Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

८० प्रतिशत विद्यालयमा मतदान स्थल, बिदा गर्न पत्राचार

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं  - आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा ८० प्रतिशत विद्यालयहरु मतदान स्थलका रुपमा तोकिएका छन् ।  मतदान स्थल तोकिएका कारण ती विद्यालयहरुमा मंसिर एक गतेदेखि बिदा दिईने भएको छ । 

आयोगले निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदान स्थल निर्धारण गरेको छ । ती स्थलहरुमा २२ हजार दुई सय २७ वटा मतदान केन्द्र रहेका छन् ।

‘ती मध्ये कतिवटा विद्यालय मतदान स्थल परे, त्यसको तथ्यांक हामीसँग छैन, तर मतदान स्थल मध्ये अधिकांश विद्यालय नै परेका छन्’, आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले भने ।
उनले निर्वाचनका लागि आवश्यक स्रोत र साधन जुटाउनका लागि सहज हुने भएकाले विद्यालयलाई मतदान स्थल र केन्द्र बनाइएको बताउँदै ती स्थल उपयोगका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिसकेको बताए ।

निर्वाचन आयोगले मतदान स्थल तथा केन्द्र तोकिएको सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मंसिर दुई गते शुक्रबार देखि चार गते आइतबारसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै स्थानीय तहमा लेखी पठाउने’ निर्णय गरेको छ । सो निर्णय पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि परिपत्र गरिसकेको छ ।

आयोगका प्रवक्ता भुसालले निर्वाचनका लागि फराकिलो र सुरक्षित ठाउँ, पर्याप्त कोठा, फर्निचर, सार्वजनिक ठाउँ भएको तथा सबैलाई पायक पर्ने ठाउँका रुपमा विद्यालयको विकल्प नभएकाले विद्यालयलाई मतदान स्थल बनाइएको बताए ।

सो परिपत्र पछि अधिकांश पालिकाहरुले सूचना प्रकाशन गरेर विद्यालय बिदा हुने सार्वजनिक सूचना प्रकाशन गरिसकेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकाले सूचना प्रकाशन गरी ५ गतेसम्म बिदा हुने निर्णय गरिसकेको छ । 

पालिकाका शाखा अधिकृत लक्ष्मी न्यौपानेले भनिन्, ‘पालिकाको अधिकांश विद्यालयहरु मतदान केन्द्रको रुपमा रहेको तथा शिक्षक र कर्मचारी निर्वाचनमा खटिएका कारणले विद्यालयको दैनिक पठनपाठन कार्यमा असर पुग्ने भएकाले मंसिर १ गते देखि ५ गतेसम्म बिदा दिइएको बताइन् । उनले सो बिदा हिउँदे बिदाबाट कट्टा हुने गरी मिलाइएको समेत जानकारी दिइन् ।

प्रतिक्रिया