परम्परागत शैलीमा अभ्यस्त शिक्षकको शैलीमा परिवर्तनको खाँचो


पाठ्यक्रमको ढाँचा, निर्माण प्रक्रिया आदिका बारेमा विभिन्न सैद्धान्तिक आधार र मान्यताहरु छन् । तिनै सैद्धान्तिक मान्यताका आधारमा पाठ्यक्रम तयार गरेर लागु गर्ने र समय समयमा अद्यावधिक गरिन्छ । यसका सैद्धान्तिक विषयवस्तु एकातर्फ छन्, ति सैद्धान्तिक मान्यता र सिद्धान्तका आधारमा तयार भएको पाठ्यक्रमलाई कक्षाकोठाको व्यवहारिक प्रयोग अर्को महत्वपूर्ण पाटो हो । यसको कार्यान्वयन प्रभावकारी हुन सकेन भने पाठ्यक्रमले राखेको उद्देश्य असफल भइ राज्यको जनशक्ति उत्पादन र विकासको ढाँचा नै प्रभावित बन्न पुग्न सक्छ । अझ बालबालिकालाई आधारभुत तहमा दिइने शिक्षाको व्यवहारिक व्यवस्थापन उपयुक्त हुन सकेन भने त्यसले पार्ने नकारात्मक प्रभाव ज्यादै भयानक हुन्छ । त्यसैले विद्यालय तहको जग मानिने आधारभुत तहको पाठ्यक्रम र त्यसले राखेको अपेक्षा पूरा गर्न त्यसको सही कार्यान्वयन महत्वपूर्ण छ । यतिबेला विद्यालय तहको पाठ्क्रमको पूर्ण कार्यान्यवनको अन्तिम चरण भएकोले यसबारेमा सम्बन्धित सबै पक्षको ध्यान केन्द्रित हुनु जरुरी छ । 

आधारभुत तह (कक्षा १–३) मा एकिकृत पाठ्यक्रम लागु भइसकेको छ । विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी तयार गरिएकोे पाठ्यक्रम एकिकृत पाठ्यक्रम हो । यो पाठ्यक्रमले एक भन्दा बढी विषयहरुको संयोजन गरी एक–अर्को विषय बिचको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्नुका साथै विषयगत उद्देश्यहरुलाई सँगै मिलाएर सिकाउन सकिने अवधारणा बोकेको छ । यसको अन्तर्वस्तु भनेकै एउटै विषयवस्तुबाट फरक फरक विषयगत अवधारलाई जोड्नु हो ।   

एकिकृत पाठ्यक्रममा २९ वटा व्यवहार कुशल सीपहरु समावेश गरिएका छन् । विद्यार्थीका दैनिक जीवनका वास्तविक समस्या समाधानमा सहयोग पु¥याउने सीपलाई  व्यवहार कुशल सीप भनिन्छ । जसलाई सोचाइ सीप, वैयक्तिक सीप, अन्तर वैयक्तिक सीप, सूचना प्रबिधि र बहुसाक्षरता सीप  र नागरिक सीप गरी पाँच भागमा विभाजन गरिएको छ । उक्त पाठ्यक्रम अनुसार शिक्षण सिकाइ क्रियाकलाप पूर्णतः बालबालिकामा यीनै सीपहरुको प्राप्तिमा केन्द्रित हुनुपर्दछ । 

परम्परागत विषयगत पाठ्यक्रमको प्रतिस्थापनको रुपमा यो पाठ्यक्रमको विकास गरिएको हुनाले शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन प्रक्रियामा पनि सोही अनुरुप परिवर्तनको अपेक्षा गरिएको छ । परम्परागत शैलीमा अभ्यस्त शिक्षकको शिक्षण शैलीमा परिवर्तन गर्नु एकिकृत पाठ्यक्रम कार्यान्वयनको सबैभन्दा ठुलो चुनौती हो । किनभने अझै पनि विद्यालयका आधारभुत तहमा विषयगत शिक्षण, पूर्णाङ्क र उत्तीर्णाङ्कमा आधारित मूल्याङ्कन शैली र शिक्षक केन्द्रित पद्धति कायमै छ । यसमा परिवर्तन हुन सकेको छैन । 

सामाजिक आर्थिक विकासको गतिसँग बालबालिकाको मनोविज्ञान, चाहना र उनीहरुको परिवतर्तित सन्दर्भमा समायोजन हुन सक्ने गरी यसको अध्ययन र अनुसन्धानका आधारमा पाठ्यक्रममा परिवर्तन त भयो । तर शिक्षकको शिक्षण ढाँचा, मूल्यांकनका उपयुक्त साधनको प्रयोग र पाठ्यक्रमले निर्धारण गरेको ढाँचालाई कार्यान्वयन गर्ने गरी शिक्षकको कार्यशैलीमा परिवर्तन भयो कि भएन त्यो चाहीँ महत्वपूर्ण पक्ष हो । शिक्षकको शिक्षण कलामा रुपान्तरण नगरी पाठ्यक्रममा मात्र भएको परिवर्तनले कुनै अर्थ राख्दैन । आधारभुत तहको एकिकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकले कम्तिमा पनि उल्लेखित विषयवस्तुबारे प्रष्ट हुन र सोही अनुसार आफ्नो शिक्षण सिकाइ प्रक्रियाको रुपान्तरणमा केन्द्रित हुन आवश्यक छ । 

थिम सम्बन्धी अवधारणा  

थिम भनेको विषय क्षेत्र हो । थिम सबै विषयमा एउटै छ तर विषयगत रुपमा अलग अलग अवधारणा सिकाउन शिक्षकले योजना बनाउनुपर्दछ । शिक्षकले थिम अनुसार निर्धारित सिकाइ उपलब्धी प्राप्त गर्ने गरी शैक्षणिक योजना बनाइ सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्दछ ।

सिकाइ उपलब्धीको मापन  

हरेक थिम अन्तर्गत निश्चित संख्यामा सिकाइ उपलब्धीहरु छन् । यसले थिमको सिकाइ पश्चात विद्यार्थीले प्राप्त गर्ने अपेक्षित उपलब्धी हो । शिक्षण क्रियाकलाप र मूल्यांकन मुख्य रुपमा यसमै केन्द्रित हुनुपर्दछ । थिम अन्तर्गत भएका सिकाइ उपलब्धीको मूल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धीको मूल्यांकन गरी कुन स्तरको सिकाइ हासिल गरेको छ भनेर थाहा पाउन सिकाइ उपलब्धी प्रतिशत निकालेर समग्र सिकाइको स्तर मापन गर्नुपर्दछ । 

पूर्णाङ्क र उत्तीर्णाङ्कमा आधारित परीक्षा शैलीमा परिवर्तन  

कक्षा १–३ मा पूर्णाङ्क र उत्तीर्णाङ्कको व्यवस्था गरिएको छैन । त्यसैले पुरानो पाठ्यक्रमको जस्तो पूर्णाङ्क र उत्तीर्णाङ्क राखेर अंकन गर्न मिल्दैन । कक्षा सहभागिता, मौखिक तथा लिखित कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, कार्यसम्पादन तथा प्रदर्शन, सहपाठी मूल्याङ्कन, स्वमूल्याङ्कन अभिभावकको प्रतिक्रिया, कुराकानी तथा छलफल जस्ता मूल्यांकनका तरिका अपनाउनुपर्ने हुन्छ भने अवलोबन, रुजुसुूची, रुबिक्स र श्रेणी मापन, मौखिक प्रश्न, फाराम, घटना वर्णन, प्रश्न, चित्र, पठन सामग्री, श्रव्य दृष्य सामग्री, छोटा परीक्षा जस्ता मूल्यांकनका साधनहरु प्रयोग गरी उपलब्धी स्तरलाई कमजोर, सामान्य, राम्रो र उच्च गरी चारवटा मापन स्केलमा रेटिङ गर्नुपर्दछ ।  

रेटिङ स्केल सम्बन्धी अवधारणा 

विद्यार्थीलाई हरेक सिकाइ उपलब्धीको बिभिन्न साधनहरु मार्फत मूल्यांकन गरी १,२,३,४ को स्तरमा मापन गर्नुपर्छ यसलाई रेटिङ स्केल भनिन्छ । जसमा रेटिङ स्केल १ भनेको कमजोर अर्थात मुख्य सिकाइ उपलब्धी हासिल गर्न नसकेको, सबैजसो सिकाइ उपलब्धीका लागि सुधारात्मक सिकाइ आवश्यक भएको, रेटिङ स्केल २ भनेको सामान्य अर्थात मुख्य सिकाइ उपलब्धी आंशिक रुपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको, रेटिङ स्केल ३ भनेको राम्रो मुख्य सिकाइ उपलब्धी धेरैजसो हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको र रेटिङ स्केल ४ भनेको उच्च अर्थात मुख्य सिकाइ उपलब्धी हासिल गरेको साथै माथिल्लो स्तरको उपलब्धी हासिल गरेको बुझाउँछ । 

पोर्टफोलियो व्यवस्थापन  

विद्यार्थीको नियमित गतिबिधि र प्रगतिको व्यवस्थित अभिलेख तयार गर्नुलाई पोर्टफोलियो व्यवस्थापन भनिन्छ । कक्षाका हरेक विद्यार्थीका लागि व्यक्तिगत रुपमा पोर्टफोलियो फाइल तयार गर्नु पर्दछ । विद्यार्थीको व्यक्तिगत विवरण सहित उनीहरुले शिक्षण सिकाइका क्रममा गरेका परियोजना कार्य, कक्षाकार्य लगायत उनीहरुको गतिबिधिको नियमित अद्यावधिक गर्दै राख्नुपर्दछ । यसकै आधारमा बेलाबेलामा अभिभावकलाई विद्यार्थीको प्रगति अवस्था सम्बन्धमा जानकारी गराउने र त्यसैका आधारमा विद्यार्थीको विभिन्न पक्षको विकासको लागि अभिभावकसँग आवश्ययक सहकार्य र अन्तक्र्रिया गर्नुपर्दछ । 

थप सिकाइ सहायता   

नियमित पढाइपछि विद्यार्थीको उपयुक्त साधन मार्फत विद्यार्थीको मूल्यांकन गर्नुपर्दछ र ३ रेटिङ  ३ प्राप्त गरेमा ४ पुर्याउन मद्दत गर्नुपर्छ । यदि १ वा दुई मात्र रेटिञ प्राप्त गरेमा उपचारात्मक सिकाइ मार्फत कम्तिमा ३ पुर्याउ नै पर्दछ । विद्यार्थीलाई सब थिम अन्तर्गतका सबै सिकाइ उपलब्धी हासिल गराउनु शिक्षकको जिम्मेवारी हो । 

जीपीएको गणना सम्बन्धी अवधारणा 

सबै विषयमा प्राप्त गरेको ग्रेड पोइन्टको विषयको पाठ्यभार अनुसारको औसतलाई ग्रेड पोइन्ट एभरेजलाई (जीपीए) भनिन्छ । विषयगत रुपमामा जीपी र क्रेडिट आवरको गुणाङ्कलाई डब्लुजीपी अर्थात ग्रेड पोइन्ट भार भनिन्छ । सबै विषयको डब्लुजीपी को जोडलाई सबै विषयको जम्मा क्रेडिट आवरले भाग गरेर जीपीए निकालिन्छ । फरक फरक पाठ्यभार भएको विषयको डब्लुजीपी फरक हुने भएकोले विषयगत ग्रेडको औसतका आधारमा जीपीए निकाल्नु गलत हुन्छ । यसबारेमा शिक्षक पूर्ण जानकार हुनुपर्दछ । 

आवधिक परीक्षा तथा मूल्याङ्कन  

आवधिक रुपमा मासिक, त्रैमासिक वा चौमासिक रुपमा जे जति थिम र त्यस अन्तर्गतका सिकाइ उपलब्धीमा आधारित भइ शिक्षण गरियो, सोही सिकाइ उपलब्धी संख्याको आधारमा विद्यार्थीको कार्य प्रगति विवरण तयार गरेर अभिभावक समक्ष प्रदान गर्नुपर्ने हुन्छ । यसलाई शिक्षकले निर्माणात्मक मूल्याङ्कनको साधनको रुपमा उपयोग गर्नुपर्दछ । त्रैमासिक परीक्षालाई परम्परागत अङ्कन प्रणालीमा नभइ थिमगत सिकाइ मूल्याङ्कनमा केन्द्रित भएर गर्नुपर्दछ । 

वार्षिक नतिजा तयारी 

सबै विषय क्षेत्रको सबै सिकाइ उपलब्धीको विभिन्न साधनहरु मार्फत गरिएको मूल्याङ्कनका आधारमा वार्षिक नतिजा तयार गरिन्छ । यो निर्णयात्मक मूल्याङकनको साधन हो । कक्षा १–३ मा सैद्धान्तिक र प्रयोगात्मक भनेर अलग अलग मूल्यांकन हुँदैन । थिमगत रुपमा सिकाइ उपलब्धीहरुको मूल्याङ्कन गरिन्छ । परम्परागत अंकन प्रणालीलाई पूर्णतः उपलब्धी स्तरको आधारमा अक्षरांकन पद्दतिमा मूल्याङ्कन अभिलेख राख्नुका साथै विद्यार्थीलाई नतिजा उपलब्ध गराउनुपर्दछ ।

स्थानीय विषय र ऐच्छिक विषयको सिकाइ तथा त्यसको मूल्यांकन 

विद्यालय वा स्थानीय निकाय मार्फत राखिएको मातृभाषा वा स्थानीय विषयको अन्य विषयमा जस्तै गरी निर्धारित सिकाइ उपलब्धीका आधारमा मूल्यांकन गनुर््पर्छ । तर ऐच्छिक विषयबारे पाठ्यक्रम विकास केन्द्रले कुनै व्यवस्था गरेको छैन । यद्यपी विद्यालयहरुले ऐच्छिक विषय पठनपाठन गर्ने हो भने पाठ्यक्रमलाई थप सहयोग पुग्ने र विद्यार्थीलाई अनावश्यक बोझ नपर्ने गरी थप सिकाइ उपलब्धीहरु निर्धारण गरी सोही आधारमा सिकाइ मूल्याङ्कन  गर्नुपर्दछ । 

पाठ्यक्रमको कार्यान्वयनकर्ता शिक्षक हो । यसका लागि आवश्यक व्यवस्थापकीय कार्य सहितको सहजीकरणमा विद्यालय र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । त्यसका लागि पाठ्यक्रमको प्रबोधिकरण, शिक्षण शैलीमा रुपान्तरण, मूल्याङ्कनका विभिन्न साधनहरुको विकास, अभिभावकसँगको सहकार्य, पर्याप्त अनुगमन तथा पृष्ठपोषण जस्ता कुराहरु आवश्यक छन् । 

ढुङ्गाना, श्री तेर्से माध्यमिक विद्यालय, सिन्धुपाल्चोक, मेलम्चीका शिक्षक हुन् ।