Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

चालु शैक्षिक सत्र १० महिने, आगामी शैक्षिक सत्र जेठबाट

विहीबार, ०५ फागुन २०७८

काठमाडौं - विद्यालय तहको चालु शैक्षिक सत्र १० महिना कायम गर्दै सरकारले आगामी शैक्षिक सत्र जेठबाट शुरु गर्ने निर्णय गरेको छ । कक्षा बढोत्तरीका लागि लिईने सबै कक्षाका परीक्षा र नतिजा प्रकाशनका काम बैशाख भरमा सक्ने र जेठ बाट नयाँ शैक्षिक सत्र कायम गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । 

सामान्य अवस्थामा नयाँ शैक्षिक सत्र बैशाखबाट शुरु हुन्थ्यो । तर, कोरोना भाईरस कोभिड १९ का कारण चालु शैक्षिक सत्र गत असारबाट शुरु भएको थियो । कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण यो शैक्षिक सत्रमा पनि गत माघ महिना भर फेरी विद्यालयहरुको प्रत्यक्ष पठन पाठन बन्द गरिएको थियो । 

चालु शैक्षिक सत्रको पठनपाठन र आगामी शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्ना एवं पठन पाठन सम्बन्धमा गत मंगलबार मन्त्रालयले गरेको निर्णय अनुसार यो बर्ष चैत मसान्त सम्म नियमित पठन पाठन हुने छ । कक्षा १० सम्मका सबै परीक्षा बैशाखमा मात्र गर्नु पर्ने छ । कक्षा १० का अन्तिममा लिईने एसईई परीक्षा बैशाख ९ गते देखि सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यस अघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । 
स्थानीय तहले लिने कक्षा ८ बो परीक्षा पनि २०७९ बैशाखको अनुकुल समयमा गर्ने गरी निर्णय भएको छ । २०७९ चैत मसान्त भित्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवं परीक्षा र मूल्याँकनका कार्यहरु सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा बार्षिक शैक्षिक कार्यतालिका तय गर्नु पर्ने छ ।

विद्यालयहरुले पठन पाठन गर्दा कोभिड १९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको गत माघ २३ गतेको सिफारिस अनुसार गर्ने व्यवस्था मिलाउन भनिएको छ । शैक्षिक सत्र सम्बन्धि सबै कार्यहरु जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइले आवश्यक समन्वय र सहजिकरण गर्ने गरी कार्य गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सम्बन्धित निकायहरुमा परिपत्र गरेको छ । 

प्रतिक्रिया