Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप, शिक्षक संगठन प्रतिरोधमा

बुधबार, २१ मंसिर २०७९

काठमाडौं - विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठन र महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको ‘उक्साहट’मा शिक्षकमाथि यौन हिंसाको लान्छना लगाइएको भन्दै शिक्षक संगठनले प्रतिरोध गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १३ नैकापस्थित कंकाली माध्यमिक विद्यालयका तीन शिक्षकमाथि सोही विद्यालयका छात्राहरुले यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । तर उक्त आरोप प्रति आपत्ति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्ला समितिले विद्यार्थी संगठन र गैरसरकारी संस्थाहरुको  ‘उक्साहट’मा उक्त कार्य भएको दावि गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै संगठनले शिक्षकमाथि अनावश्यक लान्छना नलगाउन आग्रह गरेको छ । विद्यालय शान्ति क्षेत्रको सर्वमान्य मान्यतालाई ठाडो उलंघन गर्दै विगत केही दिनदेखि लैंगिक हिंसा लगायतका विभिन्न विषयहरुसँग सम्बन्धित भन्दै कतिपय गैरसरकारी संघसंस्थाका व्यक्ति र विद्यार्थी संगठनका व्यक्तिहरु विना अनुमति काठमाडौं जिल्लाका केही विद्यालयहरुमा प्रवेश गरी शिक्षकहरुमाथि अनावश्यक लान्छना लगाउने गरिएको पाइएको जनाउँदै त्यसले विद्यालयको शैक्षिक वातावरण बिग्रिएको तर्क गरेको छ । प्रेस विज्ञप्ति मार्फत संगठनले शिक्षकमाथि श्रृंखलावद्ध रुपमा लगाइएका अनावश्यक लान्छना र आक्रमण तुरुन्त बन्द गर्न पनि माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ : ‘सो खाले घटनाले विद्यालयलाई शान्तिपूर्ण रुपमा सञ्चालन हुन दिने तथा बालबालिकाले शान्तिपूर्वक पठनपाठन गर्न पाउने वातावरणमा नराम्रो असर गरेको छ । यस परिस्थितिमा कहीँकतैबाट गल्ती र कमजोरी भएका सप्रमाण भएमा दोषी उपर कानून सम्मत कारबाही हुनुपर्ने कुरामा संगठन प्रतिवद्ध रहेको छ ।’

संगठनका  काठमाडौं अध्यक्ष डिल्लीप्रसाद शर्मा ढकालले उक्त विद्यालयका तीन शिक्षकहरुमाथि गैसस र विद्यार्थी संगठनको उक्साहटमा विभिन्न आरोप लगाएको दावी गरे । 

‘घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ, सत्यतथ्य आउन बाँकी रहेको छ, आरोपित शिक्षकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने भन्दै विभिन्न गैरसरकारी संस्थाका व्यक्तिहरु आइ अन्य शिक्षकलाई टर्चर दिने, विद्यार्थी संघसंगठनका विद्यार्थी आइ प्रअकै राजीनामा माग्नुको पछाडिको नियत के हो ?’, उनले प्रश्न गर्दै भने, ‘त्यही भएर हामीले कोहीको उक्साहटमा नलागी निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाउनका लागि अनुरोध गरेका हौं ।’

सो विद्यालयका कक्षा ७, ८, ९ र १० का छात्राहरुहरुले आफूहरुमाथि शिक्षकद्वारा पटक–पटक यौन हिंसा भएको आरोप लगाएर प्रहरीमा उजुरी दिएका थिए । 

त्यस पछि घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र तीनमध्ये एक जनालाई हिरासतमा राखेर दुई जनालाई आवश्यक भएको बेलामा बोलाउँछु भनी पठाएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद पनेरुले बताए ।

‘घटनाको छानविन भइरहेको बेलामा समेत विभिन्न व्यक्ति, संस्थाका प्रतिनीधि आइ अनावश्यक रुपमा टर्चर दिने काम भइरहेको छ,’ प्रअ पनेरुले भने, ‘हामी पनि दोषी ठहरिएका शिक्षकलाई कारबाही गराउन तयार छौं तर केही विद्यार्थी संगठनले चाहिने भन्दा बढी राजनीतिकरण गरे पछि समस्या जटिल बनेको हो ।’

उनले आरोप लागेका शिक्षकमध्ये दुई जनालाई निलम्बन नै गरिसकेको जानकारी दिए । 

‘ममाथि पनि अनेक आरोप लगाएर विद्यार्थी संगठनका नेताहरुले राजिनामा माग गरेका छन्, मैले आरोप पुष्टि गर्न भनेको छु ।’

विद्यालयका अंग्रेजी विषय शिक्षक कृष्णमणि लामिछाने, कम्प्युटर असिटेन्ट पुष्प ओझा र ल्याब असिस्टेन्ट अन्जान श्रेष्ठमाथि छात्रामाथि यौन दूव्र्यवहारको आरोप लागेको छ ।

प्रधानाध्यापक पनेरुले एक शिक्षकले कम्प्युटर सिकाइको क्रममा माउस समाउने तरिका सिकाउने क्रममा एक छात्राको हातमाथि हात राख्दा सो विषय बाहिरिएको जनाउँदै घटनाबारे प्रहरीले नै थप तथ्य खुलाउने बताए ।

प्रतिक्रिया