Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

विद्यालय बन्द गर्न सिफारिस, जारी परीक्षामा मापदण्ड पालना गर्नु पर्ने

आइतबार, २५ पुस २०७८

काठमाडौं - कोरोना भाइरस (कोभिड - १९) को नयाँ भेरियण्ट ओमिक्रोन संक्रमण बढ्दै गए पछि देशभरका विद्यालयहरुमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकले देश भरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन शिक्षा मन्त्रालय समक्ष सिफारिस गरेको हो । 

बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

यदी कुनै कलेजमा परीक्षा सञ्चालन भईरहेको भए स्वास्थ्य मापदण्ड पालना सहित सञ्चालन गर्न सकिने सिसिएमसिसीकी प्रवक्ता  सुनिता नेपालले जानकारी दिइन् । देशका अधिकाँश विद्यालयहरुमा यतिखेर हिउँदे विदा छ, विदालाई तन्काउँदा संक्रमणको चेन ब्रेक गर्न सघाउ पुग्ने ठहर सहित उक्त सिफारिस गरिएको उनले बताईन् ।  

बैठकले संक्रमण जोखिमलाई ध्यान दिदैं विभिन्न १३ वटा सिफारिस गरेको छ । जस अनुसार राजनीतिक दलहरूलाई ठूला भेला–कार्यक्रम नगर्न, २५ जना भन्दा धेरै भेला हुन नदिन, विभिन्न संघ–संस्थालाई महोत्सव लगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ । यस अघि नै निर्धारित कार्यक्रम भए  स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ । सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार आफ्नो जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन पनि भनेको छ ।  

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया