु निर्णय गर्न जरुरी छैन ।'

छलफलमा निजी विद्यालयका सञ्चालकहरु, सरकारी निकायका प्रतिनिधि, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायतको उपस्थिती थियो । 

सहभागीहरुले विद्यालयमा स्वास्थ्य सावधानी अपनाउनु पर्ने, अनुगमन प्रभावकारी बनाउनु पर्ने, जहाँ संक्रमण देखियो त्यहाँ थप सावधानी अपनाउनु पर्ने सुझाव दिएका छन् । कुनै ठाउँमा संक्रमण देखियो भन्दैमा सबै ठाउँमा एउटै निर्णयबाट बन्द गर्ने कार्य अनुचित हुने उनीहरुको समान सुझाव छ । 

छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने सहभागी थिएनन् । उनका ससुराको निधन भएकाले उनी उपस्थित हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले जानकारी गराए । 

छलफलमा मन्त्री नै सहभागी नभए पछि यसका सुझाव के हुने ? भन्ने प्रश्न सहभागीहरुले उठाए पनि थपलियाले छलफलबाट प्राप्त सुझावलाई मन्त्री समक्ष पेश गर्ने र मन्त्री मार्फत् मन्त्रीपषिद्मा लैजाने बताए । 

अघिल्लो पटक कक्षा १० को अन्तिम परीक्षा एसईई शुरु हुने १२ घण्टा अघि मात्रै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको स्मरण गर्दै सहभागीहरुले यसपटकको छलफल कर्मकाण्डि मात्रै हुने त हैन भन्ने शंका गरेका थिए ।

प्रतिक्रिया