Edukhabar
आइतबार, ३० असार २०८१
राम्रा कसरी राम्रा

मुर्झाईसकेको ६० बर्षे विद्यालयको फक्रिदो रुप

आइतबार, १२ चैत्र २०७९

भक्तपुर - इताछेँ (साविक नवदुर्गा हल) बाट पश्चिम भएर ओरालो आउने बेलामा तेखापुखु चोक नपुग्दै एक जोर फल्चा (पाटी) आउँछ ।

ती फल्चा मध्ये एउटा फल्चामा बोर्ड राखिएको छ ः ‘उदय आधारभूत विद्यालय’ । त्यही बोर्डमा लेखिएको छ : स्थापित - वि.सं. २०१९ । 

उक्त विवरण लेखिएको बोर्ड देख्ने बित्तिक्कै अझ पनि विद्यालय फल्चामै हो कि ? भन्ने लाग्न सक्छ । तर विद्यालय त्यो फल्चामा हैन, त्यही फल्चालाई छेउ लगाएर जानुपर्छ । फल्चासँगैको गारेटो बाटो हुँदै अलिकति हिँड्ने बितिक्कै इनार भएको चोक आउँछ । त्यही चोक छेउमा अर्को सानो गल्ली आउँछ । दिउँसोको समयमा चोकका पुग्नासाथ शिक्षकहरुले पढाइरहेको, बाबुनानीहरु पढिरहेको आवाज सुनिन्छ । विद्यालय रहेको कुराको अर्को प्रमाण हो, विद्यालय छिर्ने ढोकासँगै लेखिएको नारा : ‘कक्षाकोठा विद्यालयको कम्पाउण्ड नियमित सफाइ गरौं’।

विद्यालय नै हो कि हैन ? भन्ने भान पार्ने खालको भवन, त्यही भवनको छिँडी र माथिल्लो तल्लामा रहेका चारवटा कोठा । अन्दाजी २ आनाको क्षेत्रफल । भौतिक सम्पत्ती यत्ति नै हो उदय आधारभूत विद्यालयको ।

विद्यालय छिर्ने बित्तिक्कै अँध्यारो हुन्छ । त्यहीँ अँध्यारो हटाउन विद्यालयले बिजुलीको बन्दोबस्त गरेको छ भने शिक्षकहरले त्यहाँ पढिरहेका विद्यार्थीको उज्ज्वल भविष्यका लागि दियोको काम गरिरहेका छन्, कक्षाकोठा सिंगारेर, नियमित पठनपाठन गराएर ।

ती दुइटै कारण कक्षाहरु झिलीमिली छन् । प्रारम्भिक बालकक्षा देखि ५ सम्मको पढाइ हुने उक्त विद्यालयमा कक्षाकोठा अभाव छ, तैपनि तीन शिक्षकहरु (रिता जोन्छे, प्रधानाध्यापक, शिक्षकद्वय मनिता सिंह र कल्पना श्रेष्ठ) ले व्यवस्थापन गरिरहेका छन् ।

६० वर्षअघि  स्थापना भई शैक्षिक योगदान दिएको उदय आधारभूत विद्यालय पुनः शैक्षिक फड्को मार्ने दिशामा अघि बढेको छ । 

कुनै समय खचाखच विद्यार्थी भएको सो विद्यालयमा पछिल्लो दशक भने विद्यार्थी घट्दै गएको थियो । विद्यार्थी घटेपछि स्थानीयले समेत चासो कम गरेका थिए ।

भक्तपुरका दिग्गज व्यक्तिहरू जन्माउन भूमिका खेलेको यो विद्यालय क्रमशः स्थानीयवासिन्दाको बेवास्तामा परेको थियो, त्यसले गर्दा विद्यार्थी घट्दै गइरहेका थिए, तर अहिले राम्रो गरिरहेको छ ।

एक स्थानीयले भने, 'विद्यार्थी बढ्दो छ, स्कूलका कक्षाकोठा राम्रा हुँदैछन्, अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका छन् ।'

यो परिवर्तनले अहिले स्थानीय खुसी भएका छन् । टोलको विद्यालय बौरिन थालेपछि, शिक्षकहरूले त्यसको नेतृत्व लिन थालेपछि देखिएको सुधारकै कारण डेढ वर्षअघि दर्जन विद्यार्थीमा सीमित विद्यालयमा अहिले ६० बढी विद्यार्थी भर्ना भइसकेका छन् ।

इताछेंको तँक्वने (उकालो मुनि) को विद्यालय, च्वँङ्गा गणेश मन्दिरको द्यो छें ( देवघर) मा सञ्चालन भइ हाल दुई आना जग्गाको क्षेत्रफलमा तीन तल्लाको भवनमा सञ्चालन भइरहेको विद्यालयका कक्षाकोठाहरू अँध्यारो कोठामा सञ्चालित हुन बाध्यता थियो । अहिले भने कक्षाकोठाहरू उज्याला भएका छन्, बिजुली बत्तीको उज्यालोसँगै कक्षाकोठाका सिलिङ, भित्ताहरूका शैक्षिक सामग्रीहरू चम्किला भएका छन् ।

शिक्षकहरू विहान साढे नौ बजे आइपुग्छन्, अनि पालैपालो विद्यालय छिर्ने फल्चासँगैको बाटोमा उभिन्छन्, विद्यार्थी र अभिभावकलाई मुस्कानसहित स्वागत गर्छन् ।

‘हामीले गएको वैशाखदेखि यसरी पाटीमा बसेर विद्यार्थीलाई स्वागत गरिरहेका छौं’' शिक्षक कल्पना श्रेष्ठले भनिन्, ‘यो कामले गर्दा कतिपय स्थानीयहरुले राम्रो प्रतिक्रिया दिएका छन्, त्यतिमात्र हो र ? अझ पनि यो स्कूल बाँकी छ र ? भनी प्रश्न पनि गर्छन् ।’

त्यसको जवाफमा शिक्षकहरूको साझा मत छ :‘स्कुल थियो, छ र रहन्छ, त्यसका लागि तपाईंहरुको साथ, सहयोग चाहिएको छ, हामी लागिरहेका छौं ।’

प्रधानाध्यापक रिता जोन्छेले विद्यालयले पछिल्लो समयमा विद्यार्थी संख्या बढाएको बताइन् । उनले विद्यालय बनाउनका लागि शिक्षकलाई उत्प्रेरणा, साथ, सहयोगसँगै सकारात्मक सोचको जरुरी रहेको अनुभव सुनाइन् । 

‘एकपटक एउटा पत्रिकाले स्कुल नै कोल्याप्स भयो भनी झुठो समाचार लेखिदियो, त्यसले गर्दा शिक्षकहरु निराश भए, हुँदै नभएको कुरा लेखेर निराश बनाउँदा शिक्षकहरुको जाँगर मर्यो, त्यसैले शिक्षकलाई उत्प्रेरणा दिने काम गर्नुपर्छ’, उनले भनिन् ।

पछिल्लो समयमा स्थानीय तह र वडा कार्यालय, वडा अध्यक्ष समेतले विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ, हामी सहयोग गर्छौ भन्ने भावना सहितको अनुगमनले शिक्षकहरुमा जोश थपिएको उनको अनुभव छ । सोही अनुसार अहिले विद्यालयलाई सहयोग गर्ने स्थानीय बढेका छन्, त्यही सहयोगले विद्यालयलाई विश्वास गर्नेहरुको संख्या बढेको उनी बताउँछिन् ।

शिक्षकहरुले पनि विद्यार्थी संख्या बढाउन समय समयमा घर दैलो गरेका छन्, नेपाली माध्यमबाट मात्र नभएर अँग्रेजी माध्यमबाट समेत पठनपाठन सुरु गरेका छन्, कक्षाकोठाको सजावट गरेका छन् । भएको ठाउँको भरपूर उपयोग गरेका छन् ।

‘हामीले बाबुनानीहरुलाई किताबी ज्ञानमात्र दिएका छैनौं, विभिन्न अरु व्यावहारिक ज्ञान पनि दिएका छौं,’ शिक्षक मनिता सिंहले भनिन्, ‘हामी विद्यार्थीलाई असल संस्कार र व्यवहार पनि सिकाउँछौं, त्यही भएर यहाँ पढ्ने विद्यार्थी अनुशासित छन्, छाडा बोल्दैनन्, यसले पनि हामीप्रतिको विश्वास बढेको छ ।’ 

तीन जनामात्र शिक्षक दरबन्दी भए पनि उनीहरूले कहिल्यै पनि कक्षाकोठा खाली गरेका छैनन् । कक्षाकोठालाई अहिलेको आवश्यकता अनुसार सूचना प्रविधिसँग पनि जोडेका छन् ।

कक्षाकोठामा एलइडी टेलिभिजन सेट जडान गरी उनीहरुलाई विभिन्न शैक्षिक विषयहरुबारे जानकारी गराउने काम विद्यालयले गराएको छ । सीमित ठाउँ, चौरको अभाव झेलिरहे पनि कहिलेकाहिँ शारिरीक अभ्यास र खेल खेलाउन नजिकैको खुला ठाउँमा अभ्यास गराउने गरिएको छ ।

६० वर्षको विद्यालयसँगै भक्तपुर नगरपालिकामा रहेका अन्य समस्याग्रस्त आधारभूत विद्यालय बनाउनुपर्छ भनेर नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिले एक अध्ययन गरेको थियो ।

त्यो अध्ययनसँगै विद्यालय सुधारका लागि स्थानीय पालिकाले गर्नुपर्ने काम र योजना पनि पालिका प्रमुखलाई अवगत गराएको थियो । सोही समस्या पहिचान गरी नगरपालिकाले आधारभूत विद्यालयको अवस्था सुधारका लागि आर्थिक, भौतिक सहयोग गरेपछि उदय सँगै अन्य विद्यालयहरुमा पनि विद्यार्थीको आर्कषण बढ्न थालेको छ ।

एक समय मुर्झाएका विद्यालयहरु पुनः फक्रिने क्रममा रहेको प्रधानाध्यापक जोन्छेले सुनाइन् । उनले स्थानीय तहले अपनत्व लिएर समयसमयमा अनुगमन गर्ने, आवश्यक सल्लाह सुझाव दिने काम गरे पनि विद्यालय सञ्चालनका लागि हौसला मिल्ने बताइन् ।

'निजी स्कूलसँग प्रतिस्पर्धा गर्नुपर्ने हाम्रो बाध्यता भएकाले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेका छौं' प्रधानाध्यापक जोन्छेंले भनिन्, 'पढाइका साथसाथै विभिन्न शैक्षिक र अतिरिक्त क्रियाकलाप गराइ पठनपाठन गराइरहेका छौं ।'

उनले विद्यार्थीलाई अंग्रेजी माध्यमबाट पठनपाठन हुने पाठ्यपुस्तक उपलब्ध गराएको बताइन् । सीमित क्षेत्रफल भएका कारण बाहिरी खेलभन्दा भित्री खेललाई जोड दिएर विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप गराइरहेको शिक्षक बिमला श्रेष्ठले बताइन् । 
'हामीले आफ्नो क्षमताले भ्याएसम्म शैक्षिक र अतिरिक्त क्रियाकलाप गराई पठनपाठन गराइरहेका छौं' उनले भनिन् 'सीमित ठाउँका बावजुद पनि खेलकुदका कार्यक्रम गरिरहेका छौं ।'

सोही कारण विद्यार्थीले भक्तपुर नगरपालिकाले आयोजना गरेको स्थानीय खेल कसिमलाः पायँमा उत्कृष्ट स्थान हासिल गरेको छ । शिक्षकहरूको जाँगर, सुधारका लागि देखाएको तदारुकतालाई भक्तपुर नगरपालिकाले नजिकबाट नियालेको छ । सुधारका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जसकारण विद्यालयको बाहिरी र भित्री शैक्षिक वातावरण सुधार देखिएको छ ।

स्थानीयको सहयोग, शिक्षकहरूको सक्रियता र शिक्षासेवीहरूको प्रत्यक्ष निगरानीमा शैक्षिक फड्को मार्ने उद्देश्यले अघि बढेको ६० वर्षे सो विद्यालयले शनिबार पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमसहित ६० औं वार्षिकोत्सब मनाएको छ ।

वार्षिकोत्सबका अतिथिहरूले विद्यालय सुधारका चरणहरूबारे मात्र बोलेनन्, विद्यालयका ससाना बाबुनानीहरूले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

उनीहरूको प्रतिभा देखेर वार्षिकोत्सब हेर्न आएका अभिभावक र स्थानीय समेत दंग परे । स्थानीय विद्यार्थी न्यून हुँदा स्थानीयवासीको माया, सद्भाव र सहयोगबाट टाढिएको विद्यालयले अहिले पुरानो सद्भावको लय फर्काउन खोजेको छ । सोही अनुसार आफ्नो इतिहासमै पहिलोपटक टोलको चोकमा वार्षिकोत्सब गरेको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले सामुदायिक विद्यालयको सुधार जरुरी रहेको बताउँदै त्यसको नेतृत्व शिक्षकहरूले गर्नुपर्ने सुझाए । उनले आफ्नो वडाको पुरानो विद्यालयले गरिरहेको प्रगतिलाई संस्थागत गर्न पालिकाले सहयोग गर्ने प्रतिवद्दता जनाए ।

कार्यक्रममा गणेश मावि भार्वाचोका प्रधानाध्यापक एवम् नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर अध्यक्ष गणेशराम थुसाले संघीय शिक्षा नआउँदा शिक्षा संक्रमणकालीन अवस्थाबाट गुज्रिन बाध्य भएको बताए । उनले सो ऐनको अभावमा सबैभन्दा बढी प्रभाव सामुदायिक विद्यालयमा परिरहेको उल्लेख गरे ।

विद्यालय सञ्चालनका लागि थुप्रै क्षेत्रमा खर्च हुने गरेको तर खर्चको स्रोतको सुनिश्चितता सरकारले नगर्दा धेरै सरकारी विद्यालय सञ्चालनमा अप्ठ्यारो परेको बताए । सो अवसरमा शिक्षासेवी एवम् समाजसेवी हिमालयश्वरलाल मुलले पहिला र अहिले उदय आधारभूत विद्यालयमा धेरै परिवर्तन आइरहेको जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक माकले विद्यालय राम्रो बन्नका लागि शिक्षकको सक्रियता, विद्यार्थीको मेहनेतका साथै अभिभावकको सहयोग जरुरी रहेको बताए । तल्लो तहका लागि आवश्यक जनशक्ति प्रवन्ध गरेको खण्डमा सामुदायिक विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने पनि बताए । 

प्रतिक्रिया