Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

जनशक्ति विकास कार्ययोजना : शिक्षा मन्त्रालयद्वारा तीन कार्यदल गठन

विहीबार, ०५ फागुन २०७८

काठमाडौं - एक महिना भित्र मुलुकको जनशक्तिको एकिकृत भावी नीति, योजना तथा जनशक्ति विकास कार्ययोजना निर्धारणको प्रतिवेदन तयार गर्ने गरी शिक्षा मन्त्रालयले छुट्टा छुट्टै तीन कार्यदल गठन गरेको छ । विद्यालय तह, प्राविधिक तथा व्यवसायिक र उच्च शिक्षा गरी तिन वर्गमा छुट्याएर कार्ययोजना बनाउन ती कार्यदल गठन गरिएका हुन् । 

गत साउन २७ गते मन्त्रालयद्वारा गठित कार्यदलले राष्ट्रिय जनशक्ति मानव संसाधन विकास अध्ययन प्रतिवेदन २०७८ को प्रारम्भिक मस्यौदा तयार पारी शिक्षा मन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरेपछि उक्त कार्यदल गठन गर्ने निर्णय भएको हो । मंगलबार मन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले ती कार्यदल गठन गर्ने निर्णय गरेको हो । 

विद्यालय तहको शिक्षाको मानवपूँजी विकासका हकमा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षाको हकमा मन्त्रालयको सोही महाशाखाको संयोजकत्व र उच्च शिक्षाका हकमा मन्त्रालयको उच्च शिक्षा महाशाखाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । विद्यालय तहको लागि शिक्षा तथा मानव श्रोत विकास केन्द सहितका सरकारी निकाय, गैह्र सरकारी तथा निजी क्षेत्रको सहभागितामा कार्ययोजना बनाउने भएको छ । यस्तै प्राविधिक तर्फ प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सहित सरकारी, गैह्र सरकारी तथा निजी क्षेत्रको सहभागितामा र उच्च शिक्षाका लागि साधारण शिक्षा, अनुसन्धान तथा सबै विषय क्षेत्रका जनशक्तिको विषयमा विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयको प्रतिनिधित्व सहित सरकारी, गैह्र सरकारी तथा निजी क्षेत्रको सहभागितामा कार्ययोजना बनाउने भएको छ । 

उक्त कार्य अघि आवश्यकता अनुसार गोष्ठि छलफल आयोजना गर्ने पनि निर्णय भएको छ । उक्त कार्यका लागि मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले सचिवालयको रुपमा कार्य गर्ने छ । तीनै कार्यदलको समन्वय गर्ने र प्राप्त प्रतिवेदनलाई अन्तिम रुप दिएर मुलुकको जनशक्तिको एकिकृत भावी नीति, योजना तथा जनशक्ति विकास कार्ययोजना निर्धारणको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने छ । 

 

प्रतिक्रिया