Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शैक्षिक संस्था बन्दको निर्णय, जारी परीक्षा पनि स्थगित

आइतबार, १२ बैशाख २०७८

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्ट संक्रमण तिव्र भएसँगै रुपन्देहीका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहित जिल्लामा रहेका सबै १६ वटै स्थानीय तहका जनप्रतिनिधि बिच भएको छलफल पछि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको हो । 

विद्यालय बन्द गर्ने वा नगर्ने कुरा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा गर्नु पर्ने शिक्षा मन्त्रालयको गत बैशाख ३ गतेको निर्णयका आधारमा उक्त छलफल भएको थियो ।  

जारी परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिएका छन् । बैठकले आगामी मंगलबार देखि जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय समेत गरेको छ । 

यसैबिच काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी हेटौँडामा पनि जोखिमलाई मध्यनजर गर्दै आइतबार देखिनै सवारी साधनलाई जोर/बिजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच सत्ताधारी दलका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहे पनि संक्रमण जोखिमका आधारमा स्थानीय तहहरुले लकडाउन गर्न सक्ने बताएका छन् । स्वास्थ्य मापदण्ड  पालनामा कडाई गर्न र पार्टिका कार्यकर्तालाई संक्रमण जोखिम विरुद्ध कृयाशिल हुन निर्देशन दिईएको पार्टीको बैठक पछि उनले  सञ्चारकर्मीहरूलाई जानकारी दिए । 

प्रतिक्रिया