Edukhabar
बुधबार, ०५ बैशाख २०८१
शिक्षामा यो साता

नतिजा अगावै कक्षा ११ को भर्ना !

आइतबार, २० असार २०७८
काठमाडौं - गत साता भरीका मुख्य समाचारमा कोभिड, मनसुनले निम्ताएको सङ्कट, राजनीति र स्थानीय सरकारको बजेटमा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका विषयहरु समावेश भएका थिए । शिक्षाका विषयहरूमा एसईईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ भर्ना खोलिएको र पाठ्यपुस्तकमा पुरानै नक्सा प्रयोग भएको विषयहरु मुख्य पृष्ठमा प्रकाशन भए । अन्य विषयमा मनाङ्गमा बाढीले विद्यालय क्षति भएपछि विद्यार्थीको भविष्य अनिश्चित भएको लगायतका रहेका थिए । 
 
समाचार अनुसार निजी विद्यालयहरूले एसईईको नतिजा प्रकाशन नहुदैँ कक्षा ११ को भर्ना शुरु गरेका छन् । विद्यालयहरुले आफ्नो विद्यालयको प्रचार प्रसार र प्रवर्धन गर्दै कक्षा ११ को भर्ना शुरु गरेका छन् जबकी गत वर्ष कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीको परीक्षा नै भएको छैन ।  
 
- अर्को एक समाचार अनुसार मनाङ्‌मा बाढीले विद्यालयमा क्षति पुर्‍याएपछि शिक्षक, विद्यार्थी र अभिभावक सङ्कटमा परेका छन् । चामे स्थित लोकप्रिय माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । मर्स्याङ्दी नदीले आफ्नो धार परिवर्तन गरी विद्यालय भवनतर्फको जमिन कटान गर्दै जाँदा जोखिम बढेको हो । यस्तै नासो गाउँपालिकाको तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय मर्स्याङ्दी नदीले बगाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखका अनुसार जिल्लामा एउटा विद्यालय मात्र सुरक्षित रहेको छ । जिल्लाका तीनओटा विद्यालयमा धेरै नै क्षति भएको छ र ती विद्यालयको पुर्ननिर्माण तत्कालै गर्न सकिने अवस्था पनि नभएको समाचारमा उल्लेख छ । 
 
- लिपुलेक, कालापानी र लिम्पियाधुराको पुरानै नक्सा प्रयोग भएको पाठ्यपुस्तक वितरण गरिएको समाचार प्रकाशन भएको छ । लिम्पियाधुरासमेतको नयाँ नक्सा गत वर्ष सरकारले सार्वजनिक गरेको थियो । तर सरकारी पाठ्यपुस्तकमै नयाँ नक्सा प्रयोग नगरीएको र विद्यार्थीलाई निशुल्क वितरण गरिएको समाचारमा उल्लेख छ । 
 
- निरन्तर प्रकाशित एक अन्तरर्राष्ट्रिय समाचार अनुसार क्यानडाको ससकेचेवान प्रदेशको एक आवासीय विद्यालय क्षेत्रमा एक आदिवासी समूहका पहिचान हुन नसकेका ७५१ जनाको चिहान फेला परेको छ । यो समाचारले केन्द्रिकृत शिक्षा प्रणालीले कसरी समुदायको सँस्कृति र आवश्यकतालाई ध्यान निदिई राज्यका प्राथमिकतामात्रलाई जोड दिइन्छ भन्नेतर्फ ङ्गित गरेको छ । हालको शिक्षा प्रणाली र संरचना पनि विविधताको विपक्षमा रहेको देखिन्छ । नेपालको सन्दर्भमा पनि भाषाको विषय योसँग सम्बन्धित हुन सक्छ । 
 
- यस्तै एक अर्को समाचार अनुसार कमलामाई नगरपालिका वार्ड न १३ मा रहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पायक पर्ने चार स्थानमा वैकल्पिक सिकाइ केन्द्र तोकेर शिक्षण सिकाइ सहजीकरण शुरु गरेको छ । विद्यालय नजिकैको क्लब भवन, सामुदायिक वन उपभोक्ता समूह र आमा समूहको भवनलाई सहजीकरणको केन्द्र तोकिएको छ । विद्यालयका प्रअका अनुसार रानीवास, रुचानी, मधाहा र वयरवन गरी चार ठाउँमा केन्द्र तोकिएको र ती स्थानमा दैनिक चार घण्टा भौतिक उपस्थितिमै शिक्षण सिकाइ सञ्चालन गरिने भएको छ । 
 
द हिमालयन टाइम्समा असार ११ गते प्रकाशित प्रतिनिध सभा विघठन्, इन्धनको मूल्य वृद्धि, चिकित्सा शिक्षाको भ्रष्टाचार लगायका विषषयमा विरोधका नारा लगाउँदै गरेको तस्वीर ।
 
- अन्य समाचारमा विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी सङ्गठनहरूले प्रतिनिधि सभा विघठन विरुद्ध गरेको प्रदर्शन र त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप दिन शुरु गरेको लगायतका रहेका छन् । 
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत असार ९ देखि १५ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Admission to grade 11 without SEE results ! 

प्रतिक्रिया