Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

कक्षा १० को नतिजा सार्वजनिक, सरकारी असक्षमताको निरन्तरता

बुधबार, ११ साउन २०७९

भक्तपुर - सरकारी असक्षमताको निरन्तरता सहित कक्षा १० को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । शिक्षाको मात्रै हैन देशकै संरचना बदलिएको आधा दशक बित्दा समेत साविककै एसएलसी कालिन धंङधंङी सहित कक्षा १० को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रमले यो बर्ष पनि निरन्तरता पाएको छ । 

२०७२ सालमा बनेको नयाँ संविधानले देशकै संरचना बदल्यो । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गर्यो । तर, आधा दशक बित्दा समेत आवश्यक संरचना र प्रणाली विकास गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड जस्ता निकाय असक्षम देखिएका छन् । ती निकायका जिम्मेवार प्रतिनिधि र अधिकारीहरुमा परिवर्तन स्विकार गर्ने जिम्मेवारी बोध नहुँदा कक्षा १० को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गर्ने शैली उस्तै कायम राखिएको भन्दै विज्ञहरुले आलोचना गर्दै आएका छन् । यसका पछाडी परीक्षाका नाममा सरकारी कोषबाट हुने आर्थिक गतिविधि र दश जोड दुई सञ्चालन गर्ने निजी विद्यालयका सञ्चालकहरुको व्यापार मोहले काम गरेको भन्दै आलोचना हुँदै आएको छ ।  

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना बदलेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ । विद्यालयको अन्तिम परीक्षा कक्षा १२ मा हुने ब्यवस्था गरेको छ । संविधान सभा मार्फत् बनेको संविधानले देशको संरचना संगै संविधान अनुकुल ऐन नियम निर्माण गर्न भनेको छ । संविधानले नै माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेको छ । तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिएको छ । तर सरकारी निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा पुरानै शैलीले निरन्तरता पाएको हो । 

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा गर्ने गरी २३ बर्ष अघि नै तत्कालीन नेकपा एमालेबाट शिक्षा मन्त्री बनेका देवी प्रसाद ओझाको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगले समेत सिफारिस गरेको थियो । उक्त सिफारिसमा एसएलसी परीक्षा क्रमशः क्षेत्रीय तहमा गर्न सुझाव दिईएको थियो । 

कालान्तरमा भएको शिक्षा ऐनको आठौं सँशोधन र नयाँ संविधानले समेत परीक्षाका बारेमा नयाँ व्यवस्था गर्दा समेत सरकारी संयन्त्र कार्यान्वनयमा गम्भिर नदेखिनु विडम्वना हो । 

कोभिड महामारीका कारण विगत दुई बर्ष अर्थात् शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । कोभिडको असहजतामा परीक्षालाई संविधान र ऐनले गरेको व्यवस्था बमोजिम सञ्चालन गर्न बोर्डका अघिल्तिर मौका आएको थियो । 

पढ्नुहोस् : शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका

तर तदनुरुप संरचना निर्माण गर्न शिक्षा मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व सहित बोर्डका अधिकारीहरु ईच्छुक नहुँदा यस बर्ष फेरी उही शैलीले परीक्षा लिईएको थियो । गत वैशाख ९ गतेदेखि २० गतेसम्म देशभरमा २७ सय परीक्षा केन्द्र कायम गरेर बोर्डले भौतिक रुपमै परीक्षा सञ्चालन गरेको थियो । तर नतिजा सार्वजनिक भने उस्तै शैलीमा गएिको छ । यस बर्ष ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी एसईई परीक्षार्थीमा सहभागी हुन फारम भरेका थिए । मंगलबार सार्वजनिक नतिजा अनुसार परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । 

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको बोर्डले जनाएको छ । 

नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइट तथा एसमएमएस र आईभीआरबाट थाहा पाउन सकिने बोर्डले जनाएको छ । 

प्रतिक्रिया