Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
शिक्षामा यो साता

बजेटमा केन्द्रित शिक्षाका खबर

सोमबार, २४ जेठ २०७८

काठमाडौं - गत साताका शिक्षाका खबरहरू बजेटमा केन्द्रित रहे । केही समाचारहरुले शिक्षाको बजेट बढेको भन्ने उल्लेख गरे पनि समग्रमा शिक्षाको बजेटको प्रतिशत घटेको छ । यस्तै अन्य समाचारमा राष्ट्रिय परीक्षा बोर्डले वैकल्पिक विधिबाट एसइइ परीक्षा सञ्चालन गर्ने, अनलाइन कक्षा धेरै विद्यार्थीको पहुँचमा नपुगेको र ललितपुरको एक निजी विद्यालय बन्द भएको लगायतका रहेका छन् । 

– शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा आर्थिक वर्ष सन् २०२१।२२ का लागि पाँच प्रतिशत बजेट वृद्धि भएको भए पनि खास उल्लेखनीय नयाँ कार्यक्रमहरु नभएको समाचारमा उल्लेख गरिएको छ । शिक्षाको बजेट शीर्षकमा १८०.०४ बिलियन बजेट विनियोजन भएको छ । सरकारले प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीको सुविधा वृद्धि गरी थप ५.५५ बिलियन बजेट विनियोजन गरेको छ । यस्तै प्राथमिक तहमा १०० प्रतिशत भर्नागर्ने लक्ष्य राखिएको छ । सरकारले सामुदायिक विद्यालयका ३.५ मिलियन बालबालिकाहरूका लागि दिवा खाजा उपलब्ध गराउन ८.७३ बिलियन बजेट विनियोजन गरेको छ । 
 
– अर्को एक समाचार अनुसार सरकारले बजेटमार्फत् सबै सामुदायिक विद्यालयमा २ वर्षभित्रमा इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । सरकारी तथ्याङ्क अनुसार २७ हजार सामुदायिक विद्यालयमध्ये हाल ११ हजार विद्यालयमा मात्र कम्प्युटर उपलब्ध छ । आइसिटी ल्याब जम्मा १ हजार विद्यालयमा मात्र छ । समाचार अनुसार १.२० विलियन बजेट वैकल्पिक सिकाइका लागि विनियोजन गरिएको छ । 
 
– पाठक पत्रमा उल्लेख भए अनुसार सरकारले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने प्रतिवद्धताभन्दा विपरित गतवर्षभन्दा ०.३२ प्रतिशतले कम १०.९३ प्रतिशत मात्र बजेट विनियोजन गरेको छ । पत्रमा उल्लेख भए अनुसार सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट दोब्बर वृद्धि गरेको छ तर विज्ञहरूले यो कार्यक्रमबाट कुनै फाइदा नहुने वताएका छन । विद्यालय कर्मचारी र बालविकास शिक्षकको तलब बढाएर १५ हजार बनाएको सकारात्मक कार्य भएपनि स्थानीय सरकारले थप गरेर दिनुपर्ने व्यवस्थाले भने संघीय सरकारले त्यसको जस मात्र लिन खोजेको उल्लेख गरिएको छ । यस्तै सरकारको उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने भन्ने प्रतिबद्धता बजेटमा नआएकोमा प्रश्न गरिएको छ । 
– कोरोना महामारीले गर्दा यो वर्ष पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसइइ परीक्षा वैकल्पिक विधि प्रयोग गरी गर्ने भएको छ । बोर्डका अध्यक्षका अनुसार परीक्षा सम्बन्धी तयारी शुरु भइसकेको र असारको अन्त्यसम्ममा यो काम सकिनेछ । 
 
– अर्को एक समाचारमा उल्लेख भए अनुसार स्थानीय तहहरु चालू शैक्षिक सत्र जेठ मसान्तमा अन्त्य गरी असारबाट नयाँ शैक्षिक सत्र सञ्चालनका लागि काम गरिरहेका छन् । शैक्षिक संस्थाहरू निशेधाज्ञा जारी भएका कारण वैशाखदेखि बन्द भएका छन । समाचार अनुसार पालिकाहरूले वार्षिक नतिजा प्रकाशन गरी असारबाट शैक्षिक सत्र शुरु गर्न तयारी गरिरहेका छन् । 
 
– सम्पादकीय आलेखमा उल्लेख भए अनुसार ग्रामीण क्षेत्रका बालबालिकाहरूमा इन्टरनेट सुविधा उपलब्ध छैन र उनीहरु हालको बन्दाबन्दीको कारणले शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित भएका छन् । डिजिटल डिभाइड कम गरी ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तारका लागि सरकारले २ वर्षभित्र सबै सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउने भएको छ । 
 
– त्रिभुवन विश्वविद्यालयका २३ जना प्राध्यापक तथा कर्मचारीले कोभिडका कारण ज्यान गुमाएको समाचारमा उल्लेख छ । त्रिवि जनसम्पर्क महाशाखाका अनुसार विश्वविद्यालयका शिक्षक तथा कर्मचारीसमेत गरी ६१६ जनामा कोरोना सङक्रमण भएको थियो । 
 
– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले चार जनालाई एमबिबिएस (डाक्टर) अध्ययनको लागि छात्रवृति दिने भएको छ । न्यून आयस्तर भएका र पालिकाक्षेत्रमा बसोबास गर्ने विद्यार्थीका लागि यसैवर्षबाट यस्तो छात्रवृति दिइने भएको समाचारमा उल्लेख गरिएको छ । 
 
– एक विचारमूलक आलेखमा यो कोभिड महामारीको समयमा विद्यार्थीले समाज र आफ्नो छिमेकमा विताउने समय र त्यसमा हुने सहभागितालाई समेत पहिचान गरी अङ्कन गर्नुपर्ने उल्लेख गरिएको छ । हाल सिकाइ प्रणालीमा स्तरीकृत तथा प्रमाणीकरण गर्ने परीक्षामात्र सञ्चालनमा छन । यस्तै आलेखमा प्रारम्भिक कक्षाका बालबालिकाहरु जो लेख पढ गर्नबाट वञ्चित भएका छन् उनीहरुका सम्बन्धमा ध्यान नदिएको विषय उठान गरिएको छ । माथिल्ला कक्षामा भन्दा तल यसको प्रभाव लामो समयसम्म पर्ने भएकाले कक्षा ६ र सोभन्दा माथिका विद्यार्थीलाई लेख्य भाषाको सहजीकरणमा परिचालन गर्नुपर्ने सुझाव दिइएको  छ । यस्तै यो एउटा रुपान्तरण र यसलाई संस्थागत गर्ने समय पनि हो भनेर उल्लेख गरिएको छ । यस्तै लेखकले प्रकृतिसँग हुने साक्षात्कार र पूर्ण सिकाइ तथा स्वास्थ्यलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गरिन्छ भन्ने उल्लेख गरेका छन् । लेखकले यो समय परिवेश अनुसारका सिकाइ र यसका विधि तथा अभिभावक र प्रौढबाट सिकाइ हुदा अझ पूर्ण सिकाइमा मद्धत पुग्छ भन्नेमा जोड दिएका छन् । 
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत जेठ १२ देखि  १८ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Education budget raised nearly 5 percent !

प्रतिक्रिया