Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

पाठ योजनामा मेडलिन हण्टरको शैक्षिक उपागम

मंगलबार, ०४ माघ २०७८
मेडलिन चेक हण्टरको जन्म सन् १९१६ मा क्यानडामा भएको थियो । क्यानडामा जन्मिए पनि उनको अधिकाँश विद्यार्थी जीवन क्यालिफोर्नियामा बित्यो । सानो हुँदा मेडलिन पटक पटक विरामी परिरहन्थिन् । जसकारणले गर्दा क्यानडाको पीडादायी जाडोबाट बचाउन उनका परिवारले मेडिलिनलाई क्यानडाबाट क्यालिफोर्निया पुर्याएका थिए । जब उनी निम्न माध्यामिक तहमा पुगिन तव स्ट्यानफोर्ड युनिभर्सिटिका प्राध्यापक लुड्स टर्मोनले मेडलिन हण्टरको बुद्धिमत्ता परीक्षण गरे । त्यस परीक्षाको नतिजामा हण्टर विद्यालय भन्दा विद्यालय बाहिरका कार्यहरूमा उत्पे्ररित भएको पाइयो ।
 
विशेष गरि मानवको बृद्धिमत्ता, मनोविज्ञान, शिक्षक,  क्रिस्टियन खाना र विशेष गरि शास्त्रीय समूह नृत्यमा हण्टर उत्पे्ररित थिइन । हण्टरले १६ वर्षको उमेरमा लस एन्जल्समा चिकित्सा र मनोविज्ञानलाई  मुख्य विषय बनाएर अधि बढिन् तर उनले शास्त्रीय समूह नृत्य पनि छाडिनन् । पछि उनले आफ्नो अध्ययन दक्षिण अमेरिकामा गइ पूरा गरेर काममा लागिन् । तर उनलाई कक्षा सातमा पढ्दा प्रयोगात्मक कक्षामा राखिएको थियो । त्यही प्रयोगात्मक कक्षामा भएका अत्यन्तै कमजोर र श्रवण क्षमता नभएका विद्यार्थीलाई उनले बिर्सनै सिकिनन् ।
 
बालबालिकालाई कहिल्यै तल नपार सदैव माथि बढाऊ भन्ने भावनाले हण्टरलाई उत्पे्ररित गरिरह्यो । उनले आफू उपचारात्मक, भन्दा प्रतिकारात्मक सेवा गर्न लाग्नु पर्ने ठानेर लस एन्जल्सको बाल अस्पताल छोडिदिइन् । तत्पश्चात उनले लसएन्जल्सकै एक विद्यालयमा मनोवैज्ञानिक, प्रधानाध्यापक हुँदै अनुसन्धान निर्देशक र पछि उनी त्यस शहरमा चिन्ताले ग्रस्त भएका व्यक्तिहरूको समस्या समाधान गर्न सहायक निर्देशक भइन् जसबाट हण्टरलाई बहुसांस्कृतिक समुदायका व्यक्तिहरूसँग नजिक हुने र उनीहरूको समस्या बुझ्ने अवसर प्राप्त भयो । 
 
सन् १९६३ पछि हण्टर लस एन्जलसमा रहेका क्यालिफोर्निया विश्वविद्यालयमा प्रवेश गरिन् र पछि उनी त्यहाँको प्राध्यापक समेत भइन् । त्यसबेला उनले शिक्षणका लागि नयाँ शिक्षण नमुना तयार पारेकी थिइन् । त्यो नमुना लागू गर्ने मौका त्यसै कलेजको प्राफेसर जोन गुडलेटले प्रदान गरे । उनको शिक्षण नमुना अत्यन्त प्रभावकारी मानियो । विशेषगरि अमेरिकाका विद्यालयमा सन् १९७० देखि १९८० तिर गुणस्तरीय शिक्षण सीपको अभावमा व्यापक असन्तोष थियो । त्यसलाई हटाउन हण्टरको नमुनाले विशेष भूमिका निर्वाह ग¥यो । सन् १९८० मा मेडलिन हण्टरको नमुनालाई अमेरिकाको १६ वटा राज्यमा लागू गरिएको थियो । 
 
उनको नमुनामा शिक्षकले निर्णय लिन सक्ने, जुनसुकै शिक्षण कौशल पनि प्रयोग गर्न सक्ने, जस्तो उद्देश्यमा पनि हण्टरको नमुना प्रयोग हुने भएकाले उनको नमुना लोकप्रिय भयो । फलस्वरुप उनको नमुनालाई विश्वव्यापी रूपमा प्रयोग गर्न थालियो । एक शताब्दीमा अरुलाई प्रभाव पार्न सक्ने दश महिला मध्ये हण्टर एक बन्न पुगिन् । उनको मृत्यु  सन् १९९४ मा भयो । हण्टरका अनुसार “शिक्षण पनि समूह नृत्य र अपरेशन जस्तै हुन्छ ।” 
 
शिक्षण कार्य सम्पन्न गर्नका लागि हण्टरले अघि सारेको नमुनालाई प्रत्यक्ष शिक्षण नमुना (Direct Instruction Model) भनिन्छ । नेपालमा विशिष्ट उद्देश्य, शिक्षण सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन र गृहकार्यलाई मुख्य मान्ने पाठ योजना प्रचलनमा छ । हाल शिक्षणमा नवप्रवेश गर्नेहरुलाई एबीसी मोडलबारे तालिम प्रदान गरिन्छ यद्यपि यसको प्रभावकारिता अझ बढाउनु पर्ने छ । जुन हण्टरले प्रस्तुत गरेका पाठयोजनाका विभिन्न पक्षहरूसँग बढी सम्बन्धित छ जसलाई यहाँ चर्चा गरिएको छ ।
 
हण्टरको पाठयोजनाका पक्षहरु
 
१) उद्देश्यहरू (Objectives)
 
२) शिक्षणको स्तर (Standards of Teaching)
 
३) पूर्व तयारी (Anticipatory Set)
 
४) शिक्षण/प्रस्तुतिकरण (Teaching/Presentation)
 
क) लगानी  (Input)
 
ख) विधि/शैली  (Modelling)
 
ग) बुझाइको लागि जाँच (Check for understanding)
 
५) निर्देशित अभ्यास (Guided practice/Monitoring)
 
६) अन्त्य (Closure)
 
७) स्वतन्त्र अभ्यास (Independent practice)
 
१. उद्देश्यहरू 
 
मेडलिन हण्टरको भनाइमा जब शिक्षकले शिक्षणका लागि पाठको तयारी गरिरहेको हुन्छ । त्यतिबेला ऊ पाठका उद्देश्यहरू के के भनी स्पष्ट हुनुपर्दछ । कुन कुरालाई विद्यार्थीले बुझ्न सक्छन् ? औपचािरक अनौपचारिक कुन ढंगबाट शिक्षण गर्दा उद्देश्यहरू पूरा हुन्छ आदिका बारेमा शिक्षकले उद्देश्य बनाउँदा नै निर्णय लिनुपर्ने हुन्छ । उद्देश्यहरू बनाउँदा बेन्जामिन एस. व्लुमले सन् १९५६ मा प्रकाशमा ल्याएका शैक्षणिक उद्देश्यहरूलाई प्रयोग गर्नुपर्ने कुरालाई हण्टरले पनि उल्लेख गरेकी हुन् र पाठ योजना बनाउँदा उद्देश्यलाई छोड्न नहुने तर्क हण्टरको छ ।
 
२) स्तर 
 
विद्यार्थी नयाँ ज्ञान सीप र धारणाका लागि प्रयत्नशील हुन्छन् तर विद्याथीलाई पढाइने पाठको स्तर कस्तो छ ? यसमा विषयवस्तुको क्रम कस्तो छ ? कुन स्तरमा विषयवस्तुलाई पढाइनु पर्छ ? विद्यार्थीको रुचि, चाहना के हुन सक्छ ? कस्ता ज्ञान, सीपहरू प्रदर्शन गर्दा विद्यार्थीको लागि उपयोगी हुन्छ आदि पक्षलाई ख्याल गरेर मात्र पाठयोजना वा शिक्षण योजना तयार पार्नु पर्छ । विद्यार्थीले बुझ्नै नसक्ने वा नचाहने कुरा सिकाउनु कुनै अर्थ रहदैन । स्तर निर्धारण गर्दा मुख्यतया पाठको प्रस्तुतीकरण, पाठ शिक्षणका प्रक्रियाहरू र विद्यार्थी एवम् समाजका अपेक्षालाई ध्यान दिइन्छ ।
 
३) पूर्व तयारी
 
विद्यार्थीको ध्यानाकर्षण गर्ने वा विद्यार्थीलाई उत्पे्ररित गर्ने अंकुसका रूपमा पूर्व तयारीलाई लिइन्छ । उद्देश्य अनुरुपका शिक्षण कार्य र अनुभवहरू समावेश गराउँदा पाठ प्रति विद्यार्थीलाई सतर्क गराउन जोड दिने, शिक्षणका लागि सङ्गठित प्रारुप तयार पार्ने र नयाँ आधारमा अमूर्त विचार एवम् प्रयोगलाई कसरी बुझाउने भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।
 
४) शिक्षण/प्रस्तुतिकरण
 
शिक्षकले कक्षा कोठा वा कक्षा कोठा बाहिर शिक्षण गर्दा अपनाउनु पर्ने रणनीति, प्रयोग गर्नु पर्ने सामग्री तथा साधनहरू आदिका बारेमा शिक्षण वा प्रस्तुतिकरणमा समावेश गरिएको छ । यस भित्र लगानी, विधि र बुझाइको जाँच हुनु आवश्यक छ । लगानी अन्तर्गत शिक्षकले उद्देश्य अनुरुप, विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान, सीप, अवधारणा विभिन्न शैक्षणिक विधिहरूको प्रयोग जस्ता कुराहरु पर्दछन् । प्रवचन, चलचित्र, टेप, भिडियो, तस्विर जस्ता विधिहरूको प्रयोग गरि विद्यार्थीलाई शिक्षकले जानकारी प्रदान गर्ने कार्य नै लगानी हो ।  विधि/शैली भन्नाले विद्यार्थीले जुन विषयको ज्ञान, धारणा, सीप निमार्ण गर्न चाहेका छन् त्यसको लागि शिक्षकले विभिन्न शैली अबलम्बन गर्नुपर्ने हुन्छ जस्तै शिक्षण सामग्रीको प्रयोग (मुद्रित, दृव्य र श्रव्य) गर्ने, उदाहरणहरू बताउने, जटिल पक्षहरूलाई तुलना गरेर हुन्छ कि ? समूहमा विभाजन गरेर हुन्छ वा अन्य कुन उपायले विद्यार्थीलाई बुझाउन सकिन्छ भनी शिक्षकले गर्ने प्रत्यत्न नै शैली वा विधि हो यसमा शिक्षण सामग्री प्रयोग, विषयवस्तुसँग सम्बन्धित घटना, उदाहरण आदि प्रस्तुत गरिन्छ र विद्यार्थीलाई अध्ययन गरेको विषयवस्तुका आधारमा समस्या समाधान गर्न, तुलना गर्न, संक्षेपीकरण आदिका लागि सक्षम बनाइन्छ । 
 
बुझाइको लागि जाँच भन्नाले पाठयोजनामा तोकिएको  उद्देश्य  पूरा गर्न नसकेमा शिक्षकले कक्षा सञ्चालन गरेको खासै अर्थ नरहन सक्छ तसर्थ पाठयोजनाका उद्देश्य पूरा गर्न वा विद्यार्थीलाई विषयवस्तुमा प्रष्ट पार्न सकियो या सकिएन भनी विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ । यसलाई नै बुझाइको जाँच भनिन्छ । खासगरी विद्यार्थीले विषयवस्तु प्रतिको अवधारणा बुझे या बुझेका छैनन् भनी शिक्षण गरिरहेकै बेलामा गरिने मूल्याङ्गन नै बुझाइको जाँच हो । 
 
५) निर्देशित अभ्यास
 
शिक्षकको प्रत्यक्ष निगरानीमा अभ्यास वा क्रियाकलापका माध्यमबाट अध्ययन गरिएको नयाँ ज्ञान प्रर्दशन गर्नु नै निर्देशित अभ्यास हो । यसमा शिक्षकको प्रत्येक विद्यार्थीमा सुपरिपेक्षण हुनु जरुरी छ । यसका लागि शिक्षकले कक्षाका सबै विद्यार्थीमा निगरानीको पहुँच पुर्याइ उनीहरूको दक्षताको तह निर्धारण गर्नुपर्ने हुुन्छ ।
 
६) अन्त्य
 
शिक्षकले विषयवस्तुको उपयुक्त निष्कर्ष प्रदान गर्नु नै अन्त्य हो । यसलाई दक्ष शिक्षण क्रियाकलापको रूपमा नलिई अध्ययापन गरिएको विषयवस्तुलाई एकत्रित गरि विद्यार्थीलाई निचोड वा निष्कर्ष प्रदान गर्नु भन्ने अर्थमा लिनु पर्दछ । विद्यार्थीले सिकेको नयाँ ज्ञानलाई मस्तिष्कमा कुन रूपमा राख्नु पर्छ भनी दिइने विषय नै निष्कर्ष र अन्त्य हो । जसमा पाठका महत्वपूर्ण पक्षहरूको बूँदा प्रदान गर्ने, विद्यार्थीले सिकेका अनुभव संगठित गर्न सहयोग गर्ने, विद्यार्थीमा रहेको अन्तरनिहित र अस्पष्ट तस्विर तथा विषयवस्तु प्रतिको दोधार वा चिन्ता हटाउन सहयोग गर्ने, मुख्य बुँदाहरू बुझ्न प्रेरणा प्रदान गर्ने, विषयवस्तु सिक्नका लागि संजाल तयार पारिदिने लगायत सजिलोको लागि उनीहरूलाई सुत्र बनाउने  र सम्झने तरिका सिकाउने जस्ता कुराहरु पर्दछन् ।
 
जस्तै विश्व सम्पदा सुचिमा सुचीकृत नेपालका सम्पदाहरु अध्यापन पछि अन्त्यमा ती सम्पदाको नाम सम्झन भचालु पास स्वचि बौहप (भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, लुम्बिनी, पाटन दरबार स्क्यायर, सगरमाथा राष्ट्रिय निकुञ्ज, स्वयम्भुनाथ स्तुपा, चितवन राष्ट्रिय निकुञ्ज, बौद्धनाथ स्तुपा, हनुमान ढोका दरबार स्क्वायर, पशुपतीनाथ) भन्ने सुत्र बताउन सकिन्छ ।
 
७) स्वतन्त्र अभ्यास
 
कक्षा समाप्त हुँदा अध्ययन गरिएको विषयवस्तुमा सबै विद्यार्थीले दक्षता प्राप्त गर्न सक्छन् भन्ने अपेक्षा पाठ्यक्रम, विद्यालय, शिक्षक, अभिभावक एवम् समाजको पनि हुन्छ र स्वयं विद्यार्थी पनि यही चाहन्छन् । त्यसका लागि विद्यार्थीलाई विषयवस्तुको अन्त्य गरिसके पछि कक्षा अन्त्य नगर्दै उनीहरूका लागि समूह कार्य गृहकार्य वा कक्षा कार्य प्रदान गर्नुपर्ने हुन्छ यसैलाई नै मेडलिन हण्टरले स्वतन्त्र अभ्यास भनेकी छन् । स्वतन्त्र अभ्यासबाट विद्यार्थीले विषयवस्तुको ज्ञान, स्पष्ट बुझे नबुझेको जानकारी प्रदान गर्ने मात्र नभएर उनीहरूलाई विषयवस्तु सम्झन, विषयवस्तुको  गहिराइसम्म पुग्न र सिकाइलाई निरन्तर अधि  बढाउन मद्दत गर्दछ ।
 
निष्कर्षमा के भन्न सकिन्छ भने मेडलिन हण्टरको पाठयोजनको नमुना अन्य मुलुकमा व्यापक प्रयोगमा आइसकेको र विद्यालय तथा उच्च शिक्षामा यो मोडल बढि प्रभावकारी भएकाले हण्टरको नमुनालाई नेपाल सरकारले विद्यालय तथा विश्वविद्यालय शिक्षामा लागु गरेमा प्रतिफल राम्रो देखिने थियो ।
 
ढुंगाना केरवानी माध्यमिक विद्यालय, रुपन्देहीका शिक्षक हुन् । 

प्रतिक्रिया