Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालयद्वारा कार्यदल गठन, समाधानको पहल गर्ने अख्तियारी

बुधबार, ०३ फागुन २०७९

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका लागि आमरण अनसन बसेका प्रकाश न्यौपानेले उठाएका विषयमा वार्ता गर्न शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा काठमाडौंका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल र केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्मा सदस्य छन् । 

कार्यदललाई वस्तुस्थिति बुझि संवाद र सहजीकरण गरी समस्या समाधानको पहल गर्न अख्तियारी दिईएको छ ।  

सार्वजनिक शिक्षा सुधारका विभिन्न १६ बुँदे माग सहित माघ २९ गतेबाट दरबार हाईस्कुलमा आमरण अनसन बसेका न्यौपानेलाई मंगलबार धरपकड गरेर प्रहरी बृत्त दरबारमार्ग लगिएको थियो । त्यसपछि वीर अस्पताल भर्ना गरिएका न्यौपानेले अस्पतालको बेडबाटै आमरण अनसनलाई निरन्तरता दिएको बताउँदै आएका छन् । 

नीजि शैक्षिक संस्थामा आम नागरिकका बालबालिकाहरु पढ्न नसक्ने तर सार्वजनिक शैक्षिक संस्थाहरु दिन प्रतिदिन खस्कदै गईरहेका हुनाले आम नागरिकमा चरम निराशा बढ्दै गइरहेको निष्कर्श सहित उनले आमरण अनसन शुरु गरेको बताएका छन् । गुणस्तरीय शिक्षा राजनीतिक दलका नारामात्र भएको बताउँदै उनले शिक्षा नागरिकको जीवन बदल्ने र देशको मुहार फेर्ने आधार कहिल्यै नबनेकोमा चिन्ता ब्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले सार्वजनिक विद्यालय अभिभावक तथा बालबालिकाको पहिलो रोजाईको हुन नसकेको उनको निष्कर्श छ । सार्वजनिक विद्यालयमा अब्बल शिक्षकहरू हुँदा हुँदै पनि चाहार र झोले शिक्षकहरूको हालीमुहाली भएको उल्लेख गर्दै उनले शिक्षा मन्त्रीलाई जानकारी गराएको पत्रमा के हामीले  हाम्रो गाउँ ठाउँको विद्यालय सुधार गर्न सक्दैनौं र ? प्रश्न गरेका छन् । 

उनका मागहरु पढ्नुहोस्  : सार्वजनिक शिक्षा सुधारका माग 

प्रतिक्रिया