Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

देशको साक्षरता दर १०.४ प्रतिशतले वृद्धि : एसएलसी सरह उत्तीर्ण गर्नेहरु ९.५ प्रतिशत मात्र

शनिबार, ११ चैत्र २०७९

काठमाडौं - नेपालमा एसएलसी वा सो सरहमात्र उत्तीर्ण गर्ने जनसंख्या ९.५ प्रतिशतमात्र रहेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाले सो तथ्य सार्वजनिक गरेको हो । जनगणनाको पूर्ण विवरण शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।  

राष्ट्रिय जनगणना २०७८ ( जनगण्ना सन्दर्भ दिन २०७८ मंसिर ९ ) को तथ्याकं अनुसार नेपालको जनसंख्या कूल २ करोड ९१ लख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत  र पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत रहेको छ ।

सो जनसंख्यामध्ये उत्तीर्ण गरेको शैक्षिक तह अनुसार कूल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेको व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् भने एसएलसी वा सो सरहमात्र उत्तीर्ण गर्ने जनसंख्या ९.५ प्रतिशतमात्र रहेको छ । यसैगरी एसएलसीभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत र अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कूल जनसंख्यामामा साक्षरता दर ७६.२ प्रतिशत रहेको जनाएको छ । पुरुषको साक्षरता दर ८३.६ छ भने महिलाको साक्षरता दर ६९.९ प्रतिशत रहेको छ ।

अघिल्लो अर्थात् २०६८ को जनगणनमा कूल साक्षरता दर ६५ं९ प्रतिशत रहेको थियो । सो जनगणनामा पुरुष साक्षरता दर ७५.१ र महिलाको साक्षरता दर ५४.४ प्रतिशत रहेको थियो । सो तथ्यांकले विगत दश वर्षमा नेपालको साक्षरता दर १०.४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

जनगणनाको नतिजाले देशका ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका कूल २ करोड ६६ लाख ७५ हजार ९७५ जनसंख्यामा २ करोड ०३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न दुबै जान्ने देखाएको छ । जस अनसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत कायम रहेको छ । त्यसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत, महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

साक्षरताकै सन्दर्भमा नगरपालिका क्षेत्रमा ७८.८ प्रतिशत साक्षर, गाउँपालिका क्षेत्रमा ७१.९ प्रतिशत साक्षरको जनसंख्या रहेको छ । भौगोलिक क्षेत्र अनुसार हिमाल क्षेत्रको  साक्षरता दर ७२.८, पहाड क्षेत्रको ८०.९ र तराई क्षेत्रको ७३.१ प्रतिशत रहेको छ ।

प्रदेशगत रुपमा वागमती प्रदेशमा सबैभन्दा बढी साक्षर जनसंख्या देखिएको छ । सो प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । त्यस्तै गण्डकी प्रदेशको साक्षरता दर ८१.९, कोशी प्रदेशको ७९.७, लुम्बिनी प्रदेशको ७८.१, सुदूरपश्चिम प्रदेशको ७६.२, कर्णाली प्रदेशको ७६.१ र मधेश प्रदशेको ६३.५ प्रतिशत रहेको छ । 

जनगणनाको नतिजाले सबै जिल्लाहरुमा ५५ प्रतिशतभन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाठौं जिल्लामा सबैभन्दा बढी(८९.२३ प्रतिशत) र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलानमा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । रौतहट जिल्लामा भने महिला र पुरष दुबैको साक्षरता दर अन्य सबै जिल्लाहरुको भन्दा कम रहेको छ ।

सबैभन्दा बढी साक्षरता दर भएका जिल्लामा दोस्रोमा ललितपुर(८८.०८), तेस्रोमा भक्तपुर(८७.९६), चौथोमा कास्की (८७.७३) र पाँचौमा चितवन(८३.६८) रहेको छ । त्यस्तै सबैभन्दा कम साक्षरता दर भएका जिल्लाको सूचीमा दोस्रूोमा महोत्तरी(५९.७७), तेस्रोमा सर्लाही(६०.३१), चौथोमा हुम्ला(६३.८४) र पाँचौमा बारा (६४.५४) रहेका छन् ।

प्रतिक्रिया