Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
खबर/फिचर

त्रिवि उपकुलपति छनौटको कमजोर मापदण्ड

‘कसैले तीन वर्ष मात्रै काम गरेको हुन सक्छ । उसलाई सजिलो हुने गरी सूचना जारी भएको हुनसक्छ'-पूर्व सदस्य सचिव भोला पोखरेल

शुक्रबार, २० पुस २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य व्यक्ति छनौट गर्ने घोषणा गरेपनि विश्वविद्यालयको कुनै पदमा ३ वर्ष काम गरेकाले पनि प्रतिष्पर्धा गर्न पाउने खुकुलो मापदण्ड बनाइएको छ । दाहालले विश्वको जुनसुकै मुलुकमा काम गरेको योग्य नेपालीबाट प्रतिष्पर्धा गराएर उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा दाहालले खुला प्रतिष्पर्धाबाट छनौट गर्ने घोषणा दरखास्त माग गरेको दिनसम्म आइपुग्दासम्म पनि टिक्न सकेन । 

उपकुलपति सर्च कमिटीले जारी गरेको दर्खास्त आह्वान सम्बन्धी सूचनामा विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण पेस गरे मात्रै हुने उल्लेख  । विश्वविद्यालय कुन भन्ने चाहिँ खुलाइएको छैन । 

उम्मेदवारले दरखास्त दिनको लागि नागरिकताको प्रमाणपत्र, वैयक्तिक बिबरण, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, प्राध्यापकको सुरु नियुक्ति पत्रको प्रतिलिपि माग गरेको छ । त्यस्तै विश्वविद्यालय सुधार गर्ने ३ हजार शब्दको सोचपत्र, ५ हजार शब्दमा चार वर्षे व्यावसायिक कार्य योजना पेस गर्नु पर्ने हुन्छ । नेपाली नागरिकले ३० गतेभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्नु पर्ने हुन्छ ।

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ । उपकुलपति छनौटको लागि शिक्षा मन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ । कमिटीले उपकुलपति खोजीको लागि सूचना जारी गरेको हो । उपकुलपतिको लागि दर्खास्त दिने सूचनाले कुनै पदमा नबसेको योग्य प्राध्यापकलाई रिङ बाहिर राखेको त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले बताए । ‘जो यसअघि पदमा भइसकेका छन् उनीहरू मात्रै फेरी प्रतिस्पर्धा गर्न पाउने भए,’उनले भने,‘नयाँ मान्छे कोही पनि नआउने भए । जो सिस्टममा छन् उसले मात्रै अवसर पाउने भए । यसले गतिलाग्दो परिणाम आउला जस्तो लागेन ।’

विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य सचिव भोला पोखरेलले उपकुलपतिमा कम्तीमा तीन वर्ष भन्ने शब्दले निश्चित व्यक्तिलाई लक्षित गरेको देखिने बताए । ‘आफ्ना मान्छे को छन् ? उसलाई लक्षित गरेर विज्ञापन गरेको देखिन्छ,’उनले भने,‘ कसैले तीन वर्ष मात्रै काम गरेको हुन सक्छ । उसलाई सजिलो हुने गरी सूचना जारी भएको होला ।' अनुसन्धानमा पोख्त, बौद्धिक चोरीमा नपरेको व्यक्तिलाई प्राथमिकता दिनु पर्नेमा कुनै पदमा ३ वर्ष अनुभवले त्रिवि सुधार हुन नसक्ने विज्ञहरू बताउँछन् । ‘उपकुलपतिको खोजीको लागि जुन सूचना जारी भएको छ । यसले त प्रतिस्पर्धालाई देखावटी मात्रै बनाउन खोजेको छ,’त्रिविका एक पदाधिकारीले भने । 

 

tu-vc-suchana-0512024030622-1000x0

प्रतिक्रिया