Edukhabar
आइतबार, ०६ साउन २०८१
राम्रा कसरी राम्रा

राम्रा विद्यालयका असल अभ्यास सिक्न विद्यालय यात्रा

विभिन्न विद्यालय घुमेर कुरा बुझे पछि यात्रामा सहभागी शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले भने - अरुले गर्न सक्ने हामीले किन नसक्ने ?

आइतबार, १६ असार २०८१

नुवाकोट - २०७२ साल तिर विद्यार्थी अभावका कारण ककनीको केउरेनी स्थित नवजीवन माध्यमिक विद्यालय झण्डै मर्ज भएको थियो । चार जना प्रावि र ३ जना निमावि दरबन्दीका शिक्षक थिए । विद्यार्थी संख्या घटेर एक सय ६८ मा झरेको थियो । बहुसंख्यक तामाङको बसोबास रहेको 'यस क्षेत्रका बासिन्दामा पढाई प्रतिको चासो नभएर यस्तो भएको हो' भन्ने शिक्षकहरुसँग बनिबनाउ उत्तर थियो । तर, विद्यालयको आँगन हुँदै निजी विद्यालयका २ वटा गाडिले गाउँका विद्यार्थी ओसारेर अन्तै लैजान्थे ! 

'अहिले त हाम्रो स्कुल बसले पो अन्तका विद्यार्थीे बोकेर ल्याउँछ ।'

बितेका नौ बर्षमा विद्यालयले गरेको अभ्यास र भएको  परिवर्तनका कथा सुनाउँदा प्रधानाध्यापक विनोद लामाको अनुहार हँसिलो हुन्छ । 

binod lama

२०१७ सालमा स्थापना भएको यो विद्यालयले २०३५ सालमा कक्षा ८ सम्मको अनुमति पाएको थियो । २०५९ सालमा कक्षा १० को अनुमति पायो भने २०७६ साउनमा प्राविधिक धार अन्तरगतको कृषि विषय पढाउने अनुमति पायो । कृषि विषयको अभ्यास गर्न विद्यार्थीले विद्यालयको बारीमा तरकारी खेती गरेका छन्, कोठामा प्रयोगशाला छ भने गोठमा भैंसी छ र खोरमा बाख्रा र कुखुरा छन् । 

bakhrakukhura


अहिले विद्यालयमा ४६२ विद्यार्थी र ३२ जना शिक्षक छन् । विद्यालयमा अपुग शिक्षक निजी श्रोतमा राख्नु परेको छैन । चार जना शिक्षक पालिकाले नै पठाएको छ ।

के त्यस्तो फरक काम भयो र विद्यालयमा देखिने सुधार आयो ?

विभिन्न जिल्लाका सामुदायिक विद्यालयले गरेका अभ्यासहरु जान्न, बुझ्न र सिक्न  रसुवाको आमोछोदिङमो गाउँपालिकाका विभिन्न चार वटा विद्यालयबाट आएका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको छलफलका क्रममा गएको शुक्रबार लामा सरले भने - 'हामीले विद्यालयमा शिक्षकले के काम गर्नु पर्छ त्यही काम मात्र गर्यौं ।'

२०६० सालमा यही विद्यालयबाट एसएलसी पास गरेका लामा सरले १९ बर्षको उमेरबाटै पढाउन थाले । २०७१ सालको शिक्षक सेवा आयोगको परीक्षा पास गरेपछि यही विद्यालयमा नियुक्त भएर आए । आफ्नै समुदायका विद्यार्थी, आफ्नै गाउँ, आफैंले पढेको विद्यालय, उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । 

'प्रधानाध्यापक सकृय हुन थाले पछि विद्यालय बनिहाल्छ, एक पटक स्थायी भए पछि कसले के गर्न सक्छ ? हाम्रो जागिर कसले खान सक्छ ? भन्ने ठान्ने शिक्षकको सोच बदल्न प्रधानाध्यापक आफैंले काम गर्न थाल्न पर्छ' प्रधानाध्यापक लामा सरल भाषामा भन्छन् 'मेरो अनुभवले त्यही भन्छ ।'

लामा सरलाई कसैले सुनाएको थियो - 'कुनै पनि कामको जिम्मेवारी लिने हो भने आर्थिक रुपमा पारदर्शी र सबैको कुरा सुनेर न्यायोचित निर्णय गर्ने क्षमता हुनै पर्छ ।'

यो ज्ञानले लामा सरलाई टिमवर्क बनाउन सजिलो बनायो । 

'भर्खर नियुक्त भएर आएका युवा साथीहरु थियौं, जोश थियो, केही गरौं भन्ने उर्जा थियो, हामीले पनि गर्न सकेनौं र जागिर मात्रै खायौं भने यस अघिका भन्दा हामीमा के फरक भयो त ?' शिक्षकहरुको मिटिगंमा आफ्ना अवधारणा सुनाएको स्मरण गर्दै लामा सर उही हँसिलो शैलीमा भन्छन्, 'कृषि विषयको अनुमति पाए पछि आएका युवा शिक्षकहरु पनि सहयोगी पो भए, पैसाको हिसाब कितावमा क्लियर म र अरु साथीहरुको खटाई अनी त विद्यालय बदलिई हाल्यो नी ।' 

उसो त लामा सर शिक्षक राजनीतिमा पनि संलग्न छन् । पछिल्लो पटक शिक्षकलाई दलगत राजनीतिबाट अलग्याउन शिक्षा मन्त्रालयले प्रकृया शुरु गरे पनि यस बारेमा लामा सरको बेग्लै धारणा छ । अहिलेको सत्ताधारी मुख्य घटक नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनको नुवाकोट अध्यक्ष समेत रहेका लामा सर विद्यालयमा दलगत प्रभाव पार्न नहुनेमा सचेत रहेको दावी गर्छन् । 

'आज तपाईले प्रसंग निकालेर मात्रै बोलेको हो, नत्र कुनै पनि शिक्षकलाई सोध्नुहोस् म विद्यालय समय र विद्यालय हाता भित्र राजनीतिको र पनि उच्चारण गर्दिन' लामा सरको दावी थियो 'बरु यो फोरममा बस्दा हुने सम्पर्क र सम्बन्धका आधारमा विद्यालयको भौतिक सुधारमा सहयोग पो मिलेको छ ।' 

माओवादीका नेता देवेन्द्र पौडेल शिक्षा मन्त्री भएका बेला विद्यालय सुधारको योजना सुनाएको र त्यसलाई संघीय सरकारले बजेट विनियोजन गरेर भवन बनेको घटनालाई उनी त्यही सम्पर्क र सम्बन्धको आधारमा भएको काम हो भनेर निर्धक्क भन्छन् । त्यतिखेरको बजेटबाट बनेको तीन तले भवन अन्तिम चरणमा पुगेको छ । 

विद्यालयमा आउने विभिन्न विकास निर्माण र योजनाको केही पैसा बचाएर विद्यालयको अन्य सिकाइ कृयाकलापका लागि रकम जोहो गर्ने अभ्यास छ । भवन बनाउन आएको, पुस्तकालय बनाउन आएको, अन्य निर्माणमा आएको पैसा जोगाएर थप काम गरेको थुप्रै उदाहरण उनले सुनाए । 

school_bulding

'अन्त त विद्यालयमा आएको पैसा ठेकेदारसँगको मिलेमतोमा खल्तिमा हाल्दा रहेछन्, पैसा बचाएर बाँडिचुँडि खाने चलन रैछ, हाम्रोमा त्यस्तो हुँदैन, हामीले त पैसा बचाएर १५ लाखमा बस किन्यौं' उनले भने, 'कार्यक्रम ल्याएको छ, बजेट ल्याएको छ, खल्तिमा हालेको छ भन्ने भयो भने किचलो हुने रहेछ ।  गुणस्तरमा सम्झौता नगर्ने, हामी आफैं खटिएर बरु दैनिक ज्यालादारीमा काम गराउने र पैसा बचाउने गर्छौ ।' 

शिक्षकहरु विद्यालयका कक्षा कोठामा मात्रै हैन बाहिर हुने सिकाइ कृयाकलापमा पनि उत्तिकै सकृय हुन्छन् । जीवनउपयोगी, व्यवहारिक अनौपचाकि सिकाइ अभ्यासले बालबालिकाको सिकाइमा रुची बढाएको र शिक्षकमा जाँगर थपेको उनको अनुभव छ । चकटी र गुन्द्रि बुन्ने, वेल्डिङं तथा पेण्टिङ् गर्ने, प्लम्बिङ् तथा टेलरिङ्मा शिक्षकसँग भएको सीप उपयोग गरिन्छ, त्यस काममा बालबालिका पनि संलग्न हुन्छन् । 

'खेर गएका सामग्रीबाट सिकाइ सामग्री बनाईन्छ, विद्यालयमा आवश्यक पर्ने डेक्स, बेञ्च, छाना छाउने, जस्ता कार्यका लागि विद्यालयमै कार्यरत दाईको सीप उपयोग गरिन्छ' उनले भने 'गुन्द्री बुन्ने सीप विद्यार्थीमा सिकाउने कुरा भयो, हामीसँग हुनुभएको मिसले बुन्नुुहुदोँ रहेछ, बाहिरबाट ल्याउँदा लाग्ने खर्च जोगियो, उहाँसँगको सीपबाट विद्यार्थीले पनि सजिलै सिके ।'  

विद्यालयमा शुक्रबार कक्षा कोठामा पढाई हुँदैन । अतिरिक्त कृयाकलाप हुन्छ । विद्यार्थी शिक्षक खेल्छन्, रमाउँछन्, त्यहीँ सिक्छन् । कक्षा कोठामा पढाइ हुने दिन कोही शिक्षक अनुपस्थित भयो भने कक्षा खाली हुँदैन ।  खाली पिरियड भएको शिक्षकले त्यो कक्षा लिन्छ । एकेडेमिक ईञ्चार्जले यसको व्यवस्थापन गर्छ । बालबालिकाको समयलाई खेर जान नदिन गरिएको यस्तो अभ्यासले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने र शिक्षकलाई जिम्मेवार बनाउन सकिने एकेडेमिक ईञ्चार्ज विष्णु पौडेलले बताए । 

विद्यार्थीको सिकाइको मूल्याँकन शिक्षकले गर्ने त सामान्य भयो यहाँ शिक्षकको मुल्याँकन विद्यार्थीले गर्छ । शिक्षकको बानी व्यहोरा कस्तो छ, कस्तो पढाउँछ ? के सुधार गर्नु पर्छ ? जस्ता बुँदा राखेर विद्यार्थीलाई फारम दिईन्छ त्यो विद्यार्थीले भर्छन् । त्यही आधारमा शिक्षक बैठकमा सुधारका लागि सुझाव दिईन्छ । 

विद्यालयमा विभिन्न विभागहरु गठन गरिएको छ । तीनै विभाग मार्फत शिक्षण सिकाइ कृयाकलाप अघि बढ्छन् । अन्य विद्यालयमा कृषि विषयको पढाई कक्षा कोठामा मात्र हुन्छ । तर यहाँ बारीमा नगई माटो, मल र विउ नछोई पढाईको कल्पना पनि नहुने दावी गर्छन् कृषि विभाग प्रमुख प्रदीप लम्साल । यो अभ्यासले विद्यार्थी आफ्नो घरमा गएर पनि कृषि कार्यमा संलग्न हुने गरेको उनले बताए । 
.....

नवजीवन माध्यमिक विद्यालयले विगत नौ बर्षमा मारेको फड्कोका कथा सुने पछि रसुवाको आमोछोदिङ्मो गाउँपालिकाका विभिन्न चार वटा विद्यालयबाट आएका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरु पनि निकै उत्साहित भए । उनीहरुको एक स्वर थियो : अरुले गर्न सक्ने हामीले किन नसक्ने ? 

तीन दिन लगाएर धाँदिङ् र काठमाडौँका विभिन्न तीन विद्यालयका अभ्यास बुझेर बिहीबार राती नुवाकोट आईपुगेको ११ जनाको टोली नवजीवनको कथा बुझ्न र हेर्न शुक्रबार विहानै देखि व्यस्त थियो । विद्यालयकै भान्सामा खाना खाएर विद्यालयकै कोठामा रात बिताएको टोलीले शुक्रबार विहान खाएको खाजामा विद्यालयकै खोरका कुखुराले पारेको अण्डा पनि थियो । खाजा खाएर विद्यालयको विहानी प्रार्थना, कक्षा कोठा अवलोकन, शिक्षकहरुसँगको अन्र्तकृया, कृषिको अभ्यास हुने गोठ बारी र खेतको भ्रमण सकेर टोली लामा सरको कुरा सुन्न पुस्तकालय हलमा जम्मा भएको थियो । 

lama sir

शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको गुणस्तर सुधार गर्न उत्प्रेरित गर्ने उद्देश्यले आयोजित सिकाइ भ्रमण अन्र्तगत यो टोली नवजीवन आईपुगेको हो । पालिकाको वडा नम्बर १ र दुईमा रहेका श्री हाकुवेसी आधारभूत विद्यालय, श्री हाकु मावि, श्री गोसाइकुण्ड आधारभूत विद्यालय र श्री गे्र आधारभूत विद्यालयका प्रअ, शिक्षक र व्यवस्थापन समितका पदाधिकारी गरी ११ जना सहभागी सिकाइ भ्रमण अन्र्तगत यो टोलीले यस अघि अन्य विद्यालयका अभ्यासको अवलोकन गरिसकेको थियो । असार १२ गते रसुवाको हाकुबेसीबाट हिँडेको टोलीले यस अघि धादिङको बेनीघाट रोराङ, स्थित ओर्बाङ आवि, काठमाडौंको लम्टङ्गिन स्थित पञ्चकन्या आवि, र काठमाडौंकै कागेश्वरी मनोहरा स्थित श्री सिद्धीगणेश माविको अवलोकन गरिसकेको थियो । ग्रेड टिचिङ्, एकीकृत पाठ्यक्रमको कार्यन्वयन, विद्यालय सुधारमा व्यवस्थापन समिति र अभिभावकको भूमिका जस्ता विषयमा जाने बुझेर नवजीवन आएको यो टोलीले यस विद्यालयमा भने कृषि शिक्षा र विद्यालय सुधारका कथा सुन्दै थियो । 

शिक्षा नीति तथा अभ्यास केन्द्रले संयोजन गरेको यो शैक्षिक भ्रमण राम्रा सामुदायिक विद्यालयको अवलोकनमा केन्द्रित गरिएको थियो । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको गुणस्तर सुधार गर्न उत्प्रेरित गर्ने र भ्रमणका क्रममा देखिएका असल अभ्यासलाई आआफ्नो विद्यालयलमा अपनाएर सुधार गर्न सकिन्छ भन्ने ज्ञान विस्तार गर्ने लक्ष्यले भ्रमण आयोजना गरिएको केन्द्रका टीका भट्टराईले बताए । 

team

भ्रमणका क्रममा देखिएका असल अभ्यास मध्ये केहीलाई तत्काल आआफ्ना विद्यालयमा अपनाउने भ्रमणका सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । हाकुवेसी आधारभूत विद्यालयका प्रधानाध्यापक कार्वो तामाङले शिक्षकलाई जिम्मेवार बनाउँदा बालबालिकाको सिकाइ थप प्रभावकारी हुने अनुभव भएको भन्दै तत्कालै शिक्षक  मूल्याँकन डायरी निर्माण गर्ने बताए ।  बाल विकास सहजकर्ता फूलमेन्दो लामाले कक्षा कोठाको सजावटमा ध्यान दिने बताईन् ।  श्री गोसाइकुण्ड आविका शिक्षक रोनस तामाङले बालबालिकाको अवस्था अनुसार फर्निचर व्यवस्थापन गर्ने बताए । यस्तै ग्रे आधारभूत विद्यालयका प्रधानाध्यापक सरोज तामाङ र शिक्षक मिङमा तामाङले एक स्वरमा स्तर अनुसार विद्यार्थीको वर्गिकरण गरेर सिकाइ सहजीकरण गर्ने बताए । यसैगरी हाकु माविका सहायक प्रधानाध्यापक समु बहादुर तामाङले शिक्षक अनुपस्थित भएर हुने खाली पिरियडमा अर्को शिक्षकलाई कक्षा कोठामा पठाउने, शिक्षक डायरी व्यवस्थापन गर्ने बताए । भ्रमणमा सहभागी पालिकाको शिक्षा शाखाका कर्मचारी समिर जोशीले विद्यालयहरुको नियमति अनुगमन गरेर विद्यालय व्यवस्थापन समिति, शिक्षकहरुसँग समन्वय गर्दै कक्षा कोठाहरु व्यवस्थित गर्ने कार्यमा पालिकाले सहयोग गर्ने बताए ।   

भ्रमणमा सहभागीहरु आआफ्ना विद्यालय पुगे पछि विद्यार्थी, शिक्षक तथा कक्षाको अवस्था अनुसार विद्यालयले उपयुक्त शिक्षण सिकाइका पद्दति, विधि सुरु गरेको हुने छन् भन्ने अपेक्षा गरिएको भट्टराईले बताए । 

केन्द्रले तीन बर्ष अघि  आमोछोदिङमो गाउँपालिकासँग सम्झौता गरी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने  काममा सहयोग गर्दै आएको छ । अभिभावकहरुलाई विद्यालयमा हुने सबै किसिमको गतिविधिहरुमा सहभागी गराई चासो बृद्धि गराउने, विद्यालयको शैक्षिक सुधारमा अनुगमन र योगदान दिन व्यवस्थापन समितिलाई अझ जिम्मेवार र सक्षम बनाउने लक्ष्य साथ काम गरेको केन्द्रका फिल्ड सुपरभाईजर माईकल राईले बताए । 

प्रतिक्रिया