Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा र खेलकुद सँगसँगै

बुधबार, ०२ कार्तिक २०७९

भक्तपुर - भक्तपुरका विद्यालयहरुमा अध्यापनरत शिक्षकलाई खेलकुद तालिमको दिइएको छ ।

शिक्षा क्षेत्रमा ‘अब्बल काम गरिरहेको’ भक्तपुरका चार नगरपालिका मध्ये भक्तपुर नगरपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनका लागि नगरपालिकाका विद्यालयहरुमा पढाइ रहेका शिक्षकहरुलाई खेलकुदको तालिम दिएको हो । त्यसका लागि नगरपालिकाले विभिन्न खेलमा ख्याति प्राप्त खेलाडी र प्रशिक्षकहरु व्यवस्था गरेको छ ।

तिनै ख्याति कमाएका खेलाडीहरुले शिक्षकहरुलाई विभिन्न खेलको प्रशिक्षण दिएका छन् ।

नगरपालिकाले नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई पिटी, एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी र खोखो खेल सम्बन्धी तालिम सुरु गरेको छ ।

सो तालिमलाई नगरपालिकाले ‘प्रशिक्षक प्रशिक्षण’को नाम दिएको छ । ‘खेलाडी उत्पादन गर्ने प्रारम्भिक थलो नै विद्यालय हो । विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा सहयोग गर्नका लागि शिक्षकहरुलाई तालिम दिएको हो’, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भने ।

पाठ्यपुस्तकमा समावेश भएका खेलहरुलाई शिक्षक मार्फत् विद्यार्थीलाई सिकाउनका लागि सो तालिम गरिएको उनले बताए ।

तालिममा भक्तपुर नगरका ९३ विद्यालय मध्ये ४३ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।

विद्यालयस्तरबाट प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउँदै संयोजक खत्रीले खेलकुदको पूर्ण जानकारीले पठनपाठन पनि पूर्ण हुने जनाए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकको सर्वाङ्गीण विकास र नयाँ पुस्तालाई विकृति र बिसंगतिबाट जोगाउन खेलकुदको महत्व भएकाले तालिम सञ्चालन गरिएको बताए ।

शिक्षकहरु सबै क्षेत्रमा अरुको तुलनामा योग्य र सबल हुनुपर्ने बताउँदै प्रजापतिले राम्रा र योग्य शिक्षकले इमान्दार र असल विद्यार्थी उत्पादन गर्ने हुँदा विद्यालयस्तरबाट विद्यार्थीलाई सबल बनाउन आवश्यक भएकोमा जोड दिए । खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउन शिक्षहरुले आवश्यक भूमिका खेल्ने भएकाले तालिम आयोजना गरिएको उनको भनाइ छ । 

तालिममा सहभागी शिक्षकहलाई प्रशिक्षक शान्ताबहादुर श्रेष्ठ, भलिबल खेलका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, सुनिता अवाल र रञ्जना त्वातीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया