Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

शिक्षक, कर्मचारी दलगत चुनावी प्रचारमा संलग्न हुन पाईंदैन : आयोग

बुधबार, २६ असोज २०७९

काठमाडौं - चुनावका बेला शिक्षकले पालना गर्नु पर्ने आचरण स्मरण गराउँदै निर्वाचन आयोगले अन्यथा गरेमा कारवाहि गर्ने भन्दै सचेत गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक लगायत सरकारी कर्मचारी तथा अन्र्तगतका निकाय र संस्थाका कर्मचारीलाई सचेत गराएका हुन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि जारी निर्वाचन आचार संहितामा उल्लेखित पेशा र पदमा रहेकाहरुले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था उल्लेख छ । तर, आयोगले गरेको अनुगमनमा उक्त आचार संहिताको प्रतिकुल हुने गरी विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरु दल र उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाईएको आयोगले जनाएको छ । 

यसरी प्रचार प्रसारमा संलग्नहरुले उम्मेद्वारसँग तस्विर खिचि बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेद्वारहरुका प्रचार सामग्रीको शेयर र लाईक गर्ने गरेको फेला परेको आयोगले जनाएको छ । आचार संहितामा उल्लेख व्यवस्था उल्लंघन गरेको पाईएमा स्पष्टिकरण सोधि आवश्यक कारवाही प्रकृया अघि बढाउने आयोगले जनाएको छ । 

प्रतिक्रिया