Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

नमूना विद्यालयका प्रअकै शैक्षिक प्रमाणपत्र झुट्टा !

विहीबार, १९ माघ २०७९

काठमाडौं - चितवनको भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापकको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएका दावी सहित आरोपपत्र दायर गरिएको छ । कालिका नगरपालिका वडा नं ५ स्थित सो विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले शैक्षिक प्रमाणपत्रको किर्ते गरेको उजुरी परेपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । 

उक्त विद्यालय सरकारले घोषणा गरेको नमूना विद्यालय हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रअ कँडेलविरुद्ध स्नातक (बिएस्सी) तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्ने उजुरी निवेदन परेको जनाएका छन् । भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उजुरी निवेदनमाथि अनुसन्धान हुँदा प्रधानाध्यापक कँडेलले निमावि तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइएससी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको जनाइएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र किर्ते गरी लाभ लिई भ्रष्टाचार गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन माग दावीका साथ बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यसअघि कँडेल अख्तियारको अनुसन्धानको दायरामा रहेको भन्दै उनले पाएको प्रवल जनसेवाश्री विभूषण खोस्ने सरकारले निर्णय गरेका थियो । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका विवादित ६ व्यक्तिको नाम रद्द गर्ने क्रममा कँडेलको नाम पनि सरकारले हटाएको थियो । कँडेल सहित हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी, भ्रष्टाचार मुद्दा चलिरहेका उद्योगी पशुपति मुरारका व्यापारी चिराग गोयल, शिक्षक यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठको विभूषण मन्त्रिपरिषद्ले रद्द गरेको हो । संविधान दिवसको दिन पारेर सरकारले ९९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको थियो । 

 

 

प्रतिक्रिया