Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

चार बर्ष पछि शिक्षा मन्त्रालयमा राज्यमन्त्री !

शुक्रबार, २२ असोज २०७८

काठमाडौं - चार बर्ष पछि शिक्षा मन्त्रालयमा राज्य मन्त्री नियुक्त गरिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादीका तर्फबाट समानुपातिक तर्फकी सांसद बोधमायाकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिईएको हो । 

सामान्यतया मन्त्री भएको मन्त्रालयमा राज्यमन्त्रीको खासै भुमिका हुँदैन । तर, सत्ताधारी दलका नेताहरुलाई व्यवस्थापन गर्नु पर्दा प्रधानमन्त्रीले राज्यमन्त्री नियुक्ति गर्ने अभ्यास देखिन्छ । यस पटक सत्ताधारी गठबन्धनका दलहरु बिचको भागवण्डा मिलाउन प्रधानमन्त्री देउवाले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यही क्रममा शिक्षा मन्त्रालयले पनि राज्य मन्त्री पाएको हो । 

यस अघि २०७४ सालमा देउवाकै पालामा नेपाली काँग्रेसका तर्फबाट चितवनका प्रत्यक्ष तर्फका सांसद शेषनाथ अधिकारीलाई शिक्षा राज्यमन्त्री बनाईएको थियो । त्यतिखेर गोपालमान श्रेष्ठ शिक्षा मन्त्री थिए । २०७३ साल साउनमा माओवादीका तर्फबाट शिक्षा मन्त्री बनेका स्व. धनिराम पौडेलको कार्यकालमा धनकुटाबाट समानुपातिक साँसद धनमाया विक खनाललाई शिक्षा राज्यमन्त्री बनाईएको थियो । त्यस अघि माओवादीबाटै शिक्षा मन्त्री भएका दिनानाथ शर्माको कार्यकालमा लिला भण्डारीलाई शिक्षा राज्यमन्त्री बनाईएको थियो । 

यसपटक शिक्षा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्दा माओवादीकै सांसद देवेन्द्र पौडेल मन्त्री बनेका छन् । शुक्रबार विस्तार भएको मन्त्रीमण्डलमा पौडेलसँगै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी पाएकी यादव माओवादी आन्दोलनका शहीद स्व.राम वृक्ष यादवकी छोरी हुन् । उनलाई माओवादीले शहीद परिवार र मधेसी समुदायको कोटाबाट छनौट गरेको हो । 

२०३१ साल कात्तिक २८ गते जन्मिएकी यादवका श्रीमान, दुई छोरा र एक छोरी छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । २०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । जिल्ला तहका विभिन्न पदमा रहेर राजनीति गरेकी उनी २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन् ।

यो पनि पढ्नुहोस्  : बल्ल लाग्यो मन्त्रीको टुङ्गो, पौडेल शिक्षा मन्त्री 

प्रतिक्रिया