Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

सिंहदरबारमा शिक्षा मन्त्री र राज्यमन्त्रीको पदभार, भक्तपुरमा विद्यार्थीको हैरानी

शुक्रबार, १० भदौ २०७३

काठमाडौं - शिक्षा मन्त्री डीआर पौडेल र राज्यमन्त्री धनमायाँ विकले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै गर्दा काम लिएर परीक्षा बोर्ड पुगेका विद्यार्थीले भने हैरानी पाएका छन् । मन्त्रीको पदभार ग्रहणमा सहभागि हुन भन्दै 'हाकिमहरु' सिंहदरवार र कर्मचारीहरु 'तिजको दर खाने' भन्दै कार्यालयमा नबसे पछि विद्यार्थी मारमा परेका हुन् ।

विहान साढे ११ बजे मन्त्रीको पदभार ग्रहणको खबर आएसंगै बोर्डका हाकिमहरु सिंहदरबार हानिएका थिए । त्यस लगत्तै कर्मचारीहरु पेप्सिकोलामा रहेको एक पार्टि प्यालेसमा आयोजित तिजको 'रमझममा' सहभागि हुन निस्केका थिए । 'तिज पार्टि' एमाले निकट कर्मचारी संगठनले आयोजना गरेको हो ।

कर्मचारी नभएर काम रोकिए पछि टाढा टाढाबाट आएका विद्यार्थी आक्रोसित भएका थिए । आक्रोशित विद्यार्थीलाई थाम थुप पार्न फाट्ट फुट्ट बाँकी रहेका कर्मचारीलाई हम्मे हम्मे परेको थियो । उनीहरुले शुक्रबार आधा दिन मात्रै काम हुने भन्दै विद्यार्थीको आक्रोस साम्य पारेका थिए ।

यसैविच, सत्ता साझेदारीको किचलोसंगै मन्त्रीमण्डल विस्तारमा भएको ढिलाईले मन्त्री भएको १३ औं दिनमा बल्ल पौडेल र विकको सिंहदरवार यात्रा तय भएको छ । काँग्रेसबाट मन्त्री हुनेहरुले सपथ खाएसँगै यतिञ्जेल विना विभागीय मन्त्री पौडेल र विना विभागीय राज्य मन्त्री विकलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीले औपचारिक निर्णय गरेका हुन् ।

शिक्षा दिवस आयोजना समितिको फाईल सदर गर्दै पदभार ग्रहण गरेका मन्त्री पौडेलले पूर्व मन्त्री द्धारा सार्वजनिक १८ बुँदेका आधारमा आफू अघि बढ्ने बताएका छन् ।

उनको यो भनाईले यसअघिको सरकारमा सहभागिहरु नयाँ सरकारमा जान नपाउने माओवादी केन्द्रको निर्णय संगै चर्चा भएर पनि मन्त्री बन्न नसकेका पूर्व मन्त्री गिरिराजमणि पोखरेलले पौडेल मार्फत आफ्ना बाँकी योजना पुरा गराउने छेक छन्द देखिएको छ । पदभार ग्रहणको दिनमै पूर्व मन्त्रीले सार्वजनिक गरेको १८ बुँदे रोडम्यापकै आधारमा अघि बढ्ने कुरा गर्नुले यसलाई पुष्टि गरेको छ ।

पोखरेल र पौडेल माओवादी केन्द्रमा एकता केन्द्र पृष्ठभूमिका नेता हुन् । स्याङ्जामा जन्मेका चितवन निवासी पौडेल समानुपातिक कोटाबाट सांसद भएका हुन् ।

यसैविच समानुपातिक कोटाकै साँसद विक धनकुटाकी हुन् । माओवादीकै दिनानाथ शर्मा मन्त्री भएका बेला राज्य मन्त्री लिला भण्डारी पछि शिक्षा मन्त्रालयमा यस पटक फेरी राज्य मन्त्रीको चयन भएको हो ।

फोटो : शिक्षा मन्त्रालय

प्रकाशित मिति २०७३ भदौ १० गते

प्रतिक्रिया