Edukhabar
शुक्रबार, ०१ असार २०८१
अन्तर्वार्ता

‘समस्या बुझेको छु, उपकुलपतिमा प्रतिष्पर्धा गर्न तयार छु’

कसैको दवाव र प्रभावमा काम गर्ने भन्दा पनि निष्पक्ष, दक्ष, काबिल व्यक्तिको खाँचो छ ।

शुक्रबार, २० पुस २०८०

त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिका लागि सर्च कमिटिले तयार पारेको मापदण्डका बारेमा शुक्रबार दिनभरी व्यापक आलोचना भयो । योग्य व्यक्ति उपकुलपति बनाउने सार्वजनिक घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा विपरित सार्वजनिक उक्त मापदण्डले चर्को आलोचना खेपेपछि दाहालले मापदण्ड नै परिवर्तन गर्न निर्देशन दिएका छन् । 

दलीयकरणको चक्रले विश्वविद्यालय शिक्षा ध्वस्त भएको छ । विश्वविद्यालयलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन गर्न विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गत साउन ७ गते प्रा.डा. भोजराज अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले आफ्नो प्रतिवेदन विश्वविद्यालयमा बुझाईसकेको छ । विश्वविद्यालयको खास समस्या के हो ? विद्यार्थीको आकर्षण किन घट्दो छ ? उपकुलपति कस्तो व्यक्ति हुनुुपर्छ ? भन्ने विषयमा उक्त प्रतिवेदनले विस्तृत सुझाव दिएको छ । यही सन्दर्भमा प्रा.डा.अर्यालसंग मकर श्रेष्ठले गरेको कुराकानीको मुख्य अँश  :

३० वर्षसम्म विश्वविद्यालयमा काम गरिसक्नु भयो यस अवधिमा विश्वविद्यालयको समस्यालाई समेत नजिकबाट केलाउनु भएको छ । विश्वविद्यालयको खास समस्या के रहेछ ? 

म प्राज्ञिक क्षेत्रमा मात्रै सीमित नभई विश्वविद्यालयको सिनेट सदस्य समेत रहेकोले व्यवस्थापनमा पनि संलग्न भएँ । विश्वविद्यालयको समस्या समाधानको उपाय खोजी गर्न धेरै पटक अध्ययन पनि भएका छन् । अध्ययन रिपोर्ट कति कार्यान्वयन भयो भएन त्यो छुटटै विषय भयो । आंगिक कलेज स्तरमा समेत अध्ययन गरेर मैले विश्वविद्यालय बुझ्ने मौका पाएँ । 

हामीले अपनाउने करिकुलम ज्यादै पुरानो छ । समयअनुकल परिवर्तन हुन सकेको छैन । जमाना प्रविधिको भइसक्यो हामी चाहि उही पुरानै ढर्राको विषय पढाइरहेका छौ । इञ्जिनियरिङको ३० औं वर्षसम्म परिवर्तन भएन । यो एउटा उदाहरण मात्रै हो । यस्तो समस्या अरु संकायमा पनि छन् । त्यसैले पुरानो कुरा पढ्न किन विद्यार्थी नेपाली बस्ने त भन्ने प्रश्न उठेको हो । व्यवस्थापनकै कुरा गर्दा बजारले जुन म्यानपावर खोज्छ हामीले उत्पादन गर्न सकेका छैनौं । जस्तै टुरिज्म, आइटी जस्ता विषयमा हामीले जोड दिनै सकेनौँ । यो विषयलाई ध्यान लिने हो भने विद्यार्थी थेगिनसक्नु हुन्छ । विद्यार्थी भएन मात्रै भनेर हुँदैन बजारले कुन विषय खोजेको छ त्यसमा हामी जानु जरुरी छ । 

त्रिवि प्रतिको विश्वास घट्दै जानुको अर्को कारण रहेछ–परीक्षा प्रणाली । हामीले कुन समूहको परीक्षा कहिले गर्ने ? नतिजा कहिले आउँछ भन्ने यकिन गर्नै सकेका छैनौँ । विश्वविद्यालय सेवा आयोगले उद्देश्य अनुसार कामै गर्न सकेको छैन । कुन विषयको शिक्षक तथा कर्मचारी कति चाहिने हो ? यकिन गरेर परीक्षा लिने र नतिजा निकाल्नु पर्नेमा सँधै विवादमा मात्रै परिरहन्छ । यसले गर्दा विश्वविद्यालयले योग्य जनशक्ति पनि पाउन सकेको छैन । समग्रमा भन्दा सिष्टममा काम नगर्नु नहुनु नै विश्वविद्यायको मुख्य समस्या हो । 

bhoj_aryal

दलीयकरणले विश्वविद्यालयमा नकारात्मक प्रभाव पारेको प्रष्टै देखिन्छ, विश्वविद्यालयको समस्या अध्ययन गर्दा राजनीतिक प्रभाव कत्तिको पाउनु भयो ? 

उपकुलपति र अन्य पदाधिकारी नियुक्ति प्रक्रियामै समस्या छ । दल प्रति झुकाव भएको व्यक्ति नियुक्ति नगरी खुला प्रतिस्पर्धाबाट योग्य प्राध्यापकको खोजी हुने हो भने विश्वविद्यालयको आधा समस्या समाधान हुन्छ । उपकुलपति मात्रै नभई रजिष्ट्रार, रेक्टर, डीन, सहायक डीन, विभागीय प्रमख, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख समेत कुनै दल प्रति निकट भन्दा पनि योग्य व्यक्ति नछानेसम्म विश्वविद्यालय सुधार हुने सम्भावना न्यून छ । त्यसैले अब त्रिविलाई सुधार गर्न दल प्रति बफादार भन्दा पनि दक्षलाई रोज्नु पर्ने हुन्छ ।  

त्यसो हुन नसक्दा के असर गरेको छ ? 

समग्र विश्वविद्यालयलाई भागबण्डाले थिलोथिलो बनाएको छ । यसले दक्ष प्राध्यापकमा नैराश्यता छ । कुनै समिति, कार्यदल बनाउँदा समेत कम्तीमा पनि तीन वटा दल निटकका को को छन् ? भनेर खोजि हुन्छ । यसले विश्वविद्यालय सुधार्छ कि दलको अखडा बनाउँछ ? त्यसैले विश्वविद्यालय सुधार गर्ने हो भने उपकुलपति भनेको मुहान हो यहीँबाट सुधार गर्दै तलसम्म दलगत भागवण्डा निमिट्यान्न पार्नुपर्छ । विश्वविद्यालय सुधार्ने हो भने अब ‘राइट म्यान इन राइट प्लेस’ भन्ने अवधारणा लागु गर्न ढिलाई गर्नु हुदैन । 

विश्वविद्यालयमा कुनै बेला विदेशी विद्यार्थी समेत अध्ययन गर्न आउँथे अहिले शुन्य प्रायः छ यसको कारण के होला ? 

यहाँको गुणस्तर र समयमा परीक्षा लिएर नतिजा सार्वजनिक हुने कुरा नै जोडिन्छ । महिनौसम्म रिजल्ट नभएको गुनासो पनि छ । परीक्षा र नतिजा सुधार नभएकै कारण विदेशी मात्रै नभई नेपाली विद्यार्थी पनि क्रमशः घटेको देखिन्छ । यसको असर विश्वविद्यालयका विभाग र कलेजहरु बिस्तारै रित्तिदै गएका छन् । 

यसलाई सुधार गर्न के गर्नु पर्छ ? 

विश्वविद्यालयमा नराम्रा कुरा मात्रै छैनन् । विश्वमा प्रतिस्पष्र्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको पनि छ । राम्रा विषय पनि छन् । विश्वको र्याङकिङमा त्रिविको गणना पनि हुन्छ । कहिले तल र कहिले माथि हुनु स्वभाविक हो । तर, हामीले के गर्न सकेनौ भने राम्रा कुरा बेच्नै सकेनौ । विदेशी विश्वविद्यालयको कार्यक्रम बिक्रि गर्न काठमाडौं र मुख्य शहरमा २ हजार ५ सय भन्दा बढी कन्सल्टेन्सी छन् । तर, हाम्रो विषयको प्रचार हुनै सकेको छैन । नेपाली विद्यार्थी विदेश पठाए बापत कन्सल्टेन्सीले बर्षमा ११ अर्ब भन्दा बढी त कमिशन बुझछन् । अनि हाम्रो विश्वविद्यँलयहरुले कति खर्च गरेका छन् ? यो मुख्य प्रश्न हो । कन्सल्टेन्सीले कमिशन पाउनकै लागि भए पनि नेपाली विद्यार्थीलाई विदेश धकेलिरहेका छन् । यसमा नेपाली विश्वविद्यालयको मात्रै होइन नेपाल सरकारको पनि कमजोरी छ । जबसम्म कन्सल्टेन्सीलाई नियन्त्रण गर्दैनौ तबसम्म नेपाली विद्यार्थीलाई लोभ्याउँदै विदेश पठाउने काम रोकिदैन । 

त्रिविको विश्वास बढाउन के गर्नुपर्छ ? 

राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ । अर्को परीक्षा प्रणाली सुधार गर्नु पर्ने देखिन्छ । परीक्षामा पनि प्रविधि पोख्त जनशक्ति थप गर्नुपर्छ । शैक्षिक क्यालेण्डर पूर्ण रुपमा लागू गर्नुपर्छ । विश्वविद्यालयमा सानो निउँमा पनि तालाबन्दी, आन्दोलन र तोडफोडको घटनाले पनि नकारात्मक असर परेको छ । यसलाई पनि अन्त्य गर्नु आवश्यक छ । सबैले अधिकार खोज्छन तर, कर्तव्य पुरा गर्दैनन् । यो विद्यार्थीदेखि प्राध्यापकसम्मले मनन गर्नु पर्ने विषय हो । 

यी तमाम समस्या समाधान गर्न कस्तो भिसी चाहिन्छ ?

कसैको दवाव र प्रभावमा काम गर्ने भन्दा पनि निष्पक्ष, दक्ष, काबिल व्यक्तिको खाँचो छ । दलको कार्यकर्ता हो भनेर ट्याग लागेको सकेसम्म नहोस् । जो भीसी भएर आउँछन् उसलाई सबैले सम्मान गरोस्, अनि उसले गरेको निर्णय वा निर्देशन मातहतका सबैले पालना गरोस् । हामीले चाहेको भीसी यस्तै हो । 

विश्वविद्यालयका समस्या अध्ययन गर्न तपाईकै नेतत्वमा बारम्बार अध्ययन समिति बनेको छ । समस्यालाई नजिकबाट नियाल्नु भएको छ, तपाईले नै नेतृत्व लिन सक्नु हुन्न ? 

यो महत्वपूर्ण प्रश्न हो । विश्वविद्यालयको समस्याबाट भाग्ने होइन सरकारले टीम बनाइ दिने हो समाधान गर्न सकिन्छ । अहिले मैले अध्ययन गर्दा जे समस्या देखेको छु समाधान गर्नै नसक्ने भन्ने पनि छैन । म यही विश्वविद्यालयको क्याडर हँु । म संग ३० वर्षको अनुभव छ । २०५१ मा विश्वविद्यालमा पार्ट टाइम शिक्षकको रुपमा प्रवेश गरेर २०५४ मा खुलेको त्रिवि सेवा आयोगमा पहिलो नम्बरमा नाम निकालेको हुँ । उप–प्राध्यापक, सहप्राध्यापक हँुदै प्राध्यपाक भएको पनि १० वर्ष भइसक्यो । ३० बर्षे सेवा अवधिमा मैले स्कूल अफ म्यानेजमेण्टको सह–निर्देशकको रुपका काम गरेँ । विश्वविद्यालयले सेमेष्टर प्रणाली लागु गरेपछि व्यवस्थापन विभागीय प्रमुखको रुपमा चार वर्ष काम गरँे । अहिले व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत छु । 

प्राज्ञिक बाहेक विभागीय नेतृत्व लिएको अनुभव पनि छ । यो समस्या समाधान गर्न नेतृत्व लिन म पछि पर्दिन । अहिले जे समस्या छ यसलाई नजिकबाट बुझेको छु । के गर्दा समाधान हुन्छ त्यो पनि मलाई थाहा छ । 

त्यसो भए शिक्षा मन्त्रालयले निकालेको खुला प्रतिष्पर्धामा सहभागि हुनुहुन्छ ? 

सरकारले निकालेको मापदण्डमा मेरो योग्यता पुग्दाको बखत म प्रतिस्पर्धी बन्न तयार छु । किनभने मैले विश्वविद्यायलाई चिनेको मात्रै छैन कि यहाँको समस्या र उक्त समस्या समाधानको जरा पहिल्याएको छु । 

प्रतिक्रिया