Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

स्वच्छ हावाबारे विद्यालय तहमै पढाई हुने

बुधबार, २५ माघ २०७९

भक्तपुर - चाँगुनारायण नगरपालिकाले स्वच्छ हावाबारे विद्यालयमा पठनपाठन गराउने भएको छ । वायु प्रदूषणको मारमा परिरहेका भक्तपुरका विद्यार्थीलाई सोबारे सचेत बनाउन ‘स्वच्छ हावा’ बारे अध्यापन गराइने भएको हो । त्यसका लागि आवश्यक नीति बनाउन नगरपालिकाले शैक्षिक क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ ।

जिल्लाका ६२ इँटा उद्योगहरु मध्ये ५२ वटा इँटा उद्योग रहेको नगरपालिका वायु प्रदूषणको जोखिममा रहेको छ । त्यसबाट नगर क्षेत्रका शैक्षिक क्षेत्र समेत अछुतो नभएको भन्दै सोबारे अध्यापन गराउन जरुरी रहेको सरोकारवालाहरुले जोड दिएका छन् ।

युएसएआइडी, एफएचआइ ३६०, एआइटी, एन्फोलगायतको सहयोगमा नगरपालिकाले सञ्चालन गरिरहेको स्वच्छ हावा परियोजना अन्तर्गत शिक्षा क्षेत्रका सरोकारवालाहरुसँगको गोलमेच छलफलमा एन्फोका शिक्षा सल्लाहकार शुभेन्द्रमान श्रेष्ठले वायु गुणस्तर व्यवस्थापनमा शिक्षा क्षेत्रको संलग्नता जरुरी रहेको बताए । उनले वायु गुणस्तरका लागि पाठ्यक्रममा विषयवस्तु समावेश भए पनि त्यसलाई सरकारी तवरबाट कार्यान्वयनमा उदासिनता देखाउनु दुःखद पक्ष भएको बताए । वायु गुणस्तरबारे शिक्षकहरुले नै पठनपाठन गरी व्यवहारमा लागू गराउन उत्साहित गर्न समेत उनको सुझाव थियो । प्रदूषण र सिकाइको स्तरबीच घनिष्ठ सम्बन्ध रहेको तथ्यले प्रमाणित गरेको जनाउँदै उनले प्रदूषणका विषयमा व्यवहार परक तरिकाले अध्यापन गर्न सकेमात्र शिक्षा दिगो र प्रभावकारी हुनेमा जोड दिए । उनले प्रदूषणका कारण अदृष्य रुपमा शैक्षिक क्षति भोग्न बाध्य रहेको उल्लेख गर्दै बढ्दो प्रदूषणका कारण शैक्षिक संस्थामा बिदा दिने अवस्था आएको बताए ।

वायु गुणस्तरबारे चाँगुनारायण नगरपालिकाको शिक्षा क्षेत्रको क्षमता, कमजोरी, अवसर तथा चुनौतिहरुबीच शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबीच भएको सामूहिक छलफलमा नगर प्रमुख जीवन खत्रीले स्वच्छ हावा तथा स्वस्थ वातावरणमा अध्ययन गर्न पाउनु विद्यार्थीको अधिकारको विषय भएकाले त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताए ।

उनले वायु प्रदूषणको सिकारमा वयस्कभन्दा ससाना बालबालिकाहरु जोखिममा रहने गरेको कारण नयाँ पुस्तालाई स्वस्थ बनाउनका लागि पनि नगरले स्वच्छ हावा परियोजनालाई प्राथमिकता दिएको बताए ।

 छलफलमा शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले वायु प्रदूषणको कारण, असर र त्यसलाई नियन्त्रण गर्ने र न्यूनीकरण गर्ने उपायबारेका विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने जनाए । उनले स्वच्छ हावा भएमात्र पठनपाठनमा सुधार आउने उल्लेख गर्दै विद्यालयहरुले स्थानीय स्तरमा रहेका विभिन्न स्रोत र साधनको उपयोग गरी विद्यालयलाई हरित विद्यालय बनाउन सकिने उल्लेख गर्दै वातावरण संरक्षणको अभ्यास विद्यालयमा गर्न सकिने बताए । 

छलफलपछि शिक्षकहरुले स्वच्छ हावाका कारण विभिन्न शैक्षिक क्षति व्यहोरे पनि त्यसलाई स्थानीयमात्र नभई संघीय सरकारले समेत वेवास्ता गरेको अनुभव सुनाएका थिए । उनीहरुले वातावरणलाई स्वच्छ राख्न र वायु प्रदूषण न्यूनीकरणका लागि राजनीतिक प्रतिवद्धताको खाँचो औंल्याएका थिए ।

छलफलमा एन्फोका संगिता दण्डेख्याले विश्वका १ सय प्रदूषित सहरमध्ये काठमाडौं ९१ र सिद्दार्थनगर ६१ स्थानमा रहेको जनाउँदै वातावरण प्रदूषण हुनुका कारणबारे छलफल गरी समाधानका उपाय खोज्नुपर्नेमा जोड दिइन् । 

नगरको वायु स्वच्छ बनाउनका लागि रहेका विद्यमान चुनौतिहरु पार गर्नका लागि छलफल जारी गरिएको वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताए । उनले सो विषयमा निरन्तर रुपमा विविध कार्यक्रमहरु सञ्चालनमा रहेको समेत जानकारी दिए ।

 

प्रतिक्रिया