Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
अन्तर्वार्ता

दल सुध्रे शिक्षक, प्राध्यापक, विद्यार्थी सब ठेगान लाग्छन्

विहीबार, १२ माघ २०७९

भएका विश्वविद्यालयहरु लथालिंग भइरहेको आरोप छ । शैक्षिक गुणस्तर कायम गर्न नसकेको, शैक्षिक क्यालेण्डर अनुसार विश्वविद्यालयहरु चल्न नसकेको, दलको हस्तक्षेप बढी भएको जस्ता आरोप पनि खेपिरहेका छन् विश्वविद्यालयहरुले । उच्च शिक्षामा सुधार ल्याउने अपेक्षा सहित राष्ट्रिय सभामा पेश भएको नेपाल विश्वविद्यालय विधेयक २०७९ मा अहिले छलफल जारी छ ।

नेपाल विश्वविद्यालयको आवश्यकता किन पर्यो ? हालका विश्वविद्यालय भन्दा कुन अर्थमा यो फरक हुन्छ ? यसले के अहिले उच्च शिक्षामा देखिएका समस्या समाधान गर्ने सामथ्र्य राख्छ ? धेरैको जिज्ञासा छ । नेपाल विश्वविद्यालय सम्बन्धमा सो विश्वविद्यालय निर्माण गर्न गठित कार्यदलका एक सदस्य हुन् प्रा.डा. ​चैतन्य मिश्र । समाजशास्त्री मिश्रसँग सोही विश्वविद्यालयबारे हरिसुन्दर छुकांले गरेको कुराकानीको मुख्य अँश : 

- भएकै विश्वविद्यालय राम्ररी चलेको छैन, नयाँ किन चाहियो ?

राष्ट्रिय सभामा विधेयक पेश भएपछि यसबारेमा यही कुरा उठ्यो, भएकै विश्वविद्यालय राम्ररी चलेको छैन, नयाँ किन चाहियो ? भन्ने एउटा दृष्टिकोण छ । एउटा रेजिष्टेन्सको विरुद्धमा छ भने धेरैवटा युनिभर्सिटी किन भन्ने विषयमा छ । मेरो विचारमा यी दुइटै गलत धारणाहरु हुन् ।

नेपालमा भएका युनिभर्सिटीहरु राम्रोसित चलेको छैन । जस्तो  मै पढाउने त्रिभुवन विश्वविद्यालय । मैले ४० वर्ष यही पढाएँ । युनिभर्सिटी राम्रोसँग चलेको छैन भन्ने मलाई थाहा छ । अहिले मैले भन्नुपर्ने कुरा चैं के भने बिग्रेकालाई सपार्नु पनि पर्यो । म त के भन्छु भने, नेपालमा धेरै युनिभर्सिटीहरु आवश्यक छन् । हामीकहाँ त युनिभर्सिटी भनेकै त्रिविकै कल्पना आउँछ । अनि धेरैजना, धेरैवटा क्याम्पस भएको, देशभरी क्याम्पस भएको, लाखौं लाख विद्यार्थी भएको सोच्छौं । त्यस्तो चाहिँदैन, २ हजार विद्यार्थी भयो भने पनि युनिभर्सिटी बन्छ ।

- त्यसो भए, नेपाल विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयजस्तो विशाल नभई सानो हुन्छ ?

विश्वविद्यालय बन्नका लागि त्रिभुवन विश्वविद्यालय जत्रो ठूलो, देशव्यापी, लाखौंलाख विद्यार्थी हुनु पर्दैन भन्ने दृष्टिकोणले भनेको हुँ । अर्को, नेपाल धेरै किसिमले भिन्न भिन्न छ । मुख्यतयाः त भौगोलिक भिन्नता नै छ । अरु भिन्नता पनि छन् । त्रिभुवन विश्वविद्यालय मात्र हुँदा त्रिविको क्याम्पस बैतडीमा पनि छ, झापामा पनि छ । बैतडीको कुरा पनि पढाउन सक्तैनौं, झापाको कुरा पनि पढाउन सक्तैनौं । यद्यपि त्यहीँको विद्यार्थीलाई, त्यहीँको प्राध्यापकले पढाउँछन् । त्यो स्थानिकताको नाश भो, अहिलेको शिक्षामा । स्थानिक कुरा पढाउनु पर्यो नि हामीले । झापा भनेको के हो ? भनेर झापाको विद्यार्थीलाई थाहा हुनु परेन ? यहाँ त पढाइ नै हुँदैन । किन पढाइ हुँदैन भने, यसले त राष्ट्रिय दृष्टिकोण राख्छ । त्यसकारणले स्थानिकता नबोकेको विश्वविद्यालय बन्यो । स्थानीय ज्ञानलाई यहाँबाट कदर हुँदैन । सानो सानो विश्वविद्यालय एउटा उता, एउटा उता बनाउनुपर्छ । अहिलेकै अवस्थामा पनि त्यो पद्म कन्यालाई, त्रिचन्द्रलाई विश्वविद्यालय बनाए हुन्न र ? धेरैवटा, छुट्टा छुट्टै विश्वविद्यालय भयो भने स्थानीय विषयलाई बोक्न र फैलाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि सानो सानो पनि युनिभर्सिटी छन् । कुनै कुनै ठूला पनि छन् । त्रिवि जत्रो त झण्डै झण्डै छैन भन्दा हुन्छ, विरलै छ । दुई हजार जति विद्यार्थी भएको पनि युनिभर्सिटी बन्न सक्छ । जापान तिर त्यो भन्दा सानो पनि छ, ५ सय, २ सय विद्यार्थी भएका युनिभर्सिटी पनि छन् । 

- २ हजार जति मात्र विद्यार्थी भएको युनिभर्सिटी भए पुग्छ भनिरहनुको कारण के ?

दुई हजार विद्यार्थी ठीकै संख्या हो जस्तो लाग्छ, किनभने धेरैथरी कोर्सहरु पढाउन अलि बढी विद्यार्थीको साइज पनि चाहिन्छ । २ जनामात्र विद्यार्थी भएको कक्षामा पढाउनु त सम्भवै नहोला । त्यसकारणले कक्षामा १५÷२० जना त चाहियो । नत्र भने पढाउन, पढ्न मज्जा पनि आउँदैन । त्यो आर्थिक रुपले सम्भव पनि हुँदैन । त्यसकारणले २ हजार जति भयो भने रिजनल हुन्छ । तिनीहरुलाई अफ्सनल कोर्सहरु दिँदादिँदै रिजनेवल नम्बर अफ बीए, एमए, पिएचडी गर्ने विषय दिँदादिँदै पनि भ्याउँछ ।

- नेपाल विश्वविद्यालयको अवधारणा जन्मिनुको कारण के हो त ?

एउटा, यहाँ भइरहेका कमी कमजोरीलाई पूरा गर्न, भइरहेका विश्वविद्यालयको कमी कमजोरी पूरा गर्न । हामी चीन र भारतको बीचमा छौं, चेपुवामा छौं । हामी उनीहरु भन्दा धेरै कुरामा श्रेष्ठता स्थापित गर्न सक्तैनौं । हाम्रो सीमितताको कारणले । जस्तो औद्योगिक उत्पादन, इण्डिया र चीनको भन्दा सस्तो पार्न सक्ने सम्भावना ज्यादै कम छ । त्यतैबाट सस्तो आउँछ । संसारलाई बेच्ने चीन र इण्डियाको सामान सस्तो छ । यद्यपि हामीलाई दैनिक आवश्यक पर्ने चीज हामीले उत्पादन गर्नपर्छ । त्यो हामीसँग छ । तिनीहरुले दिन नसक्ने केही कुराहरु हामीसँग छ । जस्तो हाइड्रोको कुरा छ, टुरिजमको कुरा छ । अर्को कुरा शिक्षाको पनि एकदमै हुन सक्छ जस्तो लाग्छ । 

त्यहाँको मान्छे समेत तानेर पढाउने गरी शिक्षामा सम्भावना छ । मुख्य कुरा हामीले अहिले भनिरहेको के छ भने सुगा पढाउने हैन, आफ्नै ज्ञानको खुट्टामा उभिएर आफै लेखपढ गर्न सक्ने, आफै विचार बनाउन सक्ने विद्यार्थी तयार गर्ने भनेका छौं । त्यो भयो भने शिक्षाका लागि अन्तबाट समेत विद्यार्थी नेपाल आउँछन् । अहिले त हाम्रो शिक्षा किताब पढ्यो, जाँचमा लेख्यो मात्र त भइरहेको छ । सुगा रटाइ भो । अझ विडम्वनाको कुरा जाँचै समेत हुँदैन । 

- भनेपछि विद्यार्थीलाई खोज्न सक्ने वुद्धि दिने शिक्षाका लागि हो नेपाल विश्वविद्यालय ? 

खोज्न सक्ने, सोच्न सक्ने, लेख्न सक्ने, अनि खोज्न प्रेरित गर्ने । हाम्रो क्लास त हुन्छ तर विद्यार्थी आफैले खोजून् भन्ने भावना मात्र हैन, डिजाइन नै हुन्छ, त्यहाँ भित्र । अनि विश्वविद्यालय एउटा मात्र हुन्छ । त्यो कसरी भने अरु कलेजलाई सम्बन्धन दिँदैन । अनि विद्यार्थी पनि त्यहीँ होस्टलमा बस्छ । त्यहीँ बस्नुको मतलब छ । किन भने, त्यहाँका विद्यार्थी आपसमा पढाइबारे कुरा गर्छन्, शिक्षकसँग बढी अन्तरक्रिया गर्छन् । त्यो योजना छ । युनिभर्सिटीको सोचको वरिपरी घुम्छन्, विद्यार्थी । 

- त्यो परिकल्पना जुन सुनाउनु भयो, त्यो सम्भव छ ? चुनौति के देख्नु भएको छ ? 

सम्भव तुल्याउँदै जानुपर्छ । यसको च्यालेन्ज चाहिँ के भने, नेपालमा राम्रो तहको मान्छे तयार गर्ने कि नगर्ने ? अब्जेटिब शुद्ध छ भने, अब्जेटिब शुद्ध छ भने, त्यसलाई प्राक्टिकल बनाउनु पर्छ । 

- त्यो आवश्यकता तपाईं, तपाईंहरु जस्तो विज्ञले महशुस गर्नुभयो र यो अवधारणा ल्याउनु भयो तर देश चलाउनेको ध्यान त अन्तै छ नि ? 

कति देश चलाउनेहरुले पनि यो कुरा बुझेका छन् । तर प्रश्न भने तपाईंकै जस्तो आउँछ सबैको । सम्भव छ त ? भनेर सोध्छन् । हामी सम्भव छ भनेर भन्छौं । तपाईंहरुको सहयोग चाहिन्छ भन्छौं । 

- त्यो सहयोग चाहिँ कस्तो खाले सहयोग हो ?

सहयोग भनेको अरु विश्वविद्यालयलाई दिने भन्दा फरक र बढी सहयोग भनेको हैन । हामीलाई धेरै किसिमको सहयोग चाहिएको छ । सूरुमा त विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि बजेट नै चाहियो । त्यसपछि अरु विश्वविद्यालयलाई जति बजेट दिने हो हामीलाई पनि त्यति दिए पुग्छ । हुन त अहिलेको हामीले प्रस्ताव गरेको विश्वविद्यालयको नियममा त अर्कै लेखेका छौं । त्यसलाई पनि शिक्षा मन्त्रालयले तोडमोड गरिदिएको छ । त्यसमा हामी अहिले फेरि परिवर्तन गर्न खोज्दैछौं । हामीले धेरै मागेका पनि छैनौं । 

- अहिले विद्यमान विश्वविद्यालयभन्दा नेपाल विश्वविद्यालय कसरी फरक हुन्छ ?

हामीलाई पाँच वर्ष दिनुस् न । यो देशको भविष्यको लागि राम्रो उद्देश्य लिएको हो भने चार वर्षमा एउटा ग्राजुयट तयार हुन्छ । पाँचौं वर्षदेखि हाम्रो परीक्षा गर्न थाल्नुस् । त्यो बीचमा पनि रुटिन अनुसार पढाएको छ कि छैन ? शिक्षक आउँछन् कि आउँदैनन् ? सबै जाँच्नुस् । तर यो विश्वविद्यालयले कस्तो खाले स्नातक निकाल्यो त भन्ने कुरा त चार वर्षपछि थाहा हुन्छ । चार वर्षसम्म त हेर्नुस् । त्यसपछि तिमीहरु झुर रहेछ भन्ने लाग्यो भने, दिएको पैसा पनि झिक्नुस् । 

नेपालमा अहिले झण्डै एक लाखले नो अब्जेक्सन लेटर लिन्छन्, एक वर्षमा । त्यस मध्येको २ हजार विद्यार्थीलाई मात्र हामीले यही राखेर पढाउन सक्यौं भने तिनिहरुको परिवारको पैसा बच्यो, देशको अरु खर्च पनि बच्यो । हामीले उच्च कोटीको शिक्षक दिन थालेपछि केही मान्छे त बस्छन् । हुन त बाहिर जाने मान्छेको उद्देश्य त त्यहाँ पढ्न जाने मात्र हैन, पछिसम्म त्यहीँ बस्ने, डलर कमाउने भन्ने त हो । तिनीहरु मध्ये एउटा सानै अंशलाई तान्न सकिएछ भने, त्यो पनि ठूलो कुरा हुन्छ । अनि हामीले सकेनौं भने हामी जस्तै अर्को कोहीले विश्वविद्यालय खोल्ला । हामी त क्याम्पस, क्याम्पस भन्दै सम्बधन दिने क्याम्पस हैनौं । हामी देशभरबाट विद्यार्थी ल्याउँछौं । भर्ना गर्ने बेलामा देशभरको हाइस्कुलमा सूचना पठाउँछौं । 

- तपाईं र तपाईं लगायतका शिक्षाकर्मी, शिक्षाविद्हरुबाट अहिले भएका विश्वविद्यालयहरुबारे नकारात्मक कुरा किन बढी अभिव्यक्त भइरहेका छन् ? 

वास्तवमा त्यो नकारात्मक भन्ने विषयमा मैले बढी बोलेको छु । मैले गर्नु नि पर्ने भो । किनकि ४० वर्ष पढाएको त कोहीले छैन, यही ठाउँमा बसेर । त्यो हक मलाई छ । ज्ञान पनि छ । तर मैले यो विश्वविद्यालयलाई सुुधार्न पर्दैन, सुधार्न सकिँदैन भनेको छैन । म अझ पनि सुधारौं भन्छु । 

- विश्वविद्यालयहरुमा बढ्दो विकृति, सुधार गर्न नचाहनुको जड चैं के हो ?

जड खोज्नु भयो भने राजनीतिकरण, दलीयकरण मुख्य हो । अरु पनि कारण छन् । हामी सबै अल्छी भयौं, माष्टरहरु । अमेरिकामा ३ वटा कोर्स पढाउँछन्, यहाँ एउटा कोर्स पढाएर बस्छ । एउटा कोर्स पढाएर तलब खान्छन, शिक्षकहरु ।
यो राजनीति विश्वविद्यालयमा मात्र हैन, आमा समूह, सामुदायिक वन, क्लब, टीम सबैमा छ । दलीयकरणले सबै खायो । हाम्रो अस्तित्व नै छैन जस्तो गरिदियो । यहाँ विद्यार्थी नेताले तहल्का मच्चाइ रहेका छन् । शिक्षकलाई धम्क्याउने देखि लिएर पिट्ने, मलाई यति नम्बर चाहिन्छ भन्नेदेखि लिएर यावत छ । किन छ भने, तिनीहरुको शक्तिको केन्द्र राजनीतिक दल तिर छ । अधिकाँश शिक्षकहरु पनि दलकै मान्छे छन् ।  

- त्यो देखिरहँदा, भोगिरहँदा कस्तो लाग्छ ? 

ग्लानी हुन्छ, रिस उठ्छ । 

- तपाईंले त लामो समयदेखि सेवा आयोगै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आउनु भएको छ, त्यो अहिले पनि छोड्नु भएको छैन ?

यहाँ हरेक विषयको ज्ञाता भनेको विषय समिति छ । उदाहरणका लागि रशायसन शास्त्रमा नयाँ लेक्चरर भर्ना गर्नुपर्यो भने त्यो समितिको भूमिका केही नि हुँदैन । रशायन शास्त्री छान्ने त त्यसको अधिकार भित्रको कुरा हुनुपर्ने नि । सेवा आयोग भन्ने किन चाहियो ? म त पहिलैदेखि यो सेवा आयोग खारेज हुनुपर्छ भनेर बसिरहेको छु । समस्याको कुरा गरी साध्य छैन । कसरी राजनीतिक नियन्त्रण गरिराख्ने ? भिसी, रेक्टर, क्याम्पस चिफका नियुक्ती जम्मै भागबण्डामा गर्ने, अथवा आफ्नै दलको गर्ने । यसरी कसरी हुन्छ ?  

हरेक विभाग, संकायमा दलदलका मान्छे छन् । त्यो दल दलका मान्छेहरु भर्ना भए, त्यही आधारमा जागिर पाए, उनीहरुले राम्रो किन पढाउने ? राम्रो किन पढ्ने ? जबकि उनीहरुको भविष्य दलले तलमाथि गर्दिने भो । उनीहरु सोधखोज गर्ने शिक्षाभक्त, शिक्षाप्रेमी हैन, दल भक्त भए । भक्तले के गर्छ ? नमस्कार गर्छ । त्यहाँबाट उसको प्रमोशन हुन्छ, स्थायी हुन्छ । तलब बढ्छ । सबै कुरा त्यहीँबाट हुन्छ । बोकेको कुकुरले टोक्दैन भन्छ नि, हो, यी सबै बोकेका कुकुरहरु त हुन् नि । आफ्नो खुट्टामा उभिएको कुकुर पो चाहियो त । 

- भनेपछि, यस्तै यस्तै आक्रोशकै विकल्पको प्रतिफल भन्न मिल्छ, नेपाल विश्वविद्यालयलाई ? 

एउटा चाहिँ हो । तर यसको अर्थ यो हुँदै हैन कि त्रिभुवन विश्वविद्यालयलाई सुधार्नु हुँदैन, सुधार्न सकिँदैन भन्ने चाहिँ हैन ।

- कसरी सकिन्छ, के गर्दा सुध्रिन्छ ? 

त्यसका लागि दलदेखि नै सुधार्नु पर्छ । दल सुध्रे यहाँ भित्रको पनि ठेगान लाग्छन् । यहाँका शिक्षक, प्राध्यापक, विद्यार्थी ठेगान लाग्छन् । अहिले त हामीले के देख्यौं भने मेरै डिपार्टमेन्टको एकजना शिक्षकको खुट्टै भाँच्दियो । अरु त्यस्तै त्रासमा छन् । एकजना झुर विद्यार्थी आएर, शिक्षकलाई औंला ठड्याएर के के भन्छ, भन्छ , नम्बर बढी चाहियो, पास गर्दिनु पर्यो अथवा के के हो के के ? यो भनी साध्य नहुने भएको छ ।  विश्वविद्यालय, विद्यालयमा दलको प्रकोप छ । यो रोगले हामीलाई गाँजिसक्यो । त्यही भएर नयाँ विश्वविद्यालय खोज्नुपर्यो, खोल्नुपर्यो, विचार आयो । यहाँ सपार्न गाह्रो छ । 

- नयाँ विश्वविद्यालय खोलेर यहाँ कसरी सुधार हुन्छ ? 

यहाँ गर्नुपर्ने कुरा धेरै छन् । तर सुरुवात, त्यहाँबाट फोहोरको मुहान सफा गरेपछि यहाँ सफा हुन्छ । एकताका बागमती सफा गर्ने अभिायन चल्यो, त्यो पनि शुद्ध मनले गरेको त हो, तर बागमती सफा त भएन । किनभने ढल त मिसाएको मिसायै छ । माथि माथिको फोहोर झिकेर के गर्नु ? झिक्नु पनि राम्रो हो तर सफा भएन । त्यसकारण मुहानदेखि सफा गर्नुपर्छ । त्यो भनेको दलीय कब्जा नै हो । दलीय कब्जा, विद्यार्थीमा, शिक्षकमा । फेरि त्यो त्यस्तै छ, प्राध्यापक संघ भन्यो, विद्यार्थी संघ भन्यो, कर्मचारी संघ भन्यो । सबै थोक दलको छ । 

- नेपाल विश्वविद्यालय चाहिँ ती कुराहरुबाट अलग हुन्छ ? 

अलग हुन्छ भन्ने कल्पना गरेको हो । अहिलेसम्म नभएको कुरालाई कसरी भन्नु ? तर हामी अलग राख्छौं भनेर भन्ठानेका छौं ।

- त्यसलाई अलग राख्न सम्भव छ र ? 

एउटा त हामी एउटा मात्र क्याम्पस हुन्छौं । देशव्यापी सञ्जाल हुँदैन । त्यसले पनि सहयोग हुन्छ । काठमाडौं विश्वविद्यालयले त्यो अभ्यास ठीक छ भन्ने केही देखाएको छ । तर अहिले त्यहाँ पनि अलिअलि राजनीति छिर्न थालेको छ । काठमाडौं विश्वविद्यालयले हामीलाई एउटा दृष्टान्त पेश गर्छ । केही समयका लागि त सकिन्छ भन्ने देखायो । तर, यहाँजस्तो रछ्यान त छैन नि त्यहाँ । त्यसरी सोच्दा हामी अधिकांश तवरले गर्न सकौंला भन्ने लाग्छ । छुँदै छुँदैन भन्ने त हैन । कम्तिमा त्यसको प्रभाव कम गर्नका लागि हामी विद्यार्थीलाई उसको अध्ययनमा धेरै व्यस्त राख्छौं । यो विश्वविद्यालयका विद्यार्थीले सामुदायिक सेवा मार्फत् सिक्छन् । गाउँमा, शहरमा, उद्योगमा, खेतमा जान्छ, त्यहाँ के सिक्न सक्छ, सिक्छ । उसलाई फुर्सद पनि हुँदैन । खटिरहेको हुन्छ भन्ने कल्पना छ । राजनीतितिर लागेर उसको पढाइ बन्दैन भन्ने बोध हुन्छ । 

- तपाईंहरुको परिकल्पना, विश्वविद्यालयको अवधारणालाई साकार गर्न दिन्छ त अहिलेको प्रणालीले ? 

प्रणालीलाई भागभागमा लगाउनु पर्छ । दलले दिँदैन । सरकारले अलिकति दिन्छ भन्ने लाग्छ । अभिभावक, जो आफ्नो सन्तान राजनीतिमा नलागोस् भन्ने चाहन्छन्, उनीहरुबाट सहयोग हुन्छ । यहाँ दलमात्र छैन, त्यहाँ दलबाट चल्ने विद्यार्थी कम होलान् भन्ने लाग्छ । किनभने तिनीहरुको दलमा लाग्ने, अरु चिजमा लाग्ने फुर्सदै हुन्न । 

- नेपाल विश्वविद्यालयले के के विषयमा पठनपाठन गराउँछ ? 

नेपालको लागि के के आवश्यक छ ? त्यो विषयहरु छानेर पढाउने इच्छा छ । जस्तो क्लाइमेट चेन्जको बारे । हाइड्रोकोबारे, टुरिजमबारे, कन्जरभेसनबारे । पुराना कला, संस्कृतिबारे । इतिहासबारे हामी पढाउँछौं । 

अहिले नेपाल भन्दा अमेरिका राम्रो भन्ने भइसक्यो । अमेरिका भन्दा काठमाडौं राम्रो थियो, मल्लकालमा । त्यो कुरा बुझ्नुपर्यो । अनि त्यो बेला कसरी सम्पन्न भयो  ? त्यो सिक्नुपर्यो । त्यसले बरु एकदुई वटा मन्त्र छोड्छ कि अहिलेको वर्तमानका लागि ? त्यसकारण इतिहास पढ्ने कुरा, कन्जरभेसन पढ्ने कुरा एकदमै महत्वपूर्ण छ । म को हुँ, कस्तोको सन्तान हुँ भन्ने कुरा बुझ्नु परेन ? अहिले त हामी अरनिको भन्ने एउटा मान्छे थियो भन्ने बुझ्छौं । अरनिकोको एउटा अद्भूत इतिहास बनाएको छ । मल्लकाल नभएको भए अरनिको हुन्थ्यो ? ठूलो मल्लकाल भित्रको एउटा उत्पादन हो नि त्यो । हजारौं शिल्पीमध्ये एक हो नि अरनिको । त्यो हजारौं चाहिँ बिर्सिनु भएन । त्यसमा गर्व गर्न छोड्नु पनि भएन । 

नेपाल विश्वविद्यालयले शिक्षा शास्त्र पनि पढाउँछ । जो शिक्षकले जाँच लिएर आफ्नो कक्षालाई प्राइमरी स्कुलमा प्राइमरी शिक्षकले पढाउने क्षमता राख्दैन, त्यसलाई छोड भन्नुपर्छ, बिदा दिनुपर्छ । शिक्षकलाई पाँच पाँच वर्षमा जाँच लिइरहनु पर्छ । सबै शिक्षक, सबै प्रोफेसरको जाँच लिइरहनु पर्छ । एकचोटि स्थायी, सधैंका लागि स्थायी बनाउने हैन । त्यसलाई स्थायी बनाउने नै हैन । दण्ड र पुरस्कारको थिती बसाल्न पनि पर्छ । होला, निकाली नहाल्ने, ग्रेड नबढाउने, एक वर्षमा सुधार भन्ने । अनेक तरिका हुन्छ । तर इन्कम्पिटेन्ट टिचरहरु मार्फत् कस्तो भविष्य बनाउन लागिरहेका छौं हामी । आदि शिक्षकहरु इन्कम्पिटेन्ट होलान्, स्कुलमा पढाउने । हामीले शिक्षा शास्त्र पढाउँछौं । 

- नेपाल विश्वविद्यालयको आवश्यकता कुनै अध्ययनको निचोड हो ? 

अध्ययन भनेर कुनै ठेली छैन । हाम्रो जीवनको अनुभव टन्नै केलाएका छौं हामीले ।

- सरकारसँग तपाईंको अपेक्षा के छ यस विश्वविद्यालय प्रति ? 

हामीले भनेका छौं, एकचोटि मद्धत गरेर हुँदैन । हामीलाई पछिसम्म पानी हाल्नुपर्छ, यो गमलामा भनेका छौं । देश बनाउनु पर्छ भने तपाईंहरुले पानी हालिरहनु पर्छ भनेका छौं । मद्धत गरिरहनु पर्यो । पैसैको मद्धत परे । लिगल फ्रेमवर्कको, विद्यार्थीबाट, प्रोफेसरबाट द्वन्द्व हुन नदिने बनाउनुर्यो । उपकुलपति कसलाई बनाउने भन्नेमा हाम्रो रोजाइ हुनुपर्यो । हामीले बोर्डले सिफारिश गरेको मध्येबाट बनाउने भनेर भनेका छौं । सरकारको त महत्वपूर्ण योगदान चाहिन्छ । 

प्रतिक्रिया