Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षक, कर्मचारीले पाउने भए कोभिड विरुद्धको खोप

सोमबार, २८ असार २०७८

काठमाडौं - शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकले मंगलबार देखि कोरोना भाईरस कोभिड १९ विरुद्धको खोप पाउने भएका छन् । मंगलबार देखि शुरु हुने खोप अभियानमा उनीहरुलाई प्राथमिकता दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनियाँ कम्पनीसँग गरिएको सम्झौता अनुसारको खोप आउने क्रम शुरु भएसँगै सोमबार बसेको मन्त्रालयको बैठकले मंगलबार देखि खोप अभियान शुरु गर्ने निर्णय गरेको हो । मंगलबार देखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएको छ । साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ ।

प्रवक्ता पौडेलका अनुसार मंगलबार देखि शुरु हुने खोप अभियानमा शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापक सँगै सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पहिलो मात्रा दिइने छ । यो अभियानमा खोप लगाउन बाँकी रहेका ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहका व्यक्तिले पनि खोप लगाउन सक्ने छन् । 

प्रतिक्रिया