Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

मन्त्रीको मोवाईलमा एसएमएस पठाउन शिक्षक महासंघद्वारा आह्वान

आइतबार, ०२ जेठ २०७८

काठमाडौं - कोरोना भाईरसको नयाँ भेरियण्ट संगै आई लागेको महामारी जोखिमका बीच नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जेठ ५ गतेदेखि शुरु हुने महासंघको आन्दोलनका कार्यक्रम अन्र्तगत मन्त्रीको मोवाईलमा एसएमएस गर्ने देखि फेसबुक वालमा खुलापत्र सार्वजनिक गर्ने सम्मका कार्यक्रम तय गरेको महासंघले जनाएको छ । 

यस अघि महासंघले विभिन्न ३४ सुत्रीय माग र त्यस अघि नै सरकारसँग भएका विभिन्न सम्झौताको  ३० बुँदा शिक्षा मन्त्रीलाई बुझाईसकेको छ । 

तीनै मागहरु पुरा गर्न घोषणा गरिएको आन्दोलन अन्र्तगत आगामी जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्, र बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस् भन्ने नारा पठाउन महासंघले आह्वान गरेको छ । 

यस अघि आन्दोलनको पहिलो दिन जेठ ५ गते आफ्ना मागहरु हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा शेयर गर्ने र उक्त माग प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गर्ने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीद्वारा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।  

यसैगरी जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघ बीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने र जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोष्ट गर्ने महासंघले जनाएको छ । 

जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने र जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ । 

यस अघि महासंघले बैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

प्रतिक्रिया