Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

अँग्रेजी सुधार्न ल्याब

आइतबार, २४ पुस २०७९

ललितपुर - विद्यालयमा साइन्स ल्याब, म्याथ ल्याब, कम्प्युटर ल्याब सुनेका छौं, देखेका छौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ को सिस्नेरी माध्यमिक विद्यालयमा भने अँग्रेजी विषयको ल्याब (इंग्लिस ल्याब) पनि छ । 

विद्यालयले अँग्रेजी विषय र भाषा सुधारका लागि भन्दै एउटा कक्षाकोठालाई ल्याब बनाएको हो । ल्याबमा अँग्रेजी विषयका थुप्रै शैक्षिक सामग्री राखिएका छन् । विद्यार्थी उक्त ल्याबमा हरेक दिन जान्छन् र पढ्छन् ।

विद्यालयका अनुसार ल्याब सञ्चालन भएपछि विद्यार्थीको लेखन तथा पठन क्षमतामा वृद्धि भएको छ । सो ल्याब कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको प्रधानाध्यापक चेतनाथ पन्तले बताए ।

विद्यालयमा नेपाली, गणित, सामाजिक, नैतिक शिक्षा लगायतका विषय एउटै कक्षामा पढाइ हुन्छ भने अँग्रेजी पढ्न विद्यार्थी किताव, कापी, कलम बोकेर ल्याबमा जान्छन् । 

‘त्यहाँ प्रोजेक्टर र ल्यापटप छन्, त्यहीमार्फत् हामी अँग्रेजी पढाउँछौं,’ पन्तले भने ‘अहिले नगरपालिकाले स्मार्ट बोर्ड समेत दिएर सहयोग गरेको छ, त्यसले पनि विद्यार्थीको अँग्रेजी सुधारमा सहयोग पुगेको छ ।’ 

ल्याबमा गएर अँग्रेजी पढ्न पाउँदा विद्यार्थी दंग पर्ने गरेका छन् । कक्षा ६ मा पढिरहेकी शान्ता चौधरीले अरु कक्षाभन्दा इंग्लिस ल्याब राम्रो र पाठ्यपुस्तकमा भएका भन्दा फरक फरक कुरा सिक्न पाएको बताइन् । 

‘यो ल्याबमा कसरी अंग्रेजी बोल्ने भन्ने सानासाना कुरा पनि छन्, यसले हामीलाई कुन कुरालाई अँग्रेजीमा के भन्ने थाहा हुन्छ, अंग्रेजी बुझ्न सजिलो भएको छ,’ उनले भनिन् ।

ल्याबमा गएर अँग्रेजी भाषाको अभ्यास गर्दा भाषालाई बलियो बनाउन सहयोग पुगेको विद्यार्थीको भनाइ छ । विद्यार्थी सो ल्याबमा पसेर अँग्रेजीमा वार्तालाप समेत गर्ने गरेका छन् । ल्याबमा रहेका सामग्रीकै सहयोग लिएर पनि उनीहरु अँग्रेजीमा बोल्ने अभ्यास गर्ने गरेको प्रअ पन्तले बताए ।

ल्याबमा अँगे्रजी शिक्षकले पढाइसकेपछि विद्यार्थी आपसमा अँग्रेजी भाषामा वार्तालाप गर्ने गर्छन् । विद्यार्थीको वार्तालापमा कुनै समस्या भए शिक्षकले सहजीकरण गर्ने गरेका छन् । यसले उनीहरुलाई भाषागत ज्ञानका अलावा शब्दको उच्चारण गर्ने सीप सिक्न सजिलो बनाएको छ । 

‘विद्यार्थी इंलिस ल्याब भनेपछि हुरुक्कै हुन थालेका छन्,’ शिक्षक राजकुमार बुढाथोकीले भने ।

प्रतिक्रिया