Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

दलमा आवद्ध शिक्षकलाई राजिनामा दिन एक साताको अल्टिमेटम

बुधबार, ११ जेठ २०७९

बर्दिया - नयाँ जनप्रतिनिधि निर्वाचित हुनासाथ राजापुर नगरपालिकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक विद्यालयमा कार्यरत राजनीतिक दलमा आवद्ध शिक्षकलाई एक साता भित्र दलको जिम्मेवारीबाट राजिनामा दिन निर्देशन दिएको छ । उक्त निर्देशन कार्यान्वयन गरी सात दिन भित्र विवरण पेश गर्न पालिकाले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।  

नवनिर्वाचित मेयर दिपेश थारुद्वारा हस्ताक्षर गरिएको निर्देशनमा शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ ङ को उपदफा ५ को छ मा भएको व्यवस्था स्मरण गराईएको छ । उक्त उपदफामा सामुदायिक विद्यालयका शिक्षक कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाईएमा पदबाट हटाईने व्यवस्था छ । 

'विभिन्न राजनैतिक दलमा संलग्न रहि सक्रिय रुपमा राजनैतिक दलको कार्यकारिणी पदमा रहि विद्यालयको पठनपाठनमा प्रभावित हुने गरि आचरण बिपरित कार्य गर्ने यस राजापुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाइ उल्लेखित पदबाट राजिनामा दिन लगाइ सोको विवरण सात दिन भित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ' उक्त पत्रमा उल्लेख छ । 

सामुदायिक विद्यालयका अधिकाँश शिक्षक राजनीतिक दलका कार्यकर्ता भएकाले उनीहरु कक्षा कोठा भन्दा दलका कार्यक्रममा व्यस्त भएपछि सार्वजनिक विद्यालयको पठन पाठन र गुणस्तर खस्केको भन्दै आलोचना हुँदै आएको छ । नयाँ संविधानसँगै माध्यमिक तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भए पनि दलमा आवद्ध शिक्षकका संघ संगठनले पालिका मातहत नबस्ने भन्दै विरोध गर्दै आएका छन् । 

बालबालिकाको पठनपाठनमा संलग्न हुनु पर्ने शिक्षक राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै मेयर थारुले उक्त निर्देशन गरेका हुन् । यस अघि प्रदेश सांसद रहेका थारु नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् । गत बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका दीपक जंग शाहलाई ४७ मतले पराजित गर्दै थारु मेयर बनेका हुन् । उनले ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।  

प्रतिक्रिया