Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

बालविकासको विषयलाई मुख्य रुपमा उठाउँदै अपेन

मंगलबार, १९ पुस २०७९

काठमाडौं - एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले प्राथमिकतामा नपरेको बालविकासको विषयलाई मुख्य विषयका रुपमा उठाउने भएको छ । 

मन्टेसरी तथा प्रि–स्कुलहरूको छाता संगठनको रुपमा चिनिएको अपेनले दोस्रो केन्द्रीय महाधिवेशनको छेकमा सो विषयलाई मुख्य विषयका रुपमा उठाउने भएको हो । 

आगामी पुस ३० गते धुम्बाराहीमा हुने दोस्रो महाधिवेशनले नेपालमा रहेका मन्टेसरी तथा प्रि–स्कुलका समस्या र ती समस्या समाधानका लागि गर्नुपर्ने विषयलाई उत्थान गर्ने योजना बनाएको अपेनका अध्यक्ष बद्री दाहालले बताए । 

अपेन केन्द्रीय कार्य समिति बैठकको पुस ७ गतेको बैठकले दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको जनाउँदै उनले महाधिवेशनमा प्रि–स्कूलहरुको व्यवस्थापन र प्रि–स्कुलको सुदृढिकरणका विषयमा छलफल गरिने पनि बताए । 

‘हामीसँग अहिले ७ सय भन्दा बढी मन्टेसरी तथा प्रि–स्कुल सञ्चालकहरु आवद्ध छन्, त्यस बाहेक देशभर थुप्रै मन्टेसरी तथा प्रि–स्कुलहरू छन्, तिनीहरुले बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सुरक्षा र सर्वाङ्गीण विकासका लागि योगदान दिइरहेका छन्, तर त्यसको अनुभूति कुनै पनि तहका सरकारले गरेको छैन’, अध्यक्ष दाहालले भने, ‘हामीले पुर्याइरहेको योगदानबारे सरकारलाई जानकारी दिन र बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्टेसरी तथा प्रि–स्कुलहरूको क्षमता वृद्धिको आवश्यकता बोध गराउन हाम्रो महाधिवेशन केन्द्रीत हुनेछ ।’ 

तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन हुने महाधिवेशनमा प्ले गु्रपदेखि कक्षा ३ सम्मलाई नै बालविकास केन्द्र बनाउन पनि माग गरिने उनको भनाइ छ । 

‘पाठ्यक्रम र सरकारी शिक्षा नीतिले पनि प्ले गु्रपदेखि कक्षा ३ सम्मलाई बालविकास केन्द्रको रुपमा अंगीकार गरेको छ, त्यसलाई व्यवहारमा अझ पनि उर्तान सकिएको छैन, त्यसबारेमा पनि छलफल हुन्छ,’ अध्यक्ष दाहालले थपे । 

 

प्रतिक्रिया