Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक र पदाधिकारीलाई जवाफदेही बनाउन आवश्यक : राष्ट्रपति भण्डारी

शुक्रबार, २७ माघ २०७९

काठमाडौं - शिक्षाको गुणस्तर प्रति शिक्षक र पदाधिकारीलाई जवाफदेही बनाउन आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको स्मरण गराएकी छन् । 

'शिक्षा क्षेत्रको काम गर्ने सोच, शैली र कार्यरत जनशक्तिको दक्षता तथा क्षमतामा ब्यापक सुधार गर्नु पर्दछ' सम्बोधनका क्रममा उनले भनिन् 'शिक्षक र पदाधिकारीलाई काम प्रतिको जिम्मेवारी महशुस गराई शिक्षाको गुणस्तर प्रति जवाफदेही बनाउनु आवश्यक छ ।'  

संविधानको मौलिक हकको रुपमा व्यवस्था गरिएको शिक्षा सबै क्षेत्रको शशक्तिकरणको पहिलो आधार स्तम्भ भन्दै उनले दक्ष र उच्च दक्ष जनशक्तिको उत्पादनलाई उच्च प्राथमिकता दिई मानव विकासमा लगानी बढाउनु पर्ने बताईन । कतिपय स्थानीय तहको साक्षरता दर अझै न्यून रहेकाले साक्षरता प्रवर्धनका लागि स्थानीय तहलाई आवश्यक श्रोत र साधन उपलब्ध गराउन एवं शिक्षाको गुास्तर बढाउन सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ । 

'शिक्षा प्रणालीमा गुणस्तर सुधार र जीवनउपयोगी पाठ्यक्रम र सो अनुरुपको पठन पाठनको विकास गर्नु पर्ने देखिएको छ' उनले भनिन् 'विद्यालय शिक्षाम बृहत सुधार गर्दै विश्वविद्यालयलाई शिक्षाको उत्कृष्ट केन्द्रमा रुपमा विकास गर्नु पर्ने छ ।' 

सार्वजनिक र नीजि क्षेत्रको सहकार्यमा विश्वविद्यालयका उत्पादनलाई रोजगारीसँग जोड्ने गरी  शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक देखिएको बताउँदै उनले शैक्षिक प्रणालीलाई पठनपाठनका साथै अनुसन्धानमा संलग्न गरी सरकारी तबरबाट हुने अनुसन्धानमा सहभागी गराउनु आवश्यक रहेको उल्लेख गरिन् । 

आजका युवा नयाँ कुरा गर्न र सिक्न चाहना गर्ने भएको बताउँदै उनले बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्न सक्षम हुनेगरी शैक्षिक प्रणालीमा सुधार गर्ने तथा सीप परीक्षण गर्ने कार्यलाई एकिकृत ढंगबाट अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन् । 

राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको पनि बताएकी छन् । अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको उनको भनाई छ । 

संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै उनले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्वपूर्ण भएको बताईन् ।
कार्यकाल सकिने छेकमा संसदको संयुक्त बैठकमा सम्बोधन गरेकी  राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढेको झल्को दिने गरी लिखित भाषण गरेकी थिइन् । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदै छ । 

प्रतिक्रिया