Edukhabar
शुक्रबार, १८ फागुन २०८०
राम्रा कसरी राम्रा

स्थापनाको ७४ वर्षपछि नमूना बन्ने यात्रामा विद्यालय

शिक्षकको जिम्मेवारीका लागि तहगत रुपमा इञ्चार्जको बन्दोबस्त

बुधबार, १७ साउन २०८०

भक्तपुर - विद्यालयको तीनतिरै पहेँला अत्याधुनिक भूकम्प प्रतिरोधी भवन । त्यही तीन भवनबीचको भागमा आमुने–सामुने हुने गरी बन्दै गरेको अर्को भवन । 

नमूना विद्यालयको रुपमा छानिएको भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयमा अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको सो निर्माणाधीन भवनले पूर्णता पाइसक्दा विद्यालयमा ४५ बढी कक्षाकोठा पुग्नेछन्, विद्यार्थी संख्या एक हजार भन्दा बढी र शिक्षक, कर्मचारीको संख्या ६० को हाराहारी ।

विद्यालय परिसरमा जारी भौतिक निर्माणले अस्तव्यस्त देखिन्छ । ५ करोड रुपैयाँको लागतमा बन्दै गरेको भवनका लागि ल्याएका निर्माण सामग्रीहरु यततत्र छन् ।

changu bhaban यस्तो वातावरणबीच पनि चलिरहेको छ, विद्यालयको नियमित पठन पाठन । नेपाल सरकारले चाँगुनारायण नगरपालिका वडा नं. १ को न्यौपाने गाउँमा रहेको उक्त विद्यालयलाई २०७६ सालमा ‘नमूना विद्यालय’ का रुपमा घोषणा गरेपछि विद्यालय अहिले नमूना लक्ष्य प्राप्तिको मार्गमा लम्किएको छ ।

बालमैत्रीपूर्ण सिकाइ वातावरण निर्माण, समान शैक्षिक पहुँच, समावेशी विद्यालय प्राविधिक धारको शिक्षामा जोड, शिक्षणमा नवीनतम सूचना प्रविधिका अधिक प्रयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा सक्षम जनशक्ति उत्पादन गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार नेपाल सरकारको सचिव स्तरीय निर्णय ०७६ बाट नमूना विद्यालयका रुपमा विकास र सञ्चालन गर्न छनौट भएकोले सोही उद्देश्य पूरा गर्ने कामको थालनी गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम ढकालले बताए । उनले विद्यालयलाई नमूना बनाउने घोषणालाई मूर्त बनाउन विद्यालयले नमूना विद्यालयको लागि गुरुयोजना बनाएको र सोही योजनामा उल्लेख भएका कार्यहरुलाई क्रमवद्ध सुरुवात गरिएको जानकारी दिए ।

aburam dhakal

वि.सं. २००६ मङ्सिर २ गते तत्कालीन दुवाकोट गाउँ पञ्चायतको वडा नं. ५ को न्यौपाने गाउँ पाटिटारमा आधार पाठशालाको नाममा स्थापना भएको उक्त विद्यालयका लागि तत्कालिन राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा राज्यकोषबाट केही रकम अनुदानस्वरुप सरकारी स्तरबाट प्राप्त गरी विद्यालय सञ्चालन भएको इतिहास देखिन्छ । यसका साथै सो स्थानमा केही समय विद्यालय सञ्चालनपछि २०१६÷१७ सालतिर तत्कालीन गुण्डु हाल सूर्यविनायक न.पा.वडा नं ७ बलजफ्ती लिएर गएकोमा स्थानीयबासिन्दाको अथक प्रयासपछि सोही ठाउँमा पूनस्र्थापित प्राथमिक स्कुलको रुपमा रहेको विद्यालयले २०३० मा निमावि तह र २०३२ सालमा मावि तहमा स्तरोन्नति भएको थियो ।
वि.सं. २०३५ सालमा पहिलो पटक तत्कालिन एसएसलसी(माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा)मा सहभागी भएको उक्त विद्यालयमा २०६२÷६३ बाट ११÷१२ को कक्षा सञ्चालन भएको थियो ।

नमूना विद्यालयमा छनोट भएपछि उत्साहित विद्यालय परिवारले त्यसलाई अवसरका रुपमा उपयोग गर्ने जनाएको छ । ‘हामी आगामी ५ वर्ष भित्रमा यस विद्यालयलाई एक उत्कृष्ट र अनुकरणीय विज्ञान र प्राविधिक शिक्षा अध्यापन केन्द्रको रुपमा स्थापना गराउने दृढ अठोटका साथ लागि परेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर खनालले भने, ‘त्यस निम्ति हामीले योजना बनाएर काम अघि बढाएका छौं ।’

उनले भनेजस्तै गरी अहिले काम पनि देखिन थालेका छन् । कक्षाकोठाहरु विभिन्न विषयगत शैक्षिक सामग्रीले सजिन थालेका छन् । विद्यालयका ल्याबहरुमा सामान, सामग्री थपिँदैछन्, पुस्तकालयमा आवश्यक पुस्तक र सन्दर्भ सामग्रीको संख्या बढ्न थालेका छन् । विषयगत रुपमा ल्याबहरु स्थापना हुँदैछन् ।

यतिमात्र नभएर विद्यालयले खाली कक्षा व्यवस्थापन गर्ने गरेको छ । त्यसको विवरण स्टाफ कक्षको भित्तामा राखिएको विवरणबाट थाहा हुन्छ । यस्तै गरी सोही कक्षको भित्तामा टाँगिएको शिक्षक कर्मचारी कार्य विभाजन चार्ट, अतिरिक्त क्रियाकलापसहितको विद्यालयको वार्षिक कार्य पात्रो, कक्षागत विद्यालय विवरण तालिकाले पनि विद्यालयले पृथक तरिकाले शैक्षिक कार्य अघि बढाइरहेको प्रष्ट हुन्छ ।

विद्यालयले विद्यालय प्रशासनलाई सरल बनाउन, शिक्षकलाई थप पेशागत जिम्मेवारी बोध गराउनका लागि तहगत रुपमा इञ्चार्जको बन्दोबस्त गरेको छ ।

२०७२ सालको भूकम्पपछि विद्यालयमा आधुनिक भवन बनेका छन् । विद्यालयले अहिले आफ्नो अर्जुन दृष्टिका रुपमा ‘शैक्षिक गुणस्तरलाई बढाउने’ बनाएको छ । ‘त्यसका लागि हामीले अँग्रेजी माध्यमबाट पठनपाठन गराउने, कक्षा ३ सम्म ग्रेड टिचिङ, कक्षा ४ र ५ मा हाइब्रिड टिचिङ र कक्षा ६ देखि माथिका कक्षामा रिमेडी क्लास सञ्चालन गर्ने गरी योजना बनाएका छौं’, प्रधानाध्यापक ढकालले भने ।

उनले शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइस्तरले मात्र अभिभावकको मन जित्न सकिने उल्लेख गर्दै त्यसका लागि कक्षा १ देखि ४ सम्मका विद्यार्थीको प्रोफाइल तयार गरिएको, कक्षागत रुपमा अभिभावक भेट कार्यक्रम राखिएको समेत बताए ।

‘हामीले कुनै पनि विषयमा कमजोर विद्यार्थीका लागि कक्षा सकिएपछि कोचिङ कक्षा पनि थालनी गरेका छौं’, उनले थपे । उनले सो विद्यालय नमूना विद्यालयमा छनोट गर्नुलाई अवसरका साथै चुनौतीका रुपमा स्वीकार गरेको बताउँदै त्यो चुनौतीलाई पार गर्न सके मात्र नमूना हुनुको अर्थ हुने भएकाले त्यसलाई अर्थपूर्ण बनाउन स्थानीयहरुसँग सहकार्य गरी विद्यालयले विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको समेत जनाए ।

शिशुस्याहार देखि कक्षा १२ सम्म साधारण विषय अध्ययन गर्ने व्यवस्था रहेको विद्यालयमा केही वर्षपछि प्राविधिक विषय पनि अध्यापन गराउने गरी तयारी भइरहेको छ । मुलुककै शैक्षिक तथा राजनीतिक चेतनाका दृष्टिकोणले अग्रणी जिल्लाहरु मध्येको भक्तपुरको ग्रामीण भेकको उत्तरी क्षेत्रको सो विद्यालय स्थापनाको ७४ वर्षपछि नमूना बन्ने भएपछि उत्साहित छन्, स्थानीय पनि ।

सोही कारण विद्यालयबारे अहिले चासो, चिन्ता र चिन्तन बढ्न थालेको छ । स्थापनाको हिसाबले जिल्लाकै तेस्रो र नगरपालिकाको दोस्रो विद्यालय, चाँगुनारायण माविमा अहिले बालविकास कक्षादेखि कक्षा १२ सम्म ६२३ विद्यार्थी अध्ययनरत छन । यहाँ कक्षा ११ र १२ मा शिक्षा, कला र बाणिज्य विषयहरुको पठनपाठन भइरहेको छ ।

विद्यालयले विभिन्न गैरसरकारी संघसंस्थासँग पनि समन्वय गरेको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सीप तथा बजेट बन्दोबस्त गर्नका लागि ती संघसंस्थाहरु सहायक रहेको विद्यालयले जनाएको छ ।

विभिन्न जिल्लाबाट बसार्इँ सराई भई आएका अभिभावकका सन्तानहरु अध्ययन गरिरहेको उक्त विद्यालयले स्थानीय विद्यार्थीलाई आर्कर्षित बनाउनका लागि समुदायसँगको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्ने योजना तय गरेको छ ।
 

प्रतिक्रिया