Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

विद्यालय भवनको उद्घाटन

मंगलबार, ०२ फागुन २०७९
भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी माध्यमिक विद्यालयको नवनिर्मित दुुईवटा भवनको उद्घाटन गरेका छन् । भक्तपुरको च्याम्हासिंह र कमलविनायकमा बनाइएको बागीश्वरी माविको नयाँ भवनको नगर प्रम्ुख प्रजापतिले उद्घाटन गरेका हुन् ।
 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्मित उक्त भवनको ताम्रपत्र अनावरण र रिबन काटेर उद्घाटन गरिएको थियो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले बागीश्वरी मावि भक्तपुरको मात्र नभई देशकै नमुना विद्यालय भएको बताए ।
 
उनले सामुदायिक शिक्षामा विद्यार्थीको पहिलो रोजाइ हुन सफल बागीश्वरीमा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन भइरहेको जनाउँदै कुनै पनि बन्द, हड्तालमा समेत भक्तपुरका विद्यालय तथा कलेजहरु बन्द हुने नगरेको बताए ।
 
देशको शैक्षिक संस्थाहरुमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गरिरहेको उल्लेख गर्दै उनले नवनिर्मित भवनको अधिकतम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गरे ।
 
ईकाईका प्रमुख डिल्लीराम लुईटेलले २०७२ सालको भूकम्प पश्चात नेपाल सरकारले ८ हजार भन्दा बढी विद्यालय भवन निर्माण गरिरहेको जानकारी दिए । आयोजनाको जिल्ला स्थित ईकाईका प्रमुख रमेश मैनालीले उत्कृष्ट नेतृत्वकै कारण बागीश्वरीको शैक्षिक सफलता सम्भव भएको बताए ।
 
बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरीले देशको शैक्षिक प्रगतिमा उल्लेखनीय भूमिका खेल्दै आएको चर्चा गरे ।
 
विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले भवन निर्माणको आय–व्यय प्रस्तुत गर्दै बागीश्वरीको नयाँ भवनबाट छिटै व्यवस्थित रुपमा कक्षा सञ्चालन हुने बताए ।
 
सोही समारोहमा ईकाई प्रमुख मैनालीले भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे भने नगर प्रमुख प्रजापतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्याख्वलाई उक्त साँचो हस्तान्तरण गरे ।

प्रतिक्रिया