Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

माथेमा सर आक्रोशित, बिग्रेको शिक्षा क्षेत्र ‘बयान’ गर्ने शब्दै भेटिएन !

शुक्रबार, ०१ पुस २०७९

काठमाडौं - ‘राजनीति गरेका छन्, आफ्नो मान्छेलाई राखेका छन्, हरे शिव, कसरी बन्छ यसरी ?’

शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा सुधार नहुनुको सार खिचेर दलगत राजनीतिका कारण शिक्षा क्षेत्र ध्वस्त बनाएको भन्दै नेताहरुप्रति आक्रोस पोखेका छन् ।

शिक्षक मासिकको आयोजना र शिक्षा पत्रकार समूहको संयोजनमा भएको ‘शिक्षक अभाव ः कारण र परिणाम’ विषयक छलफलमा सहभागी सामु माथेमाले सार्वजनिक शिक्षाको गिर्दो साख प्रति आक्रोस पोखेका हुन् ।

गएको पाँच वर्षमा बनेका हरेक सरकारले शिक्षा क्षेत्रलाई वेवास्ता गरेको सन्दर्भबाट कार्यक्रमको विषय प्रवेश गर्दै शिक्षकका सम्पादक राजेन्द्र दाहालले शिक्षा र शिक्षकलाई शिक्षा मन्त्रालयका कर्मचारीले समेत बेवास्ता गरेको दावी गरे । 

‘शिक्षक अभावकको विषयमा छलफल गर्न निम्तो दिन पुग्दा शिक्षा मन्त्रालयका जिम्मेवार व्यक्तिले शिक्षकका विषयलाई चासै राखेनन्, उल्टै हामीलाई किन बोलाउनु पर्यो विभागतिर जानू न पो भने ! शिक्षा मन्त्रालयले शिक्षकका विषयलाई हल्काफुल्का रुपमा लिएको देखियो, यो विषयका लागि कुरा गर्ने मन्त्रालयसँग समय छैन, मन्त्रालयलाई चासो र चिन्ता पनि छैन ।’ 

यही पृष्ठभूमि लगत्तै आफ्नो धारणा राख्न सुरु गरेका ७९ वर्षे माथेमा आक्रोशित भएका हुन् । नेपालको सार्वजनिक शिक्षा संकटोन्मुख हुँदै गएको र यो कहालीलाग्दो अवस्थाले देश बनाउँछु भनेर ढाँट्ने राजनीतिक नेतृत्वप्रति उनले कटाक्ष गरे । 

‘त्यसैले त्यो सिस्टमलाई अट्याक नगरीकन, नलडीकन केही हुन्न । अलि म बढी उमेरको भएँ, कम उमेरको भए त म ठीक पार्थें उनीहरुलाई’ आक्रोशित हुँदै उनले भने ‘के भन्ने खै, बयानै गर्न सक्तिनँ म, यो  उमेरमा त म बयानै गर्न सक्तिनँ ।’ 

शिक्षक संघ, संगठन, महासंघजस्ता राजनीतिक दलका भ्रातृ संगठनले पनि शिक्षालाई बर्बाद बनाएको उनको आरोप छ । यसलाई बयान गर्ने ‘शब्द’ नभेटिएको उनले बताए । शिक्षक हुनुमा गर्व गर्ने वातावरण न सरकारले बनायो, न त स्वय्म शिक्षकले नै, सोही कारण सबैतिर शिक्षक अभाव झेल्नुपरेको बताउँदै उनले चिन्ता जनाए । 

अनि फेरि उनी जंगिए, ‘हामीकहाँ जुन मिलनसार समाज बनाउने भनेर भनेका छन्, एक थोपा काम गरेका छैनन् यी नेताहरुले । पार्टीहरुले एक थोपा गरेका छैनन् ।’

शिक्षा मन्त्रालय शिक्षा सुधारमा भन्दा अन्यत्रै रमाइरहेको सन्दर्भ जोड्दै उनले अगाडि भने, ‘यहाँ मन्त्रालयको मान्छे छ, छैन थाहा छैन । स्कुलको नामहरु देख्छु, राम ! राम ! राम ! कहाँबाट आयो अँग्रेजी नामको स्कुल ? इण्टरनेशनल रे । इण्टरनेशनल जसले पनि राख्न पाउने ? यसको मापदण्ड के । जुन किसिमको सार्वजनिक शिक्षालाई अगाडि राखेर काम गर्नुपर्ने हो, त्यो भएन । 

विगतका केही वर्षमा काठमाडौंमा कति जनसख्ंया बढ्यो ? त्यो जनसंख्या अनुसार कति सार्वजनिक स्कुल खोलिए ? आफूलाई समाजवादी भन्ने, संविधानमा राख्ने, धत !’ 

यत्ति हुँदा हुँदै पनि अहिले राजनीतिमा नयाँ पुस्ताको प्रवेशले भने केही परिवर्तन हुन्छ कि भन्ने आशा लागेको भने उनले बताए । 

‘अहिले मलाई के खुसी लागिरहेको छ भने सिके राउतले ठूलाठूला कुरा गरेको छैन, बेसिकल्ली शिक्षाको कुरा गरेको छ । स्वास्थ्यको कुरा गरेको छ, जागिरको कुरा गरेको छ,’ उनको भनाइ थियो । 

सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा पनि राजनीतिमा पनि युवा आउनुपर्ने बेला भएकोमा उनको जोड छ । त्यतिमात्र हैन, शिक्षक स्वयम्ले शिक्षक हुनुमा गर्व गर्ने वातावरण ल्याउनु पर्ने पनि बताए । 

‘आत्म सम्मान, सेल्फ स्टिमको कुरा जुन छ, विश्वविद्यालयमा पढाउनेहरुले म त्रिविमा पढाउने शिक्षक हुँ भनेर गर्व गर्न सकोस्, जुन गर्व क्याम्ब्रिजमा पढाउनेले गर्ला, अक्सफोर्डकाले गर्ला, त्यो हाम्रोमा कसरी ल्याउने, त्यो ठूलो कुरा हो ।’ 

यस्तै अर्का शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षक अभावको समस्यालाई समाधान गर्न विभिन्न बैकल्पिक उपायहरु खोज्न सुझाए । 

उनले भने, ‘शिक्षक अभाव हुनुमा सोचको अभाव छ, कसरी शिक्षक बन्दोबस्त गर्ने भन्ने सरकारसँग सोच नै छैन ।’

उनले शिक्षक अभाव टार्न प्रविधिको भरपूर उपयोग गर्न सुझाए ।

कार्यक्रममा व्यक्त कोइरालाको विचार विस्तृतमा पढ्नुहोस् : शिक्षकले आफूलाई आफैले छानोस् 

शिक्षाविद् विनय कुसियतले शिक्षक तयारी नितिमै परिमार्जनको जरुरी देखे । 

अन्तरक्रियामा नेपाल शिक्षक महासंघका वरिष्ठ उपाध्यक्ष यम पी. भुसालले समेत राजनीति दलले शिक्षाप्रति बेइमानी गरेको बताउँदै शिक्षा दलको दोहोरो मापदण्डको चेपमा परेको दुखेसो पोखे ।

‘शिक्षक नियुक्तिमा राजनीतिक दलको आकाक्षा हावी छ, दरबन्दी सिर्जनामा समस्या छ, शिक्षक सेवा आयोगमा शिक्षा प्रशासनको हस्तक्षेप छ,’ भुसालले भने, ‘शिक्षा मन्त्रालयको नेतृत्व ब्युँझिन जरुरी छ ।’ 

शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष समेत रहेका पत्रकार हरि थापाले विद्यालय व्यवस्थापन समितिलाई स्वायत्तता दिनुपर्नेमा जोड दिँदै शिक्षक हुने तरिकामा फेरबदल आउँदा शिक्षक हुनेहरुको संख्यामा कमी आएको हुन सक्ने उल्लेख गरे । 

ललितपुरको प्रगति शिक्षा सदनका प्रधानाध्यापक सत्यनारायण महर्जनले शिक्षक अभावका विभिन्न कारणहरु केलाउँदै प्रमाणपत्रलाई कामसँग जोड्ने प्रणाली विकास गर्न सुझाए ।

कार्यक्रममा शिक्षक भीम गौतम, बालकृष्ण अधिकारी लगायतले शिक्षामा राजनीतिक हस्तक्षेप शिक्षा बिग्रनुको दोषी रहेको बताए । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख चन्द्रकान्त भुसालले राजनीतिक प्रतिवद्धताको अभाव, सरोकारवालाबीच समन्वयको अभाव, प्रभावकारी मूल्यांकन र पृष्ठपोषण नहुँदा शिक्षामा निराशा भित्रिएको बताए । 

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले शिक्षक अभाव सबैको चासो र चिन्ताको विषय भएकाले सो विषयमा विश्वविद्यालयले विशेष चिन्तन गर्नु अनुरोध गरे ।

* फाईल फोटो 

प्रतिक्रिया