Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

दुई दिन बिदा : शैक्षिक क्षेत्रको मोडालिटिबारे निर्णय

बुधबार, २८ बैशाख २०७९

काठमाडौं - जेठबाट साताको दुई दिन बिदा दिने सरकारी निर्णयको दुई साता पछि बल्ल शिक्षा मन्त्रालयले शैक्षिक क्षेत्रमा हुने बिदाको मोडालिटिबारे निर्णय गरेको छ । विद्यालयका हकमा सम्बन्धित पालिकाले, विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोग र प्राविधिक शिक्षाका बारेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिले आवश्यकता अनुसार बिदाको व्यवस्थापन गर्ने निर्णय गरेको  मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

मंगलबार* भएको निर्णय अनुसार विद्यालय समयलाई भने साविककै जस्तो विहान १० देखि दिउँसो ४ बजे सम्म कायम गरिएको छ । साताको एक दिन थप बिदा दिदाँ हुने सिकाइ क्षतीलाई कम गर्न हिउँदे, वर्षे र स्थानीय विदाबाट कटौती गरी बर्षभरीमा अधिकतम ३० दिन सम्म बिदा दिन सकिने छ । अहिले विद्यालयमा हिउँदे र वर्षे गरी ४५ दिन, स्थानीय बिदा र दशैं विदा गरी सामान्यतया बर्षको ५५ दिन जती बिदा हुन्छ । उक्त बिदालाई समय र अवस्था हेरेर सम्बन्धित पालिका तथा आयोग र सिटिईभिटिले व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए । आईतबार बिदा दिदाँ बर्ष भरीमा ४२ दिन हुने र शुक्रबार पुरा दिन तथा दिदैं आएका बिदाबाट २०/२१ दिन घटाउँदा सिकाइमा क्षती नहुने देखिए पछि उक्त निर्णय भएको शर्माले बताए । मुख्य कुरा पाठ्यभार पुरा गर्ने गरी मोडालिटि तय भएको उनको भनाई छ ।   

'बर्षे बिदा भनेर असारबाट शुरु गरिन्छ तर साउनमा धेरै पानी परेर समस्या हुन्छ, हिउँदे बिदाको अवधि सकिए पछि तराई मधेसमा सीतलहरले हैरान पारेको पनि भोगिएको छ, उच्च पहाडी भेगमा हिउँले यस्तै समस्या हुन्छ' उनले भने 'त्यसैले यस्ता बिदालाई स्थानीय अवस्था र आवश्यकता अनुसार पालिकाले नै व्यवस्थापन गर्ने गरी निर्णय गरिएको हो ।' 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिका कारण नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटलाई व्यवस्थापन गर्न सरकारले दुई दिन बिदाको निर्णय गरेको थियो । दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने सरकारको अपेक्षा छ । दुई साता अघि भएको निर्णय शिक्षा क्षेत्रमा कसरी कार्यान्वयन हुन्छ भन्ने यकिन भएको थिएन । निर्णय सँगै उक्त अन्योल हटेको छ । 

मंगलबार भएको मन्त्री स्तरीय निर्णलाई बुधबार शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । उक्त परिपत्रको बोधार्थ सबै पालिका र विद्यालयहरुलाई दिईएको छ । 
हेर्नुहोस् परिपत्र  :

हाललाई परीक्षणको रूपमा जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने सरकारले निर्णय गरेको थियो । 
सातामा दुई दिन सार्वजनिक बिदाको अभ्यास यस अघि पनि नेपालमा प्रचलनमा थियो । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालबाट उक्त बिदाको प्रचलन हटाएका थिए ।

* सच्याईएको 

प्रतिक्रिया