Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

यस बर्षको एसईई भौतिक रुपमै, परीक्षा वैशाख ९ गते देखि

बुधबार, २६ माघ २०७८

भक्तपुर - कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा यस बर्ष भौतिक रुपमै गरिने भएको छ । आगामी बैशाख नौ गते देखि परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको हो । परीक्षा बैशाख २० गते सकिने गरी तालिका तयार पारेको बोर्ड श्रोतले जनाएको छ ।

विद्यालय तहको संरचनामा भएको परिवर्तन पश्चात पनि साविककै शैलीमा कक्षा १० को परीक्षा गर्नुको औचित्य नभएको शिक्षाकर्मीहरुले बताउँदै आएका छन् । परीक्षा सञ्चालनको विधिका बारेमा जारी आलोचना यस पटक पनि बोर्डले सम्बोधन गरेन । 

केही दिन अघि बसेको बोर्ड बैठकले केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उक्त श्रोतले जनाएको छ । यसरी केन्द्र कायम गर्दा विद्यार्थीलाई डेरा बस्नु नपर्ने गरी कायम गर्न र कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिसँग परामर्श गरेर आवश्यक निर्णय गर्न बोर्डले अध्यक्ष डा. महाश्रम शर्मालाई जिम्मा दिएको थियो । 

सोही अनुसार बोर्डले परीक्षा तालिका निर्माण गरेको हो । तर शर्माले भने परीक्षा बारेमा भएको निर्णय सार्वजनिक गर्न मानेनन् । 

'बिहीबार गोरखापत्रमा औपचारिक सूचना सार्वजनिक गर्छौ' उनले भने । 

कोरोना भाईरस कोभिड १९ का कारण गत दुई वर्ष विद्यालयले नै गरेको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको थियो । यस वर्ष एसईई परीक्षामा पाँच लाख ८ हजार विद्यार्थी सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ । सामान्य अवस्था हुन्थ्यो भने यो परीक्षा नियमित तालिका अनुसार चैतमा हुने गर्दथ्यो । तर कोभिड महामारीका कारण परीक्षा समय धकेलिएको हो । 

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका

एसईई नतिजा : परीक्षा बोर्डको 'मनमौजि कृत्य'

 

प्रतिक्रिया