Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

परीक्षा बोर्डको अध्यक्षमा शर्मा

शुक्रबार, ०९ पुस २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा लामो समय शिक्षा मन्त्रालयमा कार्य गरेका पूर्व सचिव डा. महाश्रम शर्माको नियुक्ति भएको छ । अध्यक्ष चयन गर्न शिक्षा ऐनमा भएको व्यवस्था अनुसार लोकसेवा आयोगले आवश्यक प्रकृया पुरा गरेर शर्माको नियुक्तिका लागि मन्त्रीपरिषद्मा पठाएको थियो । मन्त्रीपषिद्को बिहीबारको बैठकले शर्माको नियुक्ति गरेको हो । 

२०१३ सालमा बाग्लुङ्मा जन्मेका शर्माले २०३३ सालमा विद्यालय शिक्षकका रुपमा कार्य शुरु गरेका थिए । २०४२ सालमा विद्यालय निरीक्षकबाट निजामती सेवा प्रवेश गरेका शर्मा ०५२ सालमा उपसचिव, ०६२ सालमा सहसचिव र ०७२ सालमा सचिव भएका थिए । सचिव भए लगत्तै साउन २३ गते निजामती सेवाबाट अवकास भएका उनी शिक्षा सेवामा रहँदा तत्कालिन शिक्षा विभागको दुई पटक महानिर्देशक, शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुख सहित शिक्षाका अन्य निकायहरुमा रहेर कार्य गरेका थिए । 

गत असोज २४ गते बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको पदावधि सकिएसँगै खाली भएको झण्डै साढे दुई महिना पछि बोर्डले नयाँ अध्यक्ष पाएको हो । २०७३ असार १५ गते शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन सँगै तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई बोर्डको व्यवस्था गरिएको थियो । 

बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन हालेका थिए । ति मध्ये पाँच जनालाई सर्ट लिष्ट गरेर बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र तथा चार वर्षे व्यवसायिक कार्ययोजना सहितको प्रस्तुती पछि आयोगले शर्माको नाम सिफारिस गरेको हो । बोर्ड अध्यक्षको नाम सिफारिस गर्न आयोगको अध्यक्षको संयोजकत्वमा गठित समितिले मंसिर ९ गते सम्म दिएको समय भित्र १५ जनाको आवेदन परेको थियो । 

आवेदन हाल्नेहरुमा शर्मा सहित बोर्डकै अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे र शिक्षा मन्त्रालयका पूर्व सहसचिव लक्ष्मीराम पौडेल थिए । यस्तै मकवानपुरका वीरवंश बैठा, पर्वतका सुदर्शन पौडेल, ललितपुरका कृष्णप्रसाद आचार्य, झापाका प्रा.डा. घनश्याम भट्टराई, अर्घाखाँचीका डा. बाबुराम खनाल, प्यूठानका जुद्धबहादुर पुन, रौतहटका डा. घनश्याम ठाकुरले पनि आवेदन हालेका थिए । यसैगरी काठमाडौंका प्रा.डा. शोभाखर कँडेल, दयामान कर्माचार्य, हरेराम शर्मा फुयाल, दुर्गा प्रसाद पाण्डे र प्रा.डा महानन्द चालिसेले पनि अध्यक्षका लागि आवेदन हालेका थिए । 

यसरी आवेदन हाल्नेहरु मध्ये कतिपय उम्मेद्वार योग्यता नै नपुग्नेहरु समेत रहेको भन्दै आलोचना भएको थियो । बोर्डको अध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, दरखास्त दिदाँका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा तथा परीक्षा सम्बन्धि क्षेत्रमा कम्तिमा बाह्र वर्षको अनुभव हासिल गरेको योग्यता ऐनमा निर्धारण गरिएको छ । उक्त योग्यतालाई छनौट समितिले थप स्पष्ट पार्दै कार्यविधि संशोधन गरेको थियो । खास गरी परीक्षा सम्बन्धि क्षेत्रमा कार्य गरेको अनुभवका बारेमा थप स्पष्ट पारिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष छनौट सम्बन्धि कार्यविधि – २०७८ मा शिक्षा र प्राध्यापन क्षेत्रमा १२ बर्षको अनुभव हासिल गरि सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तिमा तीन बर्ष सहितको अनुभवलाई जनाउने उल्लेख छ । 

बोर्डका तत्कालिन अध्यक्ष पौडेलको कार्यकाल सकिए पछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए । समिति गठन भएको १५ दिन पछि दरखास्त आह्वान गरिएको थियो । 
बोर्डको अध्यक्ष सिफारिस गर्न आयोगका अध्यक्षको संयोजकत्वमा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तिमा एक जना महिला सहित मन्त्रालयले मनोनयन गरेका दुई जना सदस्य रहेको समिति गठन हुने शिक्षा ऐनमा व्यवस्था छ । सोही अनुसार मन्त्री पौडेलले खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र सह प्राध्यापक मीना गुरुङ् सहितको सिफारिस समिति गठन गरेका थिए । 

नयाँ अध्यक्षको नियुक्ति सँगै माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापनको कामलाई फरक ढंगले सञ्चालन गर्नु पर्ने मुख्य कार्यभार छ ।  शिक्षा ऐनको आठौं संशोधनले गरेको कक्षा १२ सम्मलाई विद्यालय तह हुने व्यवस्था अनुसार कक्षा १० र ११, १२ को परीक्षा प्रणालीलाई बदल्न जरुरी छ । पुरानै शैलीमा परीक्षा सञ्चालन गरेको भन्दै बोर्डको कार्यक्षमता माथि नै उठ्दै आएको प्रश्नको उचित सम्बोधन गर्दै नयाँ नेतृत्वले कार्य गर्नु जरुरी छ ।  

प्रतिक्रिया