Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

माघ ९ गतेदेखिका परीक्षाहरु स्थगित

विहीबार, ०६ माघ २०७८

काठमाडौं - बढ्दो कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार र शनिबारका लागि यस अघि नै तय गरिएका प्रवेश परीक्षा भने यथावत रहने छन् । शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा निर्धारण गरिएको छ । 

विश्वविद्यालय अन्र्तगत तीन वर्षे एलएलबीको तेस्रो वर्षको परीक्षा माघ १० पहिलो बर्षको परीक्षा १३ गतेदेखि हुने तय गरिएको थियो । 

बैठक पछि कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियण्टको  तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ 

यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयका जारी परीक्षाहरुमा स्वास्थ्य सावधानी अपनाईएको / नअपनाईएको बारेमा अनुगमन गर्न निर्देशन दिएका थिए । मुख्यसचिव शंकरदास बैरागी मार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९ विरुद्धका मापदण्ड पालना भए/नभएको अनुगमन गर्न उनले निर्देशन गरेका थिए । मापदण्ड पालना नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई उनले निर्देशन गरेका थिए । 

यसैबिच कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले पनि लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया